भर्खरै :

पर्यटक पर्खिरहेछ प्राचीन किचकबध

– चन्द्रकला भण्डारी
भद्रपुर, १२ कार्तिक । झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्ष भन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
विसं २०५९ मा पहिलोपल्ट उत्खनन गर्दा स्वस्तिक चिह्न भएको माटाको इँटाहरु किचकबध स्थलमा फेला परेपछि पुरातत्वविद्हरुले यसलाई ठूलो उपलब्धिको रुपमा लिएका थिए । उत्खननबाट फेला परेको सात कोठे दरबार र दुर्गमा भेटिएका सामानहरु इशा पूर्व २०० तिरको शुङ्ग–कुषाण कालको भएको उत्खननमा संलग्न पुरातत्व विभागका पूर्व वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यसको पूर्वाधार विकासमा सरोकारवालाहरुको ध्यान पुगे किचकबध पूर्वको एक लोकप्रिय गन्तव्य बन्नेमा दुई मत हुन सक्दैन ।
किचकबध स्थलमा रहेको मन्दिरका ६४ वर्षीय पूजारी केशवप्रसाद ढुङ्गानाकाअनुसार महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको हो ।
उहाँका अनुसार विराट राजाका सालो थिए किचक । राजाका दरबारमा पाँच पाण्डवसँगै सुसारेको छद्मभेषमा गुप्तवास बसेकी थिइन् द्रौपदी । द्रौपदीको रुप र यौवनमा लठ्ठिएका किचकले बारम्बार दुव्र्यवहार गर्न थालेपछि गुप्तवासमा भान्से बनेका भीमसेनसँगको सल्लाहमा द्रौपदीले कुनै रात नाट्यशालामा किचकलाई एक्लै बोलाइन् । त्यहाँ आएको मौकामा द्रौपदीको पहिरनमा लुकेर बसेका भीमसेनले किचकलाई मुड्क्याएर मारेको किंबदन्ति छ ।
पूजारी ढुङ्गानाका अनुसार अहिलेको किचकबध स्थल त्यही विराटकालीन नाट्यशाला भएको विश्वास गरिएको छ । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्बर फाँटको बीचमा अग्लो डाँडामा किचकबध स्थल रहेको हुँदा भौगोलिक बनावटका आधारमा समेत यो ठाउँमा पुरानो दरबार हुनसक्ने ठानिएको छ ।
किचकबध स्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुई वटा मूर्ति छन् । वि सं २०३८ मा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।
हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीका अनुसार राजवंशी समुदायका मानिसले किचकबध स्थलको उत्तरी भागमा रहेको पुरानो पोखरीमा विशेष पूजाआजा गर्दैआएका छन् ।
प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुई तले भवनमा प्रहरीको अस्थायी बिट र छाउनी रहेको छ ।
परिसरको पश्चिम भागमा कलात्मक लाग्ने पुरानो दरबार वा कुनै भवनका भग्नावशेषहरु छन् । यस डाँडाको वरिपरि करिब चार फिट चौडा पुरानो पर्खालको भग्नावशेष छ जसलाई किचक दरबार वा नाट्यशालाको सुरक्षा किल्ला हुनसक्ने विश्वास गरिँदै आइएको छ ।
मध्यभागतिर अनेक द्वार, ढल निकास र रङ्गमञ्चजस्तो लाग्ने इँटाका भग्नावशेष फेला परेको छ । यसलाई पुरातत्व विभागले उत्खनन गरेर फेला पारेको हो । यसैलाई विराट राजाको नाट्यशाला भएको विश्वास गरिएको छ । किचकबध स्थलको मिथकलाई पृष्ठपोषण गर्दै साहित्यकार कृष्ण धरावासीले लेख्नुभएको ‘राधा’ उपन्यासले मदन पुरस्कार पाएको थियो ।
“मैले २०६० सालतिर राधा उपन्यास लेख्दा किचकबधकै उत्खननबाट प्रारम्भ गरेको थिएँ,” साहित्यकार धरावासी भन्नुहुन्छ– “महाभारतको कथासँग जोडिएको यस स्थलमा महत्वपूर्ण पुरातात्विक विशेषताहरु पाइएका छन्, तर पनि तीर्थस्थलको रुपमा खासै विकास गर्न सकिएको छैन ।”
किचकबधमा उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरुबारे साहित्यकार धरावासीको भिन्न मत छ । उहाँ ती सबै सामग्री किचक दरबारको नभएर कुनै कोच राजाको दरबारको भग्नावशेष हुनसक्ने धारणा राख्नुहुन्छ । कोच राजाहरुको दरबार भएको पुष्टि भए किचकबधको महत्व नघट्ने उहाँको भनाइ छ । किचकबध हो कि कोच राजाको दरबार हो भन्ने निक्र्योल पुरातत्वविद्हरुले गरिदिनु पर्ने उहाँको सुझाव छ ।
मेची नदीको किनार र मुख्य वस्तीभन्दा टाढा रहेको हुँदा किचकबधमा उत्खननबाट भेटिएका भग्नावशेषहरु जस्ताकोतस्तै जोगाउनसमेत कठिनाइ भइरहेको देखिन्छ । पहिले पृथ्वीनगर गाउँ विकास समितिमा रहेको यो क्षेत्र हाल भद्रपुर नगरपालिकाको वडा नं २ भित्र आएको छ ।
पुराणकालीन महाभारत कथाको किंबदन्ति जोडिएको झापाको महत्वपूर्ण स्थल भएको हुँदा किचकबधलाई पर्यटकीय आकर्षण बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवम् इतिहासविद् चिन्तामणि दाहाल बताउनुहुन्छ ।
“उत्खननबाट किचकबध स्थल पौराणिक र धार्मिक महत्वको रहेछ भनेर पुष्टि भइसक्यो,” किचकबध स्थलका बारेमा खोजी गरिरहनुभएका इतिहासविद् दाहाल भन्नुहुन्छ – “पुरातत्वविद्हरुले यहाँ प्राचीन दरबारको दुई तहको भग्नावशेष भेटिएको बताएका छन् ।”
पर्यटकलाई आकर्षण गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने निर्विवाद छ । भद्रपुर नगरपालिकाले किचकबध स्थलको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने स्थानीयवासीको माग छ । किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष थेबेका अनुसार हालै नेपाल सरकारले यस क्षेत्रको संरक्षणका लागि पठाएको रु. ५० लाखबाट देउनियाँ नदीमा तटबन्धन गरिएको छ ।
समितिले वनभोज स्थल, बाल उद्यान, चिडियाखाना, सामुदायिक भवन, झोलुङ्गे पुल, वृद्धाश्रम, पोखरी संरक्षणलगायतका पूर्वाधार विकासका लागि रु. ५२ करोड ५० लाखको गुरुयोजना तर्जुमा गरेको छ । हरेक वर्ष पुरातत्व विभागले यहाँ उत्खनन गर्र्दै आए पनि केही वर्षयता उत्खनन कार्य रोकिएको छ । उत्खनन किन रोकियो र उत्खनन कहिलेसम्ममा पूरा हुन्छ भन्ने बारेमा कुनै जानकारी सरकारले दिएको छैन ।
भद्रपुर नगरपालिकाले किचकबध स्थललाई पूर्वकै नमुना धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य लिएको नगरका उपप्रमुख चन्द्रा श्रेष्ठ बताउनुहुन्छ ।
पुरातत्व विभाग र नगरपालिकाले आ–आफ्नै ढङ्गले यहाँको संरक्षणका लागि काम गरिरहेको बताउनुहुने उपप्रमुख श्रेष्ठले भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटकीय स्थल पुग्ने सुविधाजनक चक्रपथ निर्माणका लागि रु. ५५ लाख बजेट छुटयाएको जानकारी दिनुभयो ।
सो स्थानको संरक्षणका लागि नगरपालिकाले वर्षेनी रु. ५ लाख बजेट प्रदान गर्दैआएको छ तर, यो बजेट किचकबध स्थलको पूर्वाधार विकास र संरक्षणमा अपर्याप्त देखिन्छ ।
पुरातात्विक एवं धार्मिक महत्व बोकेको किचकबध स्थल चन्द्रगढी विमानस्थलबाट समेत नजिक भएका कारण यसको उचित संरक्षण र प्रचार गर्न सकिए आन्तरिक मात्र नभएर बाह्य पर्यटकसमेत आकर्षित हुनेमा सन्देह छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *