अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
क्युवामाथि संरा अमेरिकाले झण्डै सात दसक लामो आर्थिक तथा वित्तीय नाकाबन्दीलाई कुनै न कुनै बहानामा निरन्तरता दिन चाहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवामाथिको नाकाबन्दी चालू राख्नुपर्छ वा पर्दैन भन्ने विषयमा २६ पटक मतदान भयो । क्युवामाथिको नाकाबन्दी चालू राख्नुपर्छ भन्ने संरा अमेरिकाको मतले सधैं निर्लज्जतापूर्वक पराजय भोग्दै आइरहेको छ । संसारका अरू सबै देश क्युवाको पक्षमा उभिने गरेका छन् भने जन्मजात संरा अमेरिकी पिछलग्गू इजरायलमात्र संरा अमेरिकी मतको पक्षमा उभिंदै आएको छ ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले आफ्नो कार्यकालको अन्त्यतिर क्युवासँग कूटनीतिक सम्बन्ध सुधार गर्न चालेका केही सकारात्मक पाइलाका कारण उपरान्त त्यस्ता मतदानमा वाशिङ्टनले नाकाबन्दीको विपक्षमा उभिने झिनो आशा गरिएको थियो । तर साम्राज्यवादले आफ्नो चरित्र फेरेको रहेनछ । डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएयता क्युवासँग पूर्ववर्ती सरकारले गरेका सबै वाचा तोडिएका छन् । सहजतातिर उन्मुख क्युवा–संरा अमेरिका सम्बन्धमा अझ अग्ला समस्या तेर्सिएका छन् ।
आगामी अक्टोबर ३१ मा क्युवामाथिको नाकाबन्दीबारे २७ औं पटकको मतदान राष्ट्र सङ्घको महासभामा हुँदैछ । त्यो महासभामा पनि क्युवाविरूद्धको नाकाबन्दी प्रस्ताव असफल हुनेमा विमति छैन । संरा अमेरिकाले फेरि पनि विशेषाधिकार प्रयोग गरी क्युवामाथिको नाकाबन्दी लम्ब्याउनेछ । तर ‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ भनेजस्तै संरा अमेरिकाले क्युवामाथि कुनै पनि अरू बहाना लगाउन नसकेपछि मानव अधिकारको हल्ला पिट्न थालेको छ ।
संरा सङ्घको न्युयोर्कस्थित मुख्यालयमा म·लबार भएको संरा सङ्घ आर्थिक तथा सामाजिक परिषद्को बैठकमा वाशिङ्टनले क्युवामाथि मानव अधिकार हननको आरोप लगाएको छ । परिषद्मा क्युवाली कूटनीतिक प्रतिनिधिहरू त्यस्तो झुटो आरोपको विरोधमा नाराबाजी गरे । ‘हामीलाई के कारणले कैदी बनाइएको हो ?’ भन्दै क्युवाली प्रतिनिधिहरूले वाशिङ्टनको प्रस्तावको चर्को विरोध गरेका थिए ।
संसारलाई थाहा छ– मानव अधिकार र प्रजातन्त्रलाई संरा अमेरिकाले सधैँ साना र विकासशील देशमाथि आफ्नो हैकम थोपर्ने हतियारको रूपमा प्रयोग गर्दै आएका छन् । इतिहासमा अफगानिस्तानदेखि सिरियासम्मका युद्ध विश्वले देखिसकेको छ । चीनको बद्ख्वार्इँं गर्न, लिवियामा हमला गर्न र इराकलाई ध्वस्त बनाउन संरा अमेरिकाले सधैं मानव अधिकार प्रजातन्त्रकै कारण दिंदै आएको छ । तर मानव अधिकार र प्रजातन्त्रको हल्ला गर्दै संरा अमेरिकाले हरेक पटक आफैं मानव अधिकारको हनन र प्रजातन्त्रलाई कमजोर बनाउँदै आएको छ ।
क्युवामाथि अमानवीय नाकाबन्दीलाई निरन्तरता दिन नै आज संरा अमेरिकाले नाकाबन्दीसम्बन्धी मतदानको सातादिन अघि मानव अधिकारको मुद्दालाई अनावश्यक बहानाबाजी गरिरहेको छ । मानव अधिकार उल्लङ्घनलाई बहाना बनाएर संरा अमेरिकाले ‘आफ्नै आँगनको’ क्युवामा स्थापित समाजवादी व्यवस्थालाई ध्वस्त बनाउन खोजिरहेको छ । वाशिङ्टनको लागि क्युवाको समाजवादी व्यवस्था र साम्राज्यवादविरोधी अडान नै प्रमुख शत्रु बनेको छ । धनी र गरीबबीच असमानता नभएको समाज निर्माण गर्ने क्युवाली जनताको सपना नै संरा अमेरिकाको शत्रु बनेको छ ।
क्युवाको सत्यको पक्षमा भएको कुरा महासभामा क्युवाको पक्षमा उभिएको अत्यधिक बहुमत देशले पनि पुष्टि गरेको छ । संसारमा सबभन्दा बढी मानव अधिकारको रक्षा भएको देश क्युवा हो । क्युवामा शिक्षा, स्वास्थ्य, आवासजस्ता जनजीवनका आधारभूत पक्ष राज्यको दायित्वअन्तर्गत संरक्षण भएको छ । तर मानव अधिकार कहीं सबभन्दा बढी उल्लङ्घन भइरहेको छ भने त्यो संरा अमेरिकामा भइरहेको छ वा वाशिङ्टन सरकारले गरिरहेको छ ।
Leave a Reply