भर्खरै :

महानगरपालिकामा भवन अभाव, सेवाग्राही मर्कामा

–सञ्चिता घिमिरे
ललितपुर, १५ कार्तिक । महिला तथा बालबालिका कार्यालयबाट काज सरुवा भएर ललितपुर महानगरपालिकामा आएका पाँच जना कर्मचारी अहिले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष बाहिर बसेका छन् ।
जिल्लास्थित विषयगत कार्यालयले दिने सेवा स्थानीय सरकारले दिने भएपछि अरू कार्यालय जसरी नै यहाँका कर्मचारी महानगरपालिकामा आएका छन् । तर महानगरपालिकाले काज सरुवामा आएका कर्मचारीका लागि कोठा र टेबुल कुर्सीको व्यवस्थापन गर्न सकिरहेको छैन । भौतिक पूर्वाधारको अपर्याप्तताका कारण थप कर्मचारी महानगरपालिकाले लिएको छैन । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भन्नुभयो, ‘पहिले यहाँ भएका कर्मचारीको व्यवस्थापन गरेर नै थप कर्मचारी ल्याउने उद्देश्य छ ।’
महानगरपालिकामा अहिले भवन र भौतिक सम्पत्ति दुवैको अभाव रहेको बताउँदै उहाँले कर्मचारीलाई व्यवस्थापन गर्न र सेवाग्राहीलाई सेवा दिन दुवैका लागि पर्याप्त पूर्वाधार महानगरपालिकासँग छैन भन्नुभयो ।
महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालमा सामुदायिक शाखा भवन र पुल्चोकमा अहिले दमकल रहेको भवनमात्र छ । यसले मात्रै कर्मचारीका लागि नपुग्ने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सक्दो चाँडो नै भौतिक पूर्वाधारको विकास गर्न खाँचो छ ।’
महानगरपालिकाभन्दा केही पर रहेको हालको दमकल कार्यालयको भवन विस्तार गर्ने योजना रहेको पनि प्रवक्ता महर्जनले बताउनुभयो । यो कार्यालयलाई विस्तार गरेर त्यहाँ विपद् व्यवस्थापन शाखा सार्ने योजना छ । उहाँले भन्नुभयो, ‘एकातिर शाखा सरेपछि विपत्सम्बन्धी सबै काम एकैतिर हुन्छ भने मुख्य भवनको चाप कम हुनेछ ।’
भुइँतलामा अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको प्रतीक्षालयमा अहिले शिक्षा कार्यालयबाट आएका कर्मचारी बसेर सेवा दिइरहेका छन् । कानुन शाखा र सहकारी शाखाले पनि भुइँतलाबाट नै सेवा प्रवाह गरिरहेको छ । जिल्लामा रहेका विकासे कार्यालयले कर्मचारी पठाउँदासँगै भवन र भौतिक सम्पत्ति हस्तान्तरण नगर्दा स्थान र आवश्यक सामग्रीको अभाव भएको हो ।
जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालयलगायत कार्यालयसँग ठूला भवन छन् । ती भवन कुन सरकारले लिने भन्ने निर्णय हुन सकेको छैन । अहिले भइरहेका भवन महानगरपालिकालाई दिंदा दैनिक कार्यसम्पादन गर्न सहज हुने उहाँको धारणा छ । प्रवक्ता महर्जनले भन्नुभयो, ‘‘अहिले हामीले मुस्किलले काम चलाइरहेका छौं ।’’
सङ्घले केन्द्रमा कर्मचारी समायोजन गरिनसकेकोले अहिलेसम्म महानगरपालिकाले पनि कर्मचारी संरचना (ओडी) तयार गरेको छैन । सङ्घको समायोजनपछि त्यसैका आधारमा संरचना तयार हुने उहाँले बताउनुभयो ।
दरबन्दीका आधारमा कति कोठा र कति भौतिक सम्पत्ति थप गर्नुपर्छ भन्ने टुङ्गो लाग्नेछ । तत्कालका लागि समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयसँग महानगरपालिकाले संवाद गरिरहेको छ । प्रवक्ता महर्जनले भन्नुभयो, ‘‘खाली भएका एक/दुई वटा भवन महानगरपालिकाले पाउँदा पनि सहज हुन्छ ।’’
महानगरपालिकाका धेरै वडाका आफ्नो भवन छैन । भवन नहुँदा वडा कार्यालय भाडाका भवनमा सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *