भर्खरै :

पर्यटकीयस्थल बन्यो ज्यामीरे दह

–रीता लामा
घोराही, १९ कात्तिक : घोराहीमा कुवा, जरुवा र टयुबवेलको पानी सुक्दै गएको र सिंचाइको अभावमा आकाशे पानीका भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी व्यहोर्नु परेको जस्ता गुनासा स्थानीय जनताबाट अत्यधिक आउन थाले । बजार क्षेत्र भएको हुँदा जनसङ्ख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र आसपासका क्षेत्र केही वर्षभित्रै मरुभूमि हुने सङ्केत देखिन थाल्यो ।
विसं २०७१ मा तत्कालीन घोराही नगरपालिकाका कार्यकारी प्रमुख तुफानसिंह केसीेले एउटा उपाय निकाल्नुभयो, वर्षात्मा तीन महीनासम्म लगातार आउने आकाशेपानीको सङ्कलन गरी हिउँदमा सिंचाइ गर्ने । सोहीअनुरुप घोराहीका केही स्थानमा वर्षात्को पानी सङ्कलन गर्नका लागि खाल्डा खनियो । सबैभन्दा पहिले घोराही –१३ मा रहेको ज्यामीरेमा रहेको पुरानो सिमसार क्षेत्रलाई पोखरी बनाई ठूलो भागमा फैलाइयो र वर्षात्मा जति पानी परे पनि अटाउन सक्ने बनाइयो ।
उक्त तालमा वर्षात्को पानी जम्मा मात्र भएन त्यसमा माछाका भुरा छाडियो र माछा मार्नका लागि ढुङ्गाको व्यवस्थासमेत गरियो तर अहिले उक्त स्थान पानी सिंचाइका लागि मात्र होइन, माछापालनसँगै एउटा जिल्लाकै नमूना पर्यटकीस्थल बनेको छ । पोखरी निर्माण गरिएको छोटो समयभित्रै त्यहाँ घुम्न जानेको ताँती लाग्न थालेको छ ।
घोराही बजारबाट करीब ५ किलोमिटर दूरीमा रहेको ज्यामीरे दह जङ्गलको बीचमा पर्छ । दहसम्मै अझै पनि सवारी चल्ने बाटो पुग्न सकेको छैन । करीब आधा घण्टा पैदल हिँड्नुपर्छ तर दहमा तस्वीर खिंच्न र ढुङ्गा चढ्न भने दिनहुँजसो आन्तरिक पर्यटक जाने गरेका छन् । कृत्रिम तालकै कारण उक्त क्षेत्र निकै मनोरम र सुन्दर छ । जङ्गलका बीचमा भएका कारण चराचुरुङ्गीको चिरबिर आवाजले त्यहाँ जाने जो कोहीलाई मोहित पार्छ ।
यस क्षेत्रका मानिस दैनिकजसो ज्यामिरेमा पुगेर तस्वीर खिंचेको दृष्य फेसबुकमा देख्न पाइन्छ । विशेषगरी विद्यार्थी, विदेशबाट गाउँ फर्केका, कर्मचारी र व्यवसायी विदाको मौका पारेर ज्यामिरेमा सपरिवार पुग्ने गरेको ताल संरक्षण गरिरहेको ज्यामिरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दयाजी रोका बताउनुहुन्छ । यहाँका बासिन्दाले ज्यामिरेलाई अहिले सानो रारा वा राराको शाखा भनेर नाम दिन थालेको उहाँको भनाइ छ ।
कृत्रिम ताल पर्यटकीयस्थल बनेपछि त्यहाँका बासिन्दाको राम्रो आम्दानीको स्रोत पनि ताल बनेको हुँदा आफूहरुले तालको थप सुधारका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो । सिंचाइ र पर्यावरण जोगाउनका लागि मात्र नभई अहिले ताल राम्रो पर्यटकीयस्थल बनेको उहाँको भनाइ छ ।
नामको चर्चा
युगौंँदेखि प्राकृतिक रहे पनि यो ताल पछिल्लो समयमा पुरिँदै गएर निकै सानो ठाउँमा सीमित थियो । दुई वर्षअघि मात्रै तत्कालीन घोराही नगरपालिकाको अग्रसरतामा तालले पुनर्जीवन पाएको हो । ‘ज्यामुर’ शब्दबाट ज्यामिरे भएको तर्कलाई स्थानीय संरक्षणकर्मी बलियो मान्छन् । ताल निर्माण समितिका अध्यक्ष रहेर लामो समय काम गर्नुभएका घोराही–१३ का वडा सदस्य केशव गिरीका अनुसार मगर खाम भाषाको ‘ज्यामुर’बाट ज्यामीरे तालको नाम रहन गएको हो जसको अर्थ छिपछिपे हिलो वा सिमसार क्षेत्र हुन्छ । उहाँका अनुसार खाम मगभाषी भेडी गोठालाहरुले तालमाथिको मौलाकोटमा जग्गा किनेर भेडा राख्ने गरेका थिए । उनीहरुले भेडालाई पानी खुवाउन त्यही तालमा ल्याउने गरेका थिए । भेडीगोठालाहरुले नै यो ताल (यद्यपि त्यतिबेला यति ठूलो ताल थिएन)लाई ‘ज्यामुर’भन्दा ज्यामिरे भएको गिरीको तर्क छ ।
एक हजार १५ मिटर लम्बाइ, २५ देखि ३० मिटर गहिराइ र ५० देखि १५० मिटर चौडाइमा यो ताल फैलिएको छ । तालमा अहिले ३५ हजार करोड लिटर पानी सञ्चित छ । यसबाट निस्कने पानीले तीन वडाका बासिन्दाले सिंँचाइ सुविधा पाएका छन् भने डुङ्गा राखेर पर्यटन प्रवद्र्धनको काम पनि अघि बढाइएको छ । लाइफ ज्याकेट लगाएर डुङ्गा चढ्ने अचेल लहर नै चलेको छ ।
आर्थिक बर्ष २०७२ । ०७३ मा तत्कालीन घोराही नगरपालिकाको रु ३५ लाख, केन्द्र सरकारले नगरपालिकालाई पुरस्कार दिएको रु ५० लाख र स्थानीयवासीको रु १५ लाख जनश्रम गरी रु एक करोडमा ताल पुनःनिर्माण गरिएको हो । गत आर्थिक बर्षमा पनि रु ५५ लाख खर्च गरेर काम भएको थियो भने अहिले सङ्घीय सरकारले सशर्त अनुदानतर्फ ताल संरक्षणका लागि बजेट पठाएको छ । त्यसो त बाह्रकुने, ज्यामीरे र मौलाकोटलाई जोड्न प्रदेश सरकारले पनि रु दुई करोड बजेट पनि छुट्याएको छ ।
उपमहानगरले अहिले घोराहीको ज्यामीरे मात्रै नभएर वडा नम्वर १७ का ढिकपुर र गुलरिया, वडा नम्वर १६ को गंगटे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माण गरेको उपमहानगरका इञ्जिनीयर रामधन श्रेष्ठ बताउनुहन्छ । उहाँका अनुसार वडा नम्बर १८ का गिठेपानी र सल्लाघारी, वडा नम्बर १२ को सिस्नेरीगटे, वडा नम्बर १८का सल्लाघारी, डबरीलगायत करीब १२ स्थानमा कृत्रिम जलाशय निर्माण गरिएको छ । साथै पुराना पोखरीलाई थप निर्माण तथा मर्मत गरी सिँचाइका लागि पानी प्रशस्त बनाइएको उहाँको भनाइ छ ।
ज्यामीर अहिले पर्यटकीयस्थल बन्दै गइरहेको छ । नयाँ बनाइएको जलाशयमा स्थानीयवासीले सिंचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । “सिंचाइ, व्यावसायिक टुरिज्म, माछापालन, हाँसपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो “मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो ।” गाउँमा रहेका कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *