भर्खरै :

भाषा र संस्कृतिमा विभेद गलत

काठमाडांै, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा नेपाल सम्बत ११३९, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाल भाषाको प्रचलित लिपि बारेमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले राजनीति र संस्कृति अलग अलग हुन नसक्ने बताउँदै राजनीति राम्रो भए मात्रै संस्कृति राम्रो बन्ने र जनताको सांस्कृतिक स्तरमाथि उठ्ने बताउनुभयो ।
उहाँले संविधानमा उल्लेखित मौलिक हक र अधिकारअनुसार सबै जातजातिले आ–आफ्नो भाषा कला र साहित्यको उत्थान गर्न पाउने बताउनुभयो ।
“तर सरकारमा गएका राजनीतिक दलहरूले देशका सबै भाषा, संस्कृति र समुदायका मानिसलाई समान व्यवहार गरिरहेको छैन ।”, उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले देशमा बोलिने कुनै पनि भाषा वा लिपि सम्पूर्ण देशबासीको सम्पत्ति भएकाले तिनको संरक्षणमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले वर्गीय असमानताको हलसँगै भाषिक र जातीय उत्पीडनको पनि हल हुने भएकाले वर्गीय आन्दोलनलाई प्राथमिकता दिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजवीर डंगोल, नेमकिपा टोखा नगर समितिका सचिव शैलेश डंगोल, सदस्य वीरबहादुर डंगोल, मदन श्रेष्ठ, काशिलाल डंगोल, सानुबाबु श्रेष्ठ, रमेश डंगोल र रोजी डंगोलले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेमकिपा टोखा नगर समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *