भर्खरै :

राष्ट्रपतिको पतनमा पत्रकारको हात

राजेन्द्र स्थापित
सन् १९७२ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनको कार्यकाल सम्पन्न हुन गइरहेको थियो । उनी दोस्रो पटक निर्वाचन लड्न पार्टीको तर्फबाट व्यवस्था, संस्था, नीति, मूल्य, मान्यताको ख्याल गर्न छाडिसकेका थिए । भ्रष्ट र फोहरी मार्ग अपनाएर भए पनि पुनःनिर्वाचन जित्ने ध्याउन्नमा लागे ।
निक्सन सन् १९७१ मा पत्रपत्रिकामा सरकारी गोप्य दस्तावेज छाप्न थालिएदेखि नै चिन्तित थिए । सुरुआत न्युयोर्क टाइम्सबाट भएको थियो, पछि वासिंगटन पोष्टले पनि छाप्यो । प्रकाशित दस्तावेजमा अमेरिका कम्बोडियामाथि गोप्यरुपमा बमबारी गर्न गइरहेको प्रस्ट्याइएको थियो । त्यसपछि फेरि न्युयोर्क टाइम्समै अमेरिकी सैनिक विश्लेषक ड्यानियल एल्सवर्गले भियतनाम युद्धसम्बन्धी एउटा गोप्य दस्तावेज छपाए । उक्त दस्तावेज त्यस्तो समयमा प्रकाशित भयो, जतिखेर अमेरिका र सोभियत सङ्घबीच सशस्त्र नियमन वार्ता चलिरहेको थियो । प्रकाशित दस्तावेजले अमेरिकी रक्षा मन्त्रालयको वास्तविक योजना के थियो प्रस्ट्यायो । निक्सन निकै चिन्तित भए । सरकारी सूचना चुहाउने व्यक्तिको खोजी गर्न सञ्जाल पैmलाए । ‘मेरी कोही साथी छैनन्’ भन्दै सबैलाई शङ्काको आँखाले हेर्न थाले । उनी र सहायकहरूले आफ्नै नागरिकविरुद्ध जासुसीको जाल बिच्छाए राष्ट्र सुरक्षाको नाममा । यसबीच एल्सवर्ग पक्राउ परे । उनीमाथि जासुसी र पेन्टागनको कागजपत्र चोरेको आरोप लगाइयो । १ सय १५ वर्षको जेल सजाय सुनाइयो ।
निक्सनले टिकट प्राप्त गर्न ‘राष्ट्रपति पुनःनिर्वाचन समिति’ गठन गरे । अध्यक्षमा पूर्व महान्यायाधिवक्ता जोन न्यूटन मिचेललाई राखे । उनी सन् १९६८ को चुनावमा निक्सन चुनाव प्रचार प्रसार समितिका व्यवस्थापक थिए । सालको अन्त्यतिर राजनीतिक जासुसी गर्न व्हाइट हाउसमा एउटा टोली बनाए । साङ्केतिक नाउँ ‘लम्बर्स’ राखिएको यो टोलीमा निक्सनका आफ्नै परामर्शदाता इ. हावर्ड हन्ट, गुप्तचर संस्था सीआइएमा १९ वर्ष काम गरिसकेका जेम्स मेकार्ड र जी. गौडर्न लिड्डी थिए । पछि यसलाई ‘सुरक्षा एकाइ समिति’ बनाइयो । मेकार्ड संयोजक बने । जेव मेगुडर अर्थ प्रबन्धक लिड्डीले १० लाखको योजना पेश गरे । जसमा लुटपाट गर्ने, विरोधीको सफाया गर्ने, बेश्या र इलेक्ट्रोनिक्स उपकरणको व्यवस्था गर्ने उल्लेख थियो । निक्सनले यसबाहेक युद्धकोषबाट ३ लाख ५० हजार डलर निकालेर राजनीतिक जासुसीका निम्ति खर्चको बन्दोबस्त मिलाइदिए । यो रकममा राष्ट्रपति कार्यालयका प्रमुख एच.आर. हल्डम्यानले व्यक्तिगत रुपमा नियन्त्रण जमाए । निक्सन र टोलीले डेमोक्रेटिक पार्टीका अध्यक्ष लरेन्स ओ ब्रायनमाथि सूक्ष्म निगरानी सुरु गरे । टोलीले जुन जुन स्थानमा जासुसी गर्न चाहेको थियो, त्यसमा ब्रायनको कार्यालय रहेको वाटरगेट व्यवसायिक भवन पनि थियो । जासुसी टोलीलाई सशक्त बनाउन क्युवामा जन्मेका बर्नाड वार्कर र साँचो बनाउने मिस्त्री भर्जिलियो गोन्जालेजलाई सामेल गराइयो । वार्कर क्युवासित तनाव हुँदाको समय पिग्स खाडीमा तैनाथ थिए । टोलीमा पछि प्रान्स स्टर्जिसलाई पनि सामेल गरियो ।
टोलीको मुख्य निशाना वाटरगेट कार्यालय र वाटरगेट होटल थियो । उक्त होटलमा ब्रायनको कक्ष थियो । सन् १९७२ को मे १६ मा उपराष्ट्रपति पदको निम्ति डेमोक्रेटिक पार्टीका तर्फका भावी उम्मेदवार आर सर्जेन्ट श्राइबर तथा सोही पार्टीको प्रमाणपत्र समितिका प्रमुख प्याट्रिसिया ह्यारिसको कार्यालयमा घूसपैठ गरियो । यो कार्यालय वाटरगेट अगाडि थियो । मई १६ को दिन प्लम्बर्स टोलीका पाँचै सदस्य वाटरगेट होटलमा गई सक्कली नाउँबाटै कोठा लिए । भोलिपल्ट बिदाको दिन परेकाले कोठामा त्यतिकै बसे र मई १८ को दि वाटरगेट भवन डेमोक्रेटिक पार्टीको राष्ट्रिय कार्यालयभित्र छिरे । ‘जैमस्टाने’ नाउँ दिइएको यो अभियानको नेतृत्व लिड्डीले गरेका थिए । उनीहरू त्यहाँ सुन्न मिल्नेलगायत अन्य सूक्ष्म उपकरण राख्न सफल भए र सूचना प्राप्त गर्न थाले । जून १६ मा पाँचै जना पुनः वाटरगेट होटल पुगेर भोजन गरे । खाँदाको समय पनि हातमा पञ्जा थियो । ताकि कुर्सी, थाल, काँटा, चम्चा कतै औंलाको छाप नपरोस् । डेमोक्रेटिक पार्टीको मुख्यालय जाने भ¥याङ्को ढोका एउटा बाङ्गो पारिएको छडको माध्यमबाट खोले । छैठौं तलामा पुगे । भ¥र्याङको ढोकालाई टेप टाँसेर बन्द गरे । कार्यालय भित्र छिरेर महत्वपूर्ण कागजपत्रको फोटो खिचे । पहिला लगाएर गएको अध्यक्ष ब्रायनको कोठाको छतमा जडित माइक्रोफोन चेक गरे । भवनको एउटा कुनामा हन्ट र लिड्डी लुकेर बसी सन्देशको प्रतिक्षामा थिए ।
त्यसबेला कार्यालय भवनका २४ वर्षीय सुरक्षा गार्ड फ्रान्क वालिस भ¥याङको ढोकामा टाँसिएको टेप उप्काएर राउण्डमा निस्के । २० मिनेटपछि पुनः त्यहाँ पुग्दा ढोकामा फेरि टेप देखेपछि शङ्का लागेर प्रहरीलाई खबर गरे । २–३ मिनेटमै ३ जना प्रहरी सादा पोशाकमा त्यहाँ आइपुगे । उनीहरूका हातमा बन्दुक थियो । कार्यालयमा बन्दुक ताकेर पसेका प्रहरीलाई देख्नेबित्तिकै पर्दा पछाडि लुकेर बसिरहेका एक जना त्रसित स्वरमा ‘हामीमाथि गोली नचलाउनु, आत्मसमर्पण गर्छाैं’ भन्दै निस्के । प्रहरीले २ जना होलान् भनी शङ्का गरेका थिए तर ५ जना निस्के । उनीहरूको साथमा भएको भित्ता फोर्ने औजार, ३५ एमएमको २ वटा क्यामेरा, प्रयोगमा नल्याइएको ४० रिल, ३ वटा अश्रु ग्याँस, एउटा रेडियो ट्रान्समिटर रिसिभर, २ वटा सूक्ष्म माइक्रोफोन, नक्कली कपालको एउटा विग र ५३ थान १ सय डलरको नोट जफत गरे । निक्सन ठूलो अप्ठेरोमा परे । पक्राउ परेका जासुसको रिहाइ, परिवारको भरणपोषण र रहस्य नखोल्न जासुसहरूमाथि ठूलो धनराशी खर्च गरे । पक्राउ परेकालाई सामान्य चोरीको मृद्दा लगाएर छाड्न खोजे ।
जून १७ को दिन शनिबार बिहानै वासिंगटन पोष्टका रिपोर्टर बब उडवार्डको फोनको घण्टी बज्यो । फोन गर्ने व्यक्ति सोही पत्रिकाका सम्पादक थिए । भन्दै थिए, ‘बिहानै वाटरगेटस्थित डेमोक्रेटिक पार्टी कार्यालयबाट प्रहरीले ५ जना यस्ता व्यक्तिलाई पक्रेको छ, जो सूक्ष्मयन्त्र र क्यामेराको माध्यमद्वारा जासुसीको कोशिश गर्दै थिए । तपाईं त्यहाँ पुगेर सत्य तथ्य बुझी हाल्नोस् ।’ बबले जब उक्त ‘एसाइन्मेन्ट’ माथि काम सुरु गरे, बर्नस्टाइन नामको पोष्टका अर्का रिपोर्टरले पनि सोही जिम्मा पाएको थाहा पाए । बर्नस्टाइनले सन् १९७१ देखि उक्त पत्रिकामा काम थालेका थिए । अरुको मिहेनतबाट फाइदा लिनमा पोख्त थिए । यसरी पहिलोपटक एक अर्कालाई प्रतिस्पर्धी सम्झने दुई पत्रकार एउटै मिशनमा काम गर्न थाले ।
उक्त घटनाको पहिलो सूचना पुराना अनुभवी रिपोर्टर अल्फ्रेड लुइले पाएका थिए र फोनबाट एक उपसम्पादकलाई जानकारी दिएका थिए । लुइमार्फत बबले पक्राउ परेका ५ जना अभियुक्तलाई दिउँसो अदालतमा पेश गरिने थाहा पाए । साढे ३ बजे प्रहरीले पाँचै जनालाई न्यायाधीश जेम्स वेल्सनसमक्ष पेस ग¥यो । वेल्सनद्वारा आ–आफ्नो पेशाबारे सोधिएको जवाफमा पाँचै जनाले एउटै जवाफ दिए– ‘साम्यवादीहरूको शत्रु ¤’ अभियुक्तहरूको उक्त जवाफबाट सन्तुष्ट नभएका वेल्सनले तिनीहरूमध्ये सबैभन्दा अग्ला जेम्स मेकार्डलाई अगाडि बोलाएर सोधे, ‘के काम गर्छौं ? उनले उत्तर दिए ‘सुरक्षा सल्लाहकार हुँ ।’
‘कहाँ ?’
‘सी.आइ.ए.मा ।’ जवाफ सुनेर न्यायाधीश जिल्ल परे । टेलिफोनडाइरेक्टरीबाट उनले सङ्घीय गुप्तचर संस्थाका एफबीआई र सीआइए दुवैमा काम गरिसकेको थाहा पाइयो । पुनर्चुनाव अभियान समिति गठनताकादेखि नै उनी निक्सनसँग थिए । त्यसैगरी अर्को २ जनाको कागजमा ‘हावर्ड हन्ट–व्हाइट हाउस’ लेखिएको थियो । फोन गरेपछि पत्ता लाग्यो – हन्ट एक महिना अघिसम्म व्हाइट हाउसमा सुरक्षा सल्लाहकार थिए । एउटा जनसम्पर्क संस्थाका पदाधिकारीले बबलाई हन्ट सीआइएको जासुस भएको बताए । सीआइएले पनि हन्ट सन् १९४९ देखि १९७० सम्म आफ्नो कार्यालयसँग सम्बद्ध रहेको पुष्टि ग¥यो । सोहि दिन वासिंगटन पोष्टमा ‘वाटरगेट काण्डमा व्हाइटहाउसका एक सुरक्षा सल्लाहकारको संलग्नता शीर्षककमा समाचार प्रकाशित भयो । जून २२ मा निक्सनले पत्रकार सम्मेलनको आयोजना गरी भने, ‘‘काण्डमा व्हाइट हाउसको कुनै संलग्नता छैन ।’’
९ दिनपछि जुलाई १ मा निक्सनको चुनाव अभियान समितिका प्रबन्धक जोन न्युटन मिचेलले पत्नीको अनुरोधमा पदबाट राजीनामा दिए । सबैजना यत्रो महत्वपूर्ण पद पत्नीले आग्रह गरेकै भरमा किन छाडेका होलान् भनी छक्क परे । यसबीच वाटरगेट काण्ड घटेदेखि नै हन्ट गायव भएको र १ सय ५० जना सरकारी गुप्तचरले उनको खोजी गरिरहेको जानकारी बबले पाए । जुलाई ६ मा पत्रपत्रिकामा अर्को समाचार छापियो । त्यसमा पूर्वराष्ट्रपति जोन एफ केनेडीका भाइको गाडी दुर्घटनामा मारिएकी एक युवतीलाई २५ हजार डलर आफ्नो बचाउको लागि दिइएको उल्लेख थियो । समाचारमा चुनाव समितिले सुरक्षाको लागि भनी छुट्याएको १ लाख डलरको बजेट कसरी खर्च गरियो भनी थाहा पाउन सकिए वाटरगेट काण्डमा व्हाइटहाउसको संलग्नता छ छैन, थाहा हुने जानकारी पनि थियो । यसपछि जुलाई २५ को दिन न्यूयोर्क टाइम्सको पहिलो पृष्ठमै अर्को समाचार प्रकाशित भयो । त्यसमा ५ अभियुक्तमध्ये वार्करले पुनःचुनाव अभियान समितिमा १५ पटक फोन गरेको उल्लेख थियो । पोष्टका अर्का रिपोर्टर बर्नस्टाइनले सत्य कुरो पत्ता लगाउन खोजे । वार्करमात्र होइन सो समितिका अन्य कर्मचारीलाई मेक्सिकन एक वकिलमार्फत ठूल्ठूलो रकमको चेक भुक्तानी दिइएको जानकारी उनले प्राप्त गरे ।
यसरी पक्राउ परेका ५ जना र व्हाइटहाउसबीच कुनै न कुनै सम्बन्ध रहेको रहस्य खुल्दै गयो । बाध्य भएर पुनःचुनाव अभियान समिति चुनावको लागि सङ्कलित रकम र खर्च सरकारले लेखा परीक्षकद्वारा परीक्षण गराउन बाध्य भयो ।
अगष्ट २९ मा निक्सनले अर्को पत्रकार सम्मेलन गरी भने, ‘‘समितिलाई प्राप्त धनराशीको हिसाब किताब राख्ने जिम्मा पाएका स्टैन्स एफ इमानदार व्यक्ति हुन् र उनी स्वयं सत्य तथ्य पत्ता लगाउने काममा लागेका छन् ।’ सोही सम्मेलनमा काण्डबारे बोल्दै भने ‘यो विचित्र काण्डमा व्हाइटहाउसका कुनै एक जना कर्मचारीको पनि संलग्नता छैन । यदि चुनाव अभियान समितिका कुनै पनि सदस्यले उत्साहित भएर अनुचित कार्य गरेको भए उनलाई बचाउने काममा लाग्दिन ।’ यसबीच, सङ्घीय जाँचब्युरो ‘एफबीआइ’ का उपप्रमुख विलियम मार्क फ्लेट ‘डिप थ्रोट’ को छद्म नाउँले पत्रकारद्वय बब र बर्नस्टाइनलाई महत्वपूर्ण सूचना दिन राजी भए । दुवैले सूचना स्रोतलाई कहिल्यै जनसमक्ष नल्याउने वाचा गरे । वाटरगेट काण्डमा व्हाइटहाउसका कर्मचारीको संलग्नताबारे ढुक्क उनै डिप थ्रोट र वासिंगटन पोष्टका ती २ पत्रकारबीच पटक–पटक भेट भयो । वासिंगटन पोष्ट र न्युयोर्क टाइम्सबाहेक, वासिंगटन पोष्ट डेलीलाई पनि वाटरगेट काण्डसम्बन्धी गोप्य सूचना दिँदै आएका एफबीआइका ती अधिकृतले फोनले भर हुन्न भन्दै बब र बर्नस्टाइनसँग रातको २ बजे भर्जिनिया राज्यको रोजिलिनास्थित भूमिगत गाडी पार्किङ स्थलमा गएरसमेत भेटे । डिप थ्रोटले उपलब्ध गराएको सूचनाकै आधारमा वासिंगटन पोष्टले समाचार लेख्यो । विश्वस्त शूत्रबाट थाहा पाइएअनुसार वाटरगेट जासुसी काण्डमा राष्ट्रपति निक्सनको चुनावी अभियानका भूतपूर्व प्रबन्धक मिचेल र उनका अन्य सहयोगीहरूको प्रमुख हात रहेको पुष्टि भएको छ । यो काण्डमा खर्च गरिएको ३ लाख डलर एउटा गोप्य कोषको र सो कोषको सम्पूर्ण कागजपत्र नष्ट गरिसकिएको छ । कोषको राशी दुरुपयोग भइरहेको थाहा पाएपछि कोषका कोषाध्यक्ष स्लोअनले पदबाट राजीनामा दिएका छन् ।’ समाचार प्रकाशित भएलगत्तै व्हाइटहाउसले चुनाव अभियान समितिअन्तर्गत कुनै त्यस्तो गोप्य कोष नरहेको न त्यसमाथि मिचल, स्टैन्स वा व्हाइटहाउसका एक अधिकारीको नियन्त्रण नै रहने गरेको थियो भनी समाचारको खण्डन ग¥यो । मिचेलले त वासिंगटन पोष्टले त्यस किसिमको निन्दनीय समाचार प्रकाशन गर्न बन्द नगरे उक्त पोष्टकी मालिक्नी श्रीमती क्याथरिन ग्राहममाथि गम्भीर सङ्कट आउन सक्ने चेतवनीसमेत दिए ।
यसबीच सन् १९७२ को नोभेम्बरमा सम्पन्न निर्वाचनमा निक्सनले अत्यधिक बहुमतका साथ जिते । वाटरगेट काण्डबारे खोजी पत्रकारिता गर्दै गरेका पत्रकारद्वय बब र बर्नस्टाइन निर्वाचनको नतिजाबाट खिन्न भए । उता, निक्सन र उनका सहयोगीहरूको आत्मविश्वास बढ्यो । यसका बाबजुद बब र बर्नस्टाइनले हार मानेनन् । उक्त काण्डको सत्यतथ्य जनसमक्ष ल्याई छाड्ने प्रण गरे । निर्वाचन सकिएको ठीक २ महिनापछि डिसेम्बरमा उनीहरूले राजनीतिक जासुसी गर्न व्हाइटहाउसभित्र बनाइएको गोप्य टोली ‘प्लम्बर्स’ बारे थाहा पाए । अमेरिकास्थित रहेको अन्य मुलुकका दूतावासमा हुने फोनवार्ता, चिट्ठीपत्रको जानकारी प्राप्त गर्नेलगायत व्हाइटहाउसभित्र हुने गोप्य वार्ताको सूचना सञ्चारमाध्यममा कसले केमार्फत पठाउँछन् भन्नेसमेत यो टोलीले गर्ने गरेको जानकारी प्राप्त गरे । यसबीच प्रभावशाली सिनेटर सैम एर्विनको अध्यक्षतामा राष्ट्रपति चुनाव समयमा वा अगाडि अनियमितता भए नभएको, कानुन र परम्पराको विरुद्ध गए नगएको जाँचबुझ गर्न एउटा संसदीय समिति गठनबाट दुवै पत्रकारको हौसला बढ्यो । समितिका अध्यक्ष एर्विनले बब र बर्नस्टाइनसँग भेटेर भएभरको जानकारी दिन आग्रह गरे र उक्त जानकारी कसले दियो गोप्य रहने विश्वास दिलाए ।
दुवै पत्रकार ‘प्लम्बर्स’ सँग आबद्ध व्यक्तिहरूले गरेका अनैतिक कामको खोजीमा लागे । एजिल क्राग व्हाइटहाउसका उच्च अधिकारीले हेर्लिकमैनका कानुनी सल्लाहकारको फर्ममा काम गर्ने गरेको पत्ता लगाए । यो पनि पत्ता लगाए कि ३३ वर्षको अल्पायुमै निक्सनको क्याबिनेट सदस्य बनेका थिए । उनले आफ्ना विशिष्ट मित्रहरूलाई प्लम्बर्सको सदस्य लिड्डी, डेविड यंगले ‘वाटरगेट्स’ को माध्यमबाट गुप्त सूचना प्राप्त गर्ने गरेको बताएका रहेछन् । वासिंगटन पोष्टले लिड्डी, यंग आदि सदस्यसम्बन्धी उपरोक्त सूचनाको आधारमा समाचार प्रकाशन ग¥यो । तर व्हाइटहाउसले समाचार पूर्णतया निराधार भनी खण्डन ग¥यो । सो खण्डनको बाबजुद पत्रिकाले चुनाव अभियान समितिका एक सदस्यसँग भएको वार्तालापको आधारमा भन्दै समितिले आफ्नो खर्चबाट भियतनामको हाइफोंग बन्दगाहमा सुरुङ बनाउने निर्णयको समर्थन नक्कली सङ्घ संस्थाको नाउँबाट निक्सनको नाउँमा समर्थन पत्र पठाइएको भन्दै विज्ञापन प्रकाशन गरेको लेख्यो । व्हाइट हाउसले यसको भने खण्डन गरेन । तर समाचार प्रकाशन पछि निस्कसनले सबै पदाधिकारी तथा कर्मचारीको भेला गरेर समितिलाई थप धनराशी प्राप्त हुने, र जति खर्च गर्नु परे पनि वासिंगटन पोष्टलाई खत्तम पार्न आदेश दिएको डिप थ्रोटले बब र बर्नस्टाइनलाई जानकारी दिए । उनका अनुसार बैठकमा निक्सनले टेबुल ठदाउँदै, चिच्याउँदै त्यस्तो आदेश दिएका थिए ।
सन् १९७३ को मार्च २३ मा एउटा घटना घट्यो । वाटरगेट काण्डका १ अभियुक्त मेकार्डले न्यायाधीश सिरिकालाई एउटा पत्र लेख्दै भने ,‘ममाथि राजनीतिक दबाब छ । सत्य कुरो बोलेमा मेरो ज्यान जान्छ ।’ उनले संसदीय टोलीको नेता एर्विनलाई केही व्यक्तिको नाउँ टिपाए । लगत्तै न्युयोर्क टाइम्सले जोन डिन र मेकार्ड मिलेर वाटरगेट भवनमा जासुरी गर्ने योजना बनाएको र पाँचै जना सोही योजनालाई साकार रुप दिन त्यहाँ गएको समाचार प्रकाशन ग¥यो । समाचारमा यी दुवैजना राष्ट्रपतिका विश्वस्त मित्र भएको उल्लेख थियो । उता बब र बर्नस्टाइनले चुनाव सकिएपछि पनि चुनावको लागि खडा गरिएको गुप्त कोष विघटन नभएको सूचना प्राप्त गरे । सोही कोषको राशिबाट वाटरगेट काण्डका अभियुक्तहरूको ‘मौनता’ खरिद गर्ने कोशिश भइरहेको र यसमा ७५ हजार डलर खर्च अनुमान गरिएको जानकारी लिए । यसबीच अप्रिल १४ मा व्हाइटहाउसमा आयोजित ‘राष्ट्रिपति भवन संवाददाता सङ्घ’ को वार्षिक भोजमा बब र बर्नस्टाइन् दुबै सहभागी भई निक्सन, उनका सहयोगीहरू हेनरी किसिन्जर, हेर्लिकमैन, हेल्डेमैन आदिसँग भेटे । रात्रीभोज सकिएपछि महान्यायाधिवक्ता केन्डियिन्सले उनीहरूसँगै अलग्गै भेटमा भने, ‘‘तिमीहरू दुवैजना सफल हुँदै छौ, वाटरगेट काण्डको रहस्य खुल्दै छ ।’’
अप्रिल १७ मा बर्नटस्टाइन व्हाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा पुगे । कार्यक्रमलाई निक्सनले स्वयं सम्वोधन गर्दै थिए ।
निक्सनको हात काँपिरहेको बर्नस्टाइनले देखे । अभियुक्तहरू सार्वजनिक भइसकेको र जाँचबुझ नयाँ ढ·बाट गर्न आदेश गइसकेको निक्सनले बताए । डिनका एक सहयोगीमार्फत बर्नस्टाइनले मार्च २९ को राती डिनले निक्सनसँग एक्लै भेटी तपाईंलाई बचाउन हेल्डमैन र हेर्लिकमैनले सबै आरोप आफ्नो काँधमा लिने निर्णय गरेको र एउटा लिष्ट देखाउँदै हामी पछि यिनीहरू पनि जेल जाने सम्भावना रहेको बताएको जानकारी प्राप्त गरे । अप्रिल २० को बेलुका दूरदर्शन प्रसारणमा बोल्दै निक्सनले भने, ‘केही व्यक्तिले म र तपाईँहरूसँग सत्य कुरो लुकाउने कोशिश गरेको पाइयो । यसकारण तीमध्ये हिल्डेमैन र हेर्लिमैनको राजीनामा स्वीकृत गरी उनीहरूसितको सम्बन्धविच्छेद गर्दै छु । तपार्इंहरू विश्वास गर्नुस्, सत्य कुरो लुकाउने मेरो कुनै मनसाय छैन । त्यो अमेरिकाका लागि जसलाई म प्रेम गर्छु, म सत्यको रक्षा गर्छु ।’
यसबीच वाटरगेट काण्डसम्बन्धी संसदीय समितिले व्हाइटहाउसको सबै पदाधिकारी र कर्मचारीहरूसँग बयान लिइसकेको थियो । राष्ट्रपति निक्सनले सत्ता टिकाइराख्न फोहोरी खेल खेलेको, यस खेलमा एफबीआइ, सीआइए, आन्तरिक राजश्व विभागलाई समेत दुरुपयोग गरेको निष्कर्ष निकालिसकेको थियो । बब र बर्नस्टाइनले संसदीय समितिलाई उक्त निष्कर्षमा पुग्न ठूलो मद्दत गरिरहेका थिए । न्याय विभाग पनि राष्ट्रपछिविरुद्ध कारबाही गर्न कटिबद्ध भइसकेको थियो । व्हाइटहाउसका प्रेस सचिवले बब र बर्नस्टाइनसँग भेटेरै माफी मागिसकेको थिए । उता, न्याय विभागले डिनले दिएको सूचनाको आधारमा वाटरगेट काण्डमा संलग्नहरूलाई दिएको आदेश स्वयं निक्सनको भएको टेप प्रमाणको आधारमा निक्सनमाथि कारबाही थाल्ने निर्णय ग¥यो । तर निक्सनले विभागका प्रमुख फाकसलाई नै बर्खास्त गरिदिए । तर अदालतको आदेशमा उक्त टेप सुम्पन बाध्य भए । टेप सुनेपछि आदेश निक्सनबाट गएकोमा अदालत निश्चित भयो । उता डिज्नील्याण्डमा आयोजित एउटा कार्यक्रममा सम्पादक मण्डलको एउटा टोलीसँग निक्सनले भने ‘‘म धोकेबाज होइन ।’’ तर ३० जनवरीमा राष्ट्रको नाउँमा सन्देश दिँदै फेरि भने —वाटरगेटको १ वर्ष मेरो लागि काफी छ । म जनतालाई आश्वस्त पार्न चाहन्छु कि म त्यो कर्तव्यको पालन गर्दै जान्छु जसको निम्ति जनताले मलाई निर्वाचित गरेका थिए ।
तर संसदको न्यायिक समितिले निक्सनविरुद्ध महाअभियोगका ३ वटा धारा स्वीकार ग¥यो । न्यायको मार्गमा अवरोध, सत्ताको दुरुपयोग र सम्मानको अवज्ञा अब निक्सनको अगाडि राजीनामा दिनुबाहेक अरु विकल्प रहेन र १९७४ को अगष्ट ९ मा पद न्यागे । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्रपति दुई साधारण पत्रकारको कारण राजीनामा दिन बाध्य भए पनि कारबाहीको भागिदार भने भएनन् । उनीपछि कार्यवाहक राष्ट्रपति भएका जेराल्ड हाटफोर्डले निक्सनमाथि कुनै मुद्धा चलाउनै नपाउने गरी क्षमा दान दिए । अमेरिकी इतिहाससमा निक्सन पहिलो राष्ट्रपति हुन्, जसले राजीनामा दिएर पदबाट हटे । वाटरगेट काण्डमा कूल ६९ जना मुछिएका थिए । उक्त काण्डमा राष्ट्रपतिलाई घुँडा टेकाउन महत्वपूर्ण भूमिका खेल्ने दुई पत्रकार बब व्रडवर्ड यतिखेर क्रमशः इलिनोएस कार्ल बर्नस्टाइन वाङ्टिनमा बस्छन् । ७१ वर्षीय वर्नस्टाइन वासिङ्टन पोष्टको एशोसिएट सम्पादकमा कार्यरत छन् । भ्यानिटी फेयरमा पनि आबद्ध छन् । ७२ वर्षीय बब भने स्वतन्त्र लेखनमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *