भर्खरै :

आन्तरिक पर्यटन विकासको उपयुक्त समय

दसैं–तिहारको समय नेपालमा घुमफिरको लागि उपयुक्त समय मानिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या यो समयमा उल्लेख्य रुपमा वृद्धि हुने गर्दछ । तर पछिल्ला वर्षमा विदेशी पर्यटकमात्र होइन, नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि निकै बढेको छ । दसैंको लामो बिदामा मुस्ताङको मुक्तिनाथ क्षेत्र र पोखरामा आन्तरिक पर्यटकको ठूलो घुइँचो देखिएको समाचार स्रोतहरूले जनाएका छन् । कुनै बेला धार्मिक पर्यटनमा खुम्चिएको नेपालको आन्तरिक पर्यटन आजभोलि त्यो घेरामा मात्र सीमित छैन । पर्यटकीय क्षेत्रको प्रचारप्रसार र जीवनशैलीमा आएको परिवर्तनसँगै नेपाली समाजमा घुमफिरको चलन पनि बढ्दै गएको छ । यसलाई सकारात्मक पक्षको रुपमा लिइनुपर्दछ ।
विदेशी पर्यटकमा भरपर्ने पर्यटन दिगो हुने गर्दैन । त्यस्तो पर्यटक हाम्रो वशमा मात्र हुने गर्दैन । अन्तर्राष्ट्रिय क्षेत्रमा आइरहने राजनीतिक र आर्थिक परिवर्तन तथा सुरक्षा चुनौतीले पनि विदेशी नागरिकमा भरपर्ने पर्यटन प्रभावित हुने गरेको छ । तर आन्तरिक पर्यटन तुलनात्मक रुपमा दिगो हुने गर्दछ । त्यसकारण अन्तर्राष्ट्रिय पर्यटनको सँग–सँगै देशको आन्तरिक पर्यटनमा पनि जोड दिनु देशको आर्थिक र सामाजिक विकासको लागि उपयोगी हुने गर्दछ । आन्तरिक पर्यटनले स–साना व्यवसायको प्रवद्र्धनमा ठूलो योगदान गर्दछ । यसले देशको रोजगारी दर वृद्धि गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग गर्ने गर्दछ ।
पछिल्ला वर्षमा आफ्नै देश घुम्ने नेपालीको परिवर्तित जीवनशैलीले देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान गर्नसक्दछ । अर्थतन्त्रमा यसले ठूलो ऊर्जाको भूमिका खेल्न सक्दछ ।
संविधानले स्थानीय तहलाई विगतको तुलनामा बढी अधिकारसम्पन्न बनाएको छ । अधिकारसम्पन्न स्थानीय तहले आफ्नो क्षेत्रको विशेषतालाई प्रचारमा ल्याई आन्तरिक पर्यटनको विकास गर्न सक्दछ । यसको लागि ठूलो आकारको लगानीको खाँचो पर्नेछैन । तर कतिपय स्थानीय तहले भने आफ्नो क्षेत्रका पर्यटकीय क्षेत्रमा करको दायरामात्र फराकिलो बनाएर अन्य सुविधामा ध्यान दिन नसक्दा परिणाम उल्टो आउने सम्भावना पनि उत्तिकै छ ।
घुम्न निस्केका पर्यटकले केही नयाँ कुरा हेर्ने र अनुभव गर्ने अपेक्षा राख्दछन् । पर्यटकीय क्षेत्रमा त्यस्ता नयाँ कुरा पस्कन स्थानीय तहले बढी मिहिनेत गर्न जरुरी छ । भएका प्राकृतिक वा सांस्कृतिक सम्पदालाई पनि कसरी आकर्षक बनाउने र तिनको प्रचार गर्नमा स्थानीय सरकारले ध्यान दिन जरुरी छ । पर्यटकलाई खुसी बनाएर कर उठाउन वा आर्थिक गतिविधि गर्न सके पर्यटन दिगो हुनेछ । तर पूर्वाधारमा कुनै वास्ता नगर्ने अनि कर र आर्थिक गतिविधिमा मात्र ध्यान दिनु पर्यटनलाई व्यवसायभन्दा मागी खाने भाँडो बनाउनुमात्र हो ।
कतिपय स्थानीय तहले पर्यटन क्षेत्रलाई केही सीमित धनीमानीको दुनो सोझ्याउने माध्यम बनाइरहेका छन् । तर स्थानीय जनतालाई प्रत्यक्ष फाइदा हुने कुनै गतिविधिभन्दा पनि केही सीमित मानिसलाई पोस्ने कामले समाजमा आर्थिक असमानतालाई अझ फराकिलो बनाउनेछ । बत्तीमुनि अँध्यारो भनेजस्तै केही मानिस अग्लो र उज्यालो घरमा बस्नेछन् भने व्यापक स्थानीय जनता फेरि पनि विपन्नताको भुमरीमा फस्दै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *