भर्खरै :

“नयाँ पुस्ता विदेशको ज्ञान र प्रविधि सिकेर स्वदेश फर्कनुपर्छ”

भक्तपुर, २० कार्तिक । इन्जिनियर्स समाज नेपालको आयोजनामा कार्तिक ८ देखि २० गतेसम्म सम्पन्न विभिन्न विषयका सफ्टेवयरहरूको तालिमको कार्यक्रमको समापन तथा प्रमाण–पत्र वितरण मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिले देशमा युवाहरू विदेश पलायन हुने समस्या बढेको प्रति चिन्ता व्यक्त गर्दै इन्जिनियरिङ क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्ने नयाँ पुस्ताले विदेशको ज्ञान र प्रविधि सिकेर स्वदेश फर्कनुपर्ने बताउनुभयो ।
विकसित देशहरूमा वृद्धवृद्धाहरूको हेरचाहको लागि आधुनिक प्रविधियुक्त आदर निकेतन केन्द्रहरू बन्दै गरेको अवस्थामा नेपालमा पनि आदर निकेतन केन्द्रहरू खोल्नुपर्ने र अग्रजहरूलाई ध्यान दिएर भवन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आफूले सिकेको ज्ञान र अनुभवलाई देश र जनताको सेवाको निम्ति लगाउनुपर्नेमा जोड दिंदै उहाँले इन्जिनियरहरू राजनीतिमा अगाडि बढेका देशहरू छिटो विकास भएको बताउनुभयो । सन् २०५० सम्ममा चीन संसारको अग्रस्थानमा आउने सत्य अमेरिकी वालस्ट्रीटको तथ्याङ्कले पनि देखाएको उल्लेख गर्दै उहाँले चिनियाँ प्रविधि र उत्पादनले सबै देशलाई मद्दत पुगिरहेको बताउनुभयो ।
कार्यक्रममा जियो स्पाशियल प्रविधिअन्तर्गत GIS सफ्टवेयरका प्रशिक्षक हरिकृष्ण ध्वँजूले हाल नेपालको कृषि क्षेत्रमा किसानहरूलाई बालीनालीसम्बन्धी जानकारी दिलाउन स्मार्ट एप्लिकेसनको निर्माण तथा अध्ययन अनुसन्धानहरू भइरहेको जानकारी गराउनुभयो । अनुसन्धानको लागि सम्बन्धित निकायहरूबाट समयमै आवश्यक जानकारी र सहयोग नहुँदा नयाँप्रविधि भित्र्याउन तथा अनुसन्धान गर्न अप्ठ्यारो हुने गरेको उहाँले बताउनुभयो ।
इन्जिनियर्स समाज नेपालका अध्यक्ष ई. रवीन्द्र फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा AutoCAD, SAP, GIS / Rabit Architecture को तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा समाजका सदस्य ई. जीवन कोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *