भर्खरै :

नरेन्द्र सरसँगको यात्रा

 चिन्मय
तपाईं नरेन्द्र सरलाई जहाँ पनि भेट्न सक्नुहुन्छ । स–साना सहर, गाउँ–टोल, देशका कुनाकाप्चा जहाँ पनि । हिमालको ठिहि¥याउने स्याँठ होस् वा तराईको तप्तपाउँदो घाम नरेन्द्र सरहरू यत्रतत्र पाइन्छन् । चिया पसल, खेतका आली र चौपारीहरूमा नरेन्द्र सरहरू अक्सर भेटिन्छन् । मैले पनि भेटें उनलाई । निसान भ्यानको टालीमा ।
दसैंको माचो छ । मलाई घर जानुछ । हेटौंडा । बास बसेको गाउँ गङ्गटेलाई के भनुँ । मनमोहक विशेषण फिका पर्छ । प्रकृति यति बान्किली भएर बास गर्छिन् यहाँ, आफ्नै आँखाले नदेखी तपाईं पत्याउनुहुन्न । बिहानको खाना खाएर म ठिङ्गेनतर्फ लम्किन्छु । पहाडका अनेक कुइँनेटा छिचोल्दै र कापकापमा बग्ने स–साना खोल्साको भरिलो पानी पिउँदै म घण्टाभरमा ठिङ्गेन पुग्छु ।
हेटौंडाको लागि एउटै गाडी छुट्दोरहेछ यहाँबाट । त्यो छुटिसकेको छ । म स–सानो होटलमा आफ्ना पोकापन्तुरा बिसाएर रामभरोसे भई गाडीको पर्खाइमा बस्छु । चार पाँच किलोमिटरको दूरी छिचोल्न पनि गाडी नभई नहुने हामी सभ्य भनाउँदाहरूको लागि यो बस्ती र यहाँका मानिसहरू मध्ययुगीन लाग्छन् । मेरो सोचलाई चट्कन लगाउँदै होटलको चोटाबाट कुनै हिन्दी फिल्मको प्रेमिल गीत गुञ्जिन्छ । साहुनीकी छोरी हातमा मोबाइल लिएर तल ओर्लिन्छिन् । आमा–छोरी मलाई गाडी आउने दिलासा दिन्छन् ।
ठिङ्गेन सानो गाउँ हो । कुइँनेटामा बसेको । एउटा मावि छ यहाँ । दसैंअघिको अन्तिम दिन रहेछ विद्यालयमा । वरपरका गाउँहरूबाट विद्यार्थीहरू शिक्षक–शिक्षिकालाई बिदाइ गर्न जम्मा भएका छन् । म भने अघिको हिंडाईले लखतरान भई झोंक्राइरहेको हुन्छु । म आएकै बाटोमा निसान भ्यान झुल्किन्छ । साहुनीले तन्द्राबाट बिउँझाउँछिन् मलाई र अघि सरेर गाडी पनि रोकिदिन्छिन् । अलिपर केही अन्य यात्रु पनि रहेछन् । गाडीमा बसेकी आमालाई आफ्ना पोकापन्तुरा थमाएर म टालीमा उक्लन्छु । मपछि टाली उक्लेका नरेन्द्र सर मेरै अघिल्तिर बस्छन् ।
कहिल्यै पहाडी बाटोमा गाडीको टालीमा सफर गर्नुभएको छ भने तपाईंलाई पक्कै थाहा होला, टालीको यात्रा निद्राको शत्रु हो । झप्पझप्प मलाई तानिरहेको निद्रा केहीबेरमै गायब भयो । टालीका सबैजना तामाङ बोलीमा बातचित्त गरिरहेका थिए । बसिबियाँलो गर्नैप¥यो । “हेटौंडा पुग्न कति समय लाग्ला ?” म हावामा प्रश्न फाल्छु । जवाफ नेपालीमा आउँछ । हौसिएर म यात्रासँग जोडिएका अन्य जिज्ञासाहरू राख्न सुरू गर्छु । यसरी हाम्रो कुरा जम्छ । हामी अर्थात् मलाई टाली उक्लिन सघाउने आमा, नरेन्द्र सर दम्पती र बाटोको काम गर्न आएका मजदुर दाजुभाइहरू ।
ठिङ्गेनको भञ्ज्याङ काटेपछि आले गाउँ आउँछ । बुकर टि वासिङ्टनको आत्मवृत्तान्तमा वर्णन गरेजस्ता काठका फलेकले बारेका कटेराहरू । यी पहाडका माझमा प्रकृतिसँग कुस्ती खेल्दै बस्ने मानिसहरूको जीवन म वासिङ्टनकै पुर्खा र आफन्तसँग तुलना गर्न पुग्छु मनैमन । गाडीको सफरको यहीं दोष ! किताबका शब्दहरू नपढेर सरर्र पाना फर्काएजस्तै लामो इतिहास र जटिल भूगोलमा नपसीकनै हामी पार हुनुपर्छ । अनेक फेन्ट्यासी र नानाथरी अड्कलबाजीमा चित्त बुझाउनुपर्छ ।
आले गाउँ काट्दै गर्दा बाटो पिच गर्न अलकत्रा बोक्दै गरेका दुई ट्रकले बाटो छेक्न पुग्छन् । अलिबेर गाडी रोकिन्छ । आमाले सरकार र सरकारी कर्मचारीको रवैयालाई गाली गरेसँगै हाम्रो कुराकानी समाजतर्फ मोडिन्छ । “यत्तिका भ्याकुहरू ल्याएर राखेका छन् । यति बाटो सम्याएको भए पनि हुन्थ्यो नि ! अस्ति यो थुम्को उक्लिन नसकेर एउटा गाडी नै गुल्टियो । सरकारी काम …! हामीले त हप्तौंसम्म बाटो बन्द ग¥यौं । बल्ल अहिले हाम्रो गाउँ अगाडिको बाटो पिच ग¥यो । सरकारी मान्छेहरू काम नलाग्ने हुन्छन् । आएको पैसा पचाउँछन् र मस्त बस्छन् ।” लहरो तान्दा पहरो गर्जिन्छ भनेझैं उनी थप्छिन्, “पुलिस पनि त्यस्तै । आफू भने दिउँसै सित्तैको रक्सी खाएर झुल्छन् । हामीलाई भने रक्सी पार्न बन्द गराउने रे ।” नरेन्द्र सर मिसिन्छन्, “गाउँ–गाउँमा रक्सी कम्पनीहरूको रक्सी बिकेन । त्यहीं रक्सी बिकाउन नै यो नियम बनाएको हो सरकारले । कमिसनको खेल ।” पक्कै पनि गाउँ–घरमा धेरै शारीरिक श्रम गर्नुपर्दा जाँडरक्सीले सस्तो एनर्जी ड्रिङ्क्सको काम गर्छ । कतिपयका लागि यो नुनतेल जुटाउने, बालबच्चालाई कापीकलम जुटाउने घरेलु उद्यम हो । सरकारले उनीहरूको पेशाको उचित विकल्प नदिई यस्तो नियम ल्याउनु सार्वजनिक शौचालय नबनाई सहरलाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्नुजस्तै हो ।
बाटो भीरपाखा र जङ्गल छिचोल्दै अगाडि बढिरहेको छ । वरपर जताततै पहाडैपहाड छन् । म यी पहाडका नाम र टाढा–टाढा देखिने गाउँहरूबारे सोधनी गर्छु । नरेन्द्र सर मेरा जिज्ञासाहरू मेटाउँदै यो बाटो बन्नुभन्दा पहिलेका यात्रा र घटनाहरू सम्झिन्छन् । सम्झनाको तरेलीले उनलाई बाल्यकालसम्मै डो¥याउँछ ।
यो बाटो ०१३ सालतिर बनेको रे । धेरै पहिले यो बाटोमा गाडी नचल्दा नरेन्द्र सरले पसल गर्दा रहेछन् । पसलका सरसामान लिन उनी एक दिन हिंडेर हेटौंडा बजार पुग्दारहेछन् । त्यसबेलाका सम्झनाहरू सुनाउँदा उनी आँखामा चमक र ओंठमा मङ्गोल मुस्कानसँगै ल्याउँछन् । उनको बाल्यकाल र पढाइको रामकहानी झनै आँखा फार्ने खालको छ ।
उबेला बागमतीको पानीमा प्रशस्त माछा पाइन्थ्यो । पारि ललितपुर जिल्ला, वारि मकवानपुर । बागमतीले छाडेको समथर फाँटमा खेतीपाती राम्रै हुन्थ्यो । सबै गाउँलेजस्तै नरेन्द्र सरका आमाबुवाले खेतीकिसानी गर्थे । छोराछोरीले आफ्नो काममा सघाऊन् भन्ने आमाबुबाको चाहना थियो । उनी भने किन हो कुन्नी पढाइतिर तानिएछन् । खाली समयमा उनी पाटनदेखि साँखु डाँडासम्म साहुहरूका भारी बोक्न जाँदारहेछन् । साँखु ललितपुर जिल्लाको त्यस्तो गाउँ हो जहाँबाट पच्चीस तीस किलोमिटरमा राजधानी छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । भारी बोकेरै नरेन्द्र सरको खल्तीमा २५ रुपैयाँ जम्मा भएको थियो । तर पाँच कक्षामा भर्ना गर्न चाहिन्थ्यो ३५ रुपैयाँ । त्यसैले उनी चार कक्षामा भर्ना भएछन् । यसरी सुरु भएको नरेन्द्र सरको पढाइ पछि चापागाउँमा आएर पूरा भयो । उनले काम गर्दै, पढ्दै पाटन संयुक्त क्याम्पसबाट स्नातक गरेछन् ।
सहर जाने त्यसमा पनि सकेसम्म राजधानी जाने, त्यहाँ घडेरी जोर्ने, स–सानो भए पनि घर बनाउने र स्वर्गको सानो टुक्रा फलाउने सपना बुन्नेहरूको हुल राजधानीको जुनसुकै कुनामा तपाईं भेटाउनुहुन्छ । सहरको जातै जम्दार, गाउँनिचोरी बस्छन् । ऊबेला राजधानी सस्तो पनि थियो । जहाँ जाला कामै गर्ला भन्ने मूलमन्त्रमा प्रतिबद्ध नरेन्द्र सरलाई सहरले रल्लाउन सकेन । उनी गाउँ फर्के, आफूले पाएको ज्ञानको ज्योति छर्न । त्यसयता उनले अनगिन्ती विद्यार्थीहरू पढाए । ठिङ्गेन आसपासका सबै गाउँमा उनलाई नचिन्ने बिरलै होलान् ।
यात्राको लगभग बीचमा टालीमा बसेकी आमा बाटोको छेवैमा पर्ने फलेकले बारेको आफ्नी छोरीको घरमा ओर्लिन्छिन् । पछि थाहा भो आमा गाउँपालिकाकी वडा सदस्य रहिछन् ।
हामी चिल्लो बाटोमा आइसकेका हुन्छौं । अब गाडी झन् बतासिन्छ । टालीको अगाडिपट्टी उभिएको एकजना भाइ बैंसको भेलमा बेगिन्छ । ऊ बाटामा यदाकदा चौपाया चराइरहेका किन्नरीहरूसँग केही न केही भन्दै जिस्किछ । कति फरक छ, त्यो केटाको स्वच्छन्द उडान र नरेन्द्र सरको निश्चल बैठान । म यिनै कुरामा सोचमग्न हुन्छु । नरेन्द्र सर मलाई बाटामा पर्ने सबै मुख्य गाउँका नाम र विशेषता बताउँछन् । हामी गढी नामको थुम्कोमा पुग्छौं । नेपाल–अङ्ग्रेज युद्धताका हेटौंडाको फाँटनजिकै पर्ने यो ठाउँमा नेपाली सेनाले किल्ला बनाइ बसेको रहेछ ।
राप्ती नदीको घुमाउरो हेरेको केही समयपछि हेटौंडा फाँट देखिन्छ । देखिन्छ, सिमेन्ट फ्याक्ट्रीनजिकै हाम्रो घरको पानी ट्याङ्की । घर आएको खुसी त छँदै थियो । तैपनि मन लगातार नरेन्द्र सरको दम्पत्तिबाट हट्दै हट्दैन । साँच्चै नेपाल–अङ्ग्रेज युद्धका देशभक्तहरूजस्तै हुन् नरेन्द्र सरहरू । यिनीहरू देशैभर फैलिएका छन् र गाउँमा, यो देशका कुनाकन्दराहरूमा केही उज्याला बत्ती बल्छन् । सहरहरू तिनै उज्याला बत्ती सोहोरेर झलमल्ल हुन्छन् । यी बत्तीहरूमध्ये नरेन्द्र सर बेग्लै बत्ती हुन् । खेतालाहरू राखेर सहरमा थेग्रिने मास्टरहरूभन्दा अलग, आफू जन्मेको गाउँभन्दा पर भाग्न रुचाउने डाक्टरहरूभन्दा बेग्लै उज्याला हुन् । प्रमिथसका अनुगामी । उनी आकाशका ताराहरूजस्तै डाँडाकाँडाहरूमा बल्न रुचाउँछन् । दुर्गम गाउँहरूमा रमाउँछन् । कविता लेख्छन् । आफू बाँचेको समाजलाई केही दिएर मर्नुमा नै जीवन सार्थक हुने ठान्छन् । बागमतीको पानी अहिले त विषालु बनाइसकेको छ काठमाडांैले । उति माछा पनि पाइँदैन । तर त्यहीं पानी ‘लिमिट’मा प्रयोग गरेर आजभोलि उनी खेतमा जीवन फुलाउँछन् । गाउँ झिलिमिली बनाउन उद्यत छन् । नरेन्द्र सरहरू छन् र केही छ यो देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *