भर्खरै :

सिपाडोल–नंखेलमा किसानको जुुलुस, सङ्घर्ष समिति गठन

भक्तपुर, १७ कार्तिक । सूर्यविनायक नपा वडा नं १० को भकारीमूलबाट स्थानीय जनताको व्यापक विरोधपश्चात् सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने प्रस्ताव खारेज भएसँगै सूर्यविनायक नपाकै वडा नं ८ र ९ मा पर्ने तौडोलमा बनाउन प्रस्तावप्रति प्रारम्भिक चरणमै स्थानीय जनता तथा किसानहरूले विरोध जनाएका छन् ।
स्थानीय जनतालाई उठीबास गर्ने र स्थानीय किसानलाई जग्गाबाट वञ्चित गर्ने सो प्रस्तावको विरोधमा आइतबार किसानहरूले विरोध जुलुस गरेका हुन् । उनीहरूले रङ्गशाला चाहिंदैन, बस्ती उठाउन पाइँदैन ! खेतीयोग्य जमिन म्हास्न पाइँदैन ! किसानमारा मुर्दावादजस्ता नारा लगाएका थिए ।
सो क्रममा आयोजित विरोध सभामा स्थानीय किसान प्रतिनिधि हरिकृष्ण दनेगुलूले जनतालाई आफ्नो हरूवाचरूवाजस्तै व्यवहार गर्ने सामन्ती सोचका शासक दलका नेताहरूले स्थानीय जनतासँग एक शब्द पनि नसोधी मनपरी रङ्गशाला बनाउन खोजेको बताउनुभयो ।
उहाँले किसानहरूको सङ्घर्षले भूमाफिया र शासक दलका नेताहरूलाई पराजीत गर्ने बताउनुभयो ।
बाबुकाजी कासुलाले भूमाफियाकै चङ्गुलमा फसेर शासक दलले किसानलाई आफूले जोत्दै–खन्दै आएको जमिनबाट वञ्चित गर्न खोजिरहेको बताउनुभयो ।
आइतबार आयोजित स्थानीय जनता र किसानहरूको भेलाले हरिकृष्ण दनेगुलूको अध्यक्षतामा सङ्घर्ष समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *