भर्खरै :

जनताको सेवा राजनीतिको आजु

भक्तपुर, १८ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. ५ समितिको आयोजनामा शैक्षिक सत्र २०७४/७५ मा प्लस टुदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण ५ वडाका विद्यार्थीहरूको बधाईज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बधाइ प्राप्त गर्ने विद्यार्थीहरूलाई निर्देशन दिंदै भन्नुभयो, ‘‘युवा–विद्यार्थीहरूले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको सेवामा लाग्न सकेमात्र देशको भविष्य उज्ज्वल हुनेछ ।’’
जनताको सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुने बताउँदै उहाँले विद्यार्थीहरूको शैक्षिक तथा खेलकुद विकासको लागि भनपाले नियमितरूपमा खेलकुद प्रतियोगिताहरू गर्दै आएको उल्लेख गर्नुभयो ।
संरा अमेरिकी साम्राज्यवादले विश्वका न्यायप्रेमी जनतालाई र भारतीय विस्तारवादले नेपाली जनतालाई थिचोमिचो गरिरहेको स्पष्ट पार्दै मेयर प्रजापतिले नयाँ पुस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट सुसूचित हुनु आवश्यक छ भन्नुभयो ।
ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले सबै बुद्धिजीवीहरूले देशको हित नगर्ने हुँदा बुद्धिजीवीहरू कसबाट परिचालित छ भन्ने जानकारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नवउदारवादले देशको सार्वभौमिकतालाई समाप्त पार्ने उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुरको शैक्षिक विकासमा नेमकिपाका अग्रज कार्यकर्ताहरूको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
नेमकिपा ५ नं वडा समितिका अध्यक्ष नारायणप्रसाद त्वानावासूको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, भनपा कार्यपालिका सदस्य सरिना द्योला, आयोजक समितिका संयोजक विमल भोयद्यो, प्रशन्न दिदिया, रोनिश माकले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *