भर्खरै :

आफ्नो आङमा भैंसी नदेख्ने, अर्काको आङमा खोट देख्ने संरा अमेरिका

हवाना, १७ अक्टोवर । गएको मङ्गलबार संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को बैठकले ‘राजनीतिक बन्दीको अवस्था’ को झूटो आरोपमा पारित मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रस्तावको क्यारिबियाली समाजवादी देश क्युवाले भत्र्सना गरेको छ । क्युवाको विदेश मन्त्रालयले वक्तव्य जारी गरी पछिल्लो प्रस्ताव संरा अमेरिकी उच्चपदस्थ अधिकारीहरूबाट हुँदै आएको ‘घोषणाको सृङ्खला’ को नयाँ कदम बताएको छ । यो कदमले क्युवाप्रति ट्रम्प सरकारको ‘बढ्दो निर्ममता’ लाई अझ उजागर गरेको बताएको छ ।
मङ्गलबार भएको परिषद् बैठकमा अमेरिकी राज्य सङ्गठनका महासचिव लुइस अल्माग्रोलगायत वक्ताहरूलाई क्युवाविरूद्ध बोल्न आमन्त्रण गरिएको थियो ।
‘‘संरा अमेरिका सरकारसँग क्युवाको आलोचना गर्ने कुनै नैतिक अधिकार छैन ।’’, क्युवाली विदेश मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।
झण्डै ६ दसकदेखि क्युवामाथि थोपरिएको नाकाबन्दीको विषयमा संरा सङ्घको महासभामा २७ औं मतदान हुन दुई साताअघि त्यस्तो ‘राजनीतिक नाटक’ मञ्चन गरिएको क्युवाली भनाइ छ ।
‘‘क्युवामाथि नाकाबन्दी कडा बनाउँदै जारी राख्न यस्तो प्रकारका बहानाबाजी गरिएको हो ।’’, क्युवा सरकारले बताएको छ । आगामी अक्टोबर ३१ मा संरा सङ्घको महासभामा सत्ताइसौं पटक क्युवामाथिको नाकाबन्दीको विषयमा मतदान हुँदैछ ।
वाशिङ्टनले क्युवाका राजनीतिक बन्दीको मानव अधिकारको विषयमा चिन्ता लिनुभन्दा आफ्नै देशको मानव अधिकारको अवस्थाबारे मात्र चासो राखे राम्रो हुने हवानाको भनाइ छ ।
वाशिङ्टन सरकारले आफ्नै देशमा बढ्दो चुनावी विकृति, गरिबी, जातीय विभेद, घृणा उत्प्रेरित अपराध, नागरिकको स्वास्थ्यसेवाको अभावलगायतका विषयमा चिन्ता लिनुपर्ने क्युवाली वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *