‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिनाभन्दा बढी समय बितिसकेको छ । अझै पनि सरकारले न त्यो घटनाको दोषी नै देखाउन सकेको छ न कसैलाई चित्तबुझ्दो जवाफ नै दिन सकेको छ । हरेक दिन आउने नयाँ–नयाँ खबरले त्यो हत्याकाण्डलाई झन्–झन् रहस्यमयी बनाउँदै लगेको छ । पटक–पटक देशभर निर्मलाको हत्यारा पत्ता लगाउन सर्वसाधारण जनताले सरकारसमक्ष माग गर्ने क्रम चालु छ । तर गृहमन्त्री थापाले यस्तो प्रदर्शनलाई राजनीतिको सङ्ज्ञा दिनु आफैमा बिवम्वनापूर्ण कुरा हो ।
गृहमन्त्री आफै आकाशबाट सिंहदरबारभित्र टपक्क झरेका होइनन् । उनी देशमा ‘जनवादी सत्ता स्थापना’को लक्ष्य लिएर दसौं वर्ष सशस्त्र सङ्घर्षको जगबाट सिंहदरबारको कुर्सीमा पुगेका हुन् । एकजना चेलीको निर्मम बलात्कारपछि अमानवीय हत्याको विरोधमा सडकमा उत्रेका जनतालाई आफ्नो पृष्ठभूमिको पटक्कै ख्याल नगरी राजनीति देख्नु बादललाई सुहाउने कुरा होइन । राजनीतिक सत्ता कब्जा नभएसम्म सर्वहारा जनताको मुक्ति हुन नसक्ने विचारका पक्षपाती बादलले आज निर्मला प्रकरणमा राजनीति गर्नु हुन्न भन्नु हिजोका उनका आदर्शमाथि स्खलनको पुष्ट्याईँ हो । कदाचित कसैले निर्मला हत्या प्रकरणलाई लिएर राजनीति प्रचारबाजी नै गरे पनि गृहमन्त्री आश्चर्यमा पर्नुपर्ने कुनै कारण छैन किनभने हिजो उनले पनि गरेका त्यही थिए ।
नेपाली भाषामा निकै रोचक थुपै्र उखान छन् । एउटा उखान– चराको धोती हुँदैन, नकचरोको लाज हुँदैन । बिहीबार गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा त्यस्तै एउटा नकचरो नाटकको मञ्चन भयो । कञ्चनपुरमा निर्मला मारिएको तीन महिना पुग्ने बेलामा सत्तासीन नेकपाका विद्यार्थीहरू आफ्नै ‘बादल दाइ’ कोमा गएर उनकै मातहतमा रहेका प्रहरी प्रमुखलाई कारबाही गर्न माग गरे । प्रस्टतः दोषी पत्ता लगाउन सरकारी असमर्थतामाथि पर्दा हाल्ने प्रयास मात्र हो । विधिशास्त्रमा एउटा सिद्धान्त छ– सय दोषी छुटे पनि एकजना पनि निर्दोषलाई सजाय दिनुहुन्न । कञ्चनपुरको घटनाका दोषी अझै पत्ता नलागेको अवस्थामा प्रहरी प्रमुखमाथि कार्वाहीको माग यो न्यायसिद्धान्त विपरीत छ । त्योभन्दा पनि, यो माग उठानको पृष्ठभूमि वास्तविक दोषी औंल्याउन नसकेको सरकारको कमजोरी लुकाउन गरिएको दिउँसोको घामजत्तिकै छर्लङ्ग छ ।
सस्तो मिडियाबाजी र लोकप्रियतामा विशिष्ठ श्रेणी हासिल गरेका सत्तासीन दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले सुन्दा चर्कोजस्तो तर व्यवहारतः आफ्नो सत्ताको भक्ति गर्न बिहीबार त्यस्तो आशयको ज्ञापन पत्र गृहमन्त्रीसमक्ष बुझाए । त्यो ज्ञापनपत्र निर्मलालाई न्याय दिलाउन होइन, सरकारले गरिरहेको अन्याय ढाकछोप गर्न दिइएको हो । चौतर्फी सरकार, प्रम ओली र विशेषतः गृहमन्त्रीको विरोध हुन थालेपछि किल्लाबन्दी गर्न विद्यार्थी नेताहरू अग्रसर भएका मात्र हुन् । सत्तासीन दलकै एउटा गुटको विद्यार्थी कार्यकर्ताले निर्मला हत्या काण्डको विरोधमा सडक प्रदर्शन गर्दा भएको आहत समन गर्न संस्थापन गुटका विद्यार्थीहरू बादल दाइ भेट्न गएका मात्र हुन् । निर्मलाको बलात्कार–हत्या प्रकरण र देशैभरि फैलिएका महिला हिंसाका घटनासँग गृहमन्त्रीलाई दिइएको ज्ञापनपत्रको कुनै लिनुदिनु छैन । बरू चौतर्फी विरोधका कारण आफ्ना गृहमन्त्री गल्ने पो हुन् कि भनी विद्यार्थीहरू ढाडस दिन सिंहदरबार पसेका हुन् ।
Leave a Reply