भर्खरै :

कम्युनिष्ट घोषणापत्रबारे विमर्श गर्दै शिक्षक सम्मेलन सम्पन्न

भक्तपुर, १८ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको राष्ट्रिय सम्मेलन ‘कम्युनिष्ट घोषणापत्र’, ‘माक्र्सवादका सिद्धान्तहरू’ लगायत महत्वपूर्ण विषयमा प्रशिक्षणका साथै नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ ।
बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शिक्षकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे अद्यावधिक भइरहन सुझाव दिनुहुँदै पछिल्लो समयमा भारतले सार्क राष्ट्रमध्येको पाकिस्तानलाई एक्ल्याई दक्षिणी राष्ट्रहरूलाई आफ्नो सुरक्षा छाताभित्र राख्न बिम्स्टेकलाई उपयोग गरेकोमा हामी सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
बिम्स्टेककै सिलसिलामा भारतले दक्षिणी देशहरूबीच संयुक्त सैनिक अभ्यासको प्रस्ताव राख्दा नेपाल मजदुर किसान पार्टीले सुरूमै त्यसको विरूद्ध आफ्नो मत सार्वजनिक गरेको थियो भने अन्ततः संयुक्त सैनिक अभ्यासमा नेपाली सेना पठाउने निर्णय सरकारले फिर्ता लिएको थियो । नेपाली सेनाको अनुपस्थितिलाई लिएर भारतीय सेनापतिले नेपालको सार्वभौमिकताविपरीत नेपाल भारतीय मुठीबाट बाहिर जान नसक्ने विचार सार्वजनिक गरेको थियो ।
बन्द सत्रमा पार्टीका सचिव प्रेम सुवालको अध्यक्षतामा प्रदेश नं. ३ का सभासद् सृजना सैंजू र नेपाल प्राध्यापक समाजका धनकुमार श्रेष्ठको अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डलले सर्वसम्मतिबाट ज्ञानसागर प्रजापतिको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन ग¥यो । केन्द्रीय समितिमा उपाध्यक्ष नरदीप शाही, सचिव मनोज दाहाल, सहसचिव जगन्नाथ सुजखू र कोषाध्यक्ष चक्रबहादुर चाकतूलगायत शिक्षकहरू रहनुभएको छ ।
नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरूलाई विधानअनुसार सपथग्रहण गराउनुहुँदै अध्यक्ष मण्डलका अध्यक्ष सुवालले शिक्षकहरूले भौतिकवादी र विज्ञानसम्मत शिक्षालाई जोड दिनुपर्ने र अन्धविश्वासको खण्डन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसअघि बन्द सत्रमा प्रदेश सभासद् सृजना सैंजूले अमेरिकाले चीनविरुद्ध थोपेको ‘व्यापार युद्ध’ को बारेमा र नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले तिब्बत भ्रमण गर्दाका अनुभवहरू सुनाउनुभएको थियो ।
शनिबार भएको बन्दसत्रमा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले ‘माक्र्सवादका सिद्धान्त’ र पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईंले ‘कम्युनिष्ट घोषणापत्र’ को विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
त्यस्तै अर्का वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले ‘१९ औं शताब्दीमा यूरोपको अवस्था’बारे चित्रण गर्नुभएको थियो भने नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले ‘पेरिस कम्युन’ बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
बन्द सत्रले अध्यक्ष ज्ञानसागर प्रजापतिद्वारा प्रस्तुत केन्द्रीय समितिको प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित ग¥यो भने शिक्षक सङ्घको विधान संशोधन समितिका पुरूषोत्तम ग्वाछाद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव पनि पारित ग¥यो । यस अघिको विधानमा प्रदेशको कुनै प्रावधान नभएको हुँदा अबको विधानमा प्रदेश समितिको पनि व्यवस्था गरिएको छ ।
बन्द सत्रमा विभिन्न जिल्लाका जिल्लाध्यक्षहरूले आ–आफ्नो जिल्ला समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
बन्द सत्रले विभिन्न १४ वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गर्नुका साथै सङ्घको भावी नीति तथा कार्यक्रमहरू पनि पारित गरेको छ ।
यसअघि कार्तिक १६ गतेको बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले देशको समसामयिक राजनीतिक स्थितिमाथि प्रकाश पार्नुभएको थियो । नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश श्रेष्ठले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ र सोही समाजका सदस्य रूपक जोशीले ‘इङ्गल्याण्डमा श्रमजीवी वर्गको अवस्था’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *