भर्खरै :

अक्टोवर क्रान्तिको सम्झना

भक्तपुर, २२ कार्तिक । नेपाल संवत् ११३९ तथा शुभ दीपावली २०७५ को अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ वडा एकाइ समितिको आयोजनामा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले काम गरी खाने मजदुर वर्गको हकाहितको लागि मजदुर सङ्घ क्रियाशील रहेको बताउनुभयो । उहाँले आजभन्दा ७० वर्ष अगाडि तत्कालीन सोभियत सङ्घमा भएको अक्टोबर क्रान्तिले पुँजीवादी व्यवस्थाले सय वर्षमा गर्न नसकेको विकास ३० वर्षमा गरेको हुँदा समाजवादी व्यवस्था कामदार वर्गको लागि अपरिहार्य छ भन्नुभयो ।
आजभन्दा दुई सय वर्ष अगाडि जर्मनीमा जन्मेका कालमाक्र्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तअनुसार शोषित मजदुर वर्गले शोषणबाट मुक्ति पाउन एकजुट भई सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेपालको वर्तमान सरकार दुईतिहाइ कम्युनिष्टको सरकार भनिए तापनि व्यवहारमा पुँजीपति वर्गकै सेवा भइरहेको हुँदा यो सरकारले शोषित वर्गको हित नगर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले सहरमा अत्यधिक जनसङ्ख्या वृद्धिको कारण भौतिक पूर्वाधारलगायत खानेपानीको बन्दोबस्त गर्न सहरको उद्योग गाउँमा स्थानान्तरण गरी स्वदेशमै रोजगारीको अवस्था सृजना गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष विष्णुराम दुमरुले किसानहरू विस्तारै मजदुरमा परिणत भइरहेको अवस्थामा नेपालीहरूलाई रोजगारीको ग्यारेन्टी गर्न वर्कपरमिट लागू गर्नुपर्ने बताउनुभयो ।
विदेशी कामदारसँग प्रतिस्पर्धा गर्न जहिले पनि आफूलाई सक्षम बनाउनुपर्ने चर्चा गर्दै उहाँले नेमकिपाले मोहीयानी हकको आन्दोलन नगरेको भए अहिले मुक्त कमैयाको जस्तो दर्दनाक अवस्था हुने भएकोले हामीले सङ्घर्षशील भावनालाई त्याग्न नहुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ का अध्यक्ष पुरुषोत्तम जाकिबञ्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डकर्मी लक्ष्मीसुन्दर कर्माचार्य र पञ्चरत्न सैंजुले पनि बोल्नुभएको थियो । भक्तपुर नगरपालिका वडा नं ४ का सदस्य राजेन्द्र माकले भनपाको विभिन्न गतिविधिबारे स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *