भर्खरै :

सुकुम्बासी भन्दै जग्गा कब्जा

भजनी, १५ कात्तिक ः कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयवासीको जग्गा कब्जा गरेको छ ।
स्थानीयवासी गोविन्द श्रेष्ठको पाँच बिघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, कालीकोट, दैलेख, सुर्खेतलगायत ठाउँबाट आएको बताउने करीब २०० जनाले त्यहाँ टहरा निर्माण गरेका हुन् । तत्कालीन नेकपा माओवादीले द्वन्द्वकालमा कब्जा गरेको उक्त जग्गामा सुकुम्बासीले टहरा निर्माण गर्न थालेपछि स्थानीयवासीले विरोध गरेका छन् ।
कालीकोट, पलाँता गाउँपालिका–२ धौलागाहाका काशीराम विश्वकर्माले आफूसँग एक धुर जग्गा पनि नभएपछि राज्यलाई दवाव दिन जग्गा कब्जा गरिएको बताउनुभयो । ऐलानी जग्गा भएको थाहा पाएपछि आफूहरु टहरा निर्माण गर्न आएको बाजुरा घर बताउने गणेश तिरुवाले बताउनुभयो । सुकुम्बासीले उक्त जग्गा ऐलानी बताए पनि स्थानीयवासीका अनुसार सरकारी हो ।
टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा अतिक्रमण गरी बसोबास गर्दै आएका जयश्वर सार्कीको नेतृत्वमा उक्त जग्गा कब्जा गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले श्रेष्ठको जग्गामा आफूलाई सुकुम्बासी बताउने केही व्यक्तिले त्रिपाल टाँगेर कब्जा गरेको जानकारी दिनुभयो ।
“केही व्यक्तिले त्रिपाल टाँगेर जग्गा कब्जा गर्न खोजेका छन्”, उपरीक्षक सिंहले भन्नुभयो, “हामीले उनीहरुलाई आफ्नो ठाउँमा फर्कन भनेका छौँ ।”
बुधबार रातिदेखि बसेका सुकुम्बासीलाई हटाई आज स्थानीयवासीले सो क्षेत्र खाली गराएका छन् भने उनीहरुले लगाएको त्रिपालसमेत स्थानीयवासीले आफ्नो कब्जामा लिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जग्गा कब्जा गराएको हल्ला भएपछि नेपाल कम्युनिष्ट पार्टी एरिया नं ८ ले विज्ञप्तिमार्फत सो जग्गा कब्जा गर्न र सुुकुम्बासी बसाल्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *