भर्खरै :

शारीरिक स्फूर्ति र मित्रताको लागि खेलकुद

भक्तपुर, ११ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ११ गतेदेखि १७ गतेसम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम एक समारोहबीच आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सहिदस्मृति खेल मैदानमा उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा अध्यक्ष बिजुक्छेंले खेलकुद शारीरिक व्यायामको निम्ति मात्र नभई मित्रताको निम्ति पनि भएको बताउनुभयो । खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकास उकास्न मद्दत पुग्ने बताउँदै उहाँले विद्यार्थीहरूमा अनुशासनको विकास हुने बताउनुभयो ।
उहाँले आफूभन्दा कमजोरलाई सिकाउने र अरुबाट पनि सिक्ने भावना अभिवृद्धि गर्नुपर्ने बताउँदै स्वास्थ्यलाई बलियो पार्नमात्र नभई समाजको निम्ति उल्लेखनीय कार्य गर्न पनि खेलुकद प्रतियोगिता आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नेपालको संविधानमा मौलिक हकअन्तर्गत राखिनुपर्ने माग नेपाल मजदुर किसान पार्टीको रहेको बताउँदै खेलाडीहरूलाई उत्साहित गर्न भक्तपुर नगरपालिकाले खेलहरूको प्रशिक्षण र प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले प्रतियोगितामा हार–जितभन्दा पनि खेलाडीहरूको अनुशासन महत्वपूर्ण पक्ष रहेको बताउँदै नेपालको सार्वभौमिकतामा हस्तक्षेप हुँदा त्यसको विरोधमा आवाज उठाउने विद्यार्थीहरू तयार गर्नतिर विद्यालयहरूले सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सदस्य सुरेन्द्रराज गोसाईले खेलकुदलाई जीवनको अभिन्न अ·को रूपमा विकास गर्नुपर्ने र देशलाई अखण्डित बनाइराख्न जागरुक, देशभक्तिपूर्ण भावना भएका नागरिकको खाँचो भएको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो – “समाज तबमात्र सुन्दर हुन्छ जब सुसंस्कृत हुन्छ । खेलकुदविनाको जीवन अपूरो हुन्छ । खेलकुदलाई प्राथमिकतामा राख्नु हरेक स्थानीय सरकारको दायित्व हो ।”
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले युवालाई अगाडि ल्याउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महिला खेलाडीहरूलाई पनि आफ्नो आत्मरक्षाको निम्ति विभिन्न खेलहरूको प्रशिक्षण आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले हरेक व्यक्तिको शारीरिक, मनोवैज्ञानिक र सामाजिक विकासको निम्ति खेलकुद आवश्यक रहेको बताउँदै खेलकुदको विकासको निम्ति भक्तपुर नगरपालिकाको प्रयास उल्लेखनीय रहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले खेल जीवनले विद्यार्थीको व्यक्तित्व विकास र अनुशासनलाई कायम राख्ने र त्यसैमार्फत राष्ट्रलाई चिनाउन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां र वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाले आयोजना गरेको उक्त कार्यक्रममा भक्तपुरका ९२ वटा स्कूलमध्ये ६१ वटा विद्यालयबाट १८१४ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएको नपा स्रोतले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन ¥याली दत्तात्रयबाट भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरूहरूको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *