भर्खरै :

खेतीयोग्य जमिन जोगाउन किसान सडकमा

भक्तपुर, २५ कार्तिक । चाँगुनारायण नपा वडा नं ९ र सूर्यविनायक नपा वडा नं ९ र १० का स्थानीय किसान र जनताको व्यापक विरोधपछि सूर्यविनायक नपा वडा नं ८ र ९ को तेडोलमा ‘अन्तर्राष्ट्रिय रङ्गशाला’ बनाउने युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावप्रति त्यहाँका जनता तथा किसानहरूले विरोध गरेका छन् । उनीहरूले प्रस्तावित रङ्गशाला सो स्थानमा राख्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने भएका छन् ।
आइतबार स्थानीय सिपाडोल र नङ्खेलका किसानहरूले नन्दिकेशर महादेवस्थानमा भेला भई सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपत्यका विकास प्राधिकरण भक्तपुरमा प्रस्तावित रङ्गशालाको विरोधमा गरिएको हस्ताक्षर सङ्कलनसहित आइतबार विरोधपत्र बुझाएका छन् । विरोधपत्र बुझाउन जाने क्रममा सयौं सर्वसाधारण सहभागी जुलुसमा ‘रङ्गशाला चाहिंदैन, खेतीयोग्य जमिन म्हास्न पाइँदैन’, ‘किसानमारा प्रस्ताव मुर्दावाद’, ‘पीडित किसान एक होऔं’ ‘विकासको नाउँमा विनास चाहिँदैन’ आदि नारा लगाइएको थियो ।
विरोधपत्र बुझाउनु अघि भएको सभामा सङ्घर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूले भक्तपुर जिल्लामा रङ्गशालाको सट्टा खेतीयोग्य जग्गा जमिनलाई आधुनिक कृषि क्षेत्र निर्माण गर्ने गरी स्मार्ट कृषि क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
रङ्गशाला बनाउने नाममा जनतालाई विस्थापित गर्ने षड्यन्त्र रचेको स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय रङ्गशाला काठमाडौं उपत्यका बाहिर बनाई विकासलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सभामा सङ्घर्ष समितिका सदस्य अमृत कासुलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *