भर्खरै :

छालाको क्यान्सर

 डा. जयनमान श्रेष्ठ
सामान्य अवस्थामा शरीरका विभिन्न अ·हरूका पुराना कोशिकाहरू विलय वा विभाजित भएर नयाँ कोशिकाहरूको जन्म हुन्छ । छालाको पुरानो बाहिरी पत्र पनि नयाँ कोशिकाबाट बनेको पत्रले बिस्थापित गर्दै लैजानु स्वाभाविक तथा प्राकृतिक प्रक्रिया हो । तर यी कोशिकाहरू कुनै कारणवस अनियन्त्रित वा अस्वाभाविक रुपमा वृद्धि हुने र नयाँ डल्लो वा घाउ हुने अवस्थालाई क्यान्सर भनिन्छ । छालामा हुने यस्ता क्यान्सर मुख्यतया तीन प्रकारका छन् । बसाल सेल कासिर्नोमा (Basal Cell Carcinoma ) र स्क्वामस सेल कासिर्नोमा (Squamous Cell Carcinoma ) छालाको दुई भिन्न पत्रको कोशिकाहरूबाट बन्ने क्यान्सरहरू हुन् भने मेलानोमा (Melanoma) भनेको छालाको रङ्ग बनाउने कोशिका अथवा कोठीबाट बन्ने क्यान्सर हो ।
अरु विभिन्न क्यान्सरजस्तै छालाको क्यान्सर पनि संसारभरि नै बढ्दै गइरहेको अवस्था छ । विश्वमा हरेक वर्षमा लगभग ३० लाख छालाको क्यान्सरका नयाँ बिरामीहरू पत्ता लागेको हुन्छ । छालाको क्यान्सर धेरैजसो पश्चिमी मुलुक, अमेरिका तथा अष्टे«लियामा बढी भएको पाइन्छ । जसको कारण त्यहाँका मानिसहरूको छाला बढी गोरो हुनु र समुद्री किनारमा घाममा धेरै समय बिताउने प्रचलन भएर हो । कम गोरो भएकाले एसियन मूलका मानिसहरूमा छालाको क्यान्सर पश्चिमाहरूको तुलनामा कम नै देखिन्छन् तर अत्यधिक घाममा बिताएको खण्डमा जुनसुकै छालाको प्रकार भएको मानिसमा पनि क्यान्सर हुनसक्ने सम्भावना रहन्छ ।
छालाको क्यान्सर मानिसहरूको उमेर बढेको अनुपातसँगै बढ्दै जान्छ । किनकि उमेर सँगसँगै घामको किरणबाट हुने नकारात्मक असर जम्मा हुँदै जान्छ र यसले क्यान्सर बनाउने सम्भावना पनि बढाइरहेको हुन्छ । उमेर बढेसँगै छालामा विभिन्न समस्याहरू जस्तै डल्लो दाग तथा धब्बा आदि देखिन थाल्छन् । जुन घाममा धेरै समय बिताउँदा झनै बढेको पाइन्छ । घामबाट जोगाएको खण्डमा घामको किरणबाट हुने नराम्रो असर कम हुँदै जान्छ र यस्तो डल्लो, दाग वा धब्बाहरू पनि कम हुँदै जान्छन् । यी आफै कम हुँदै जाने डल्लो, दाग वा धब्बाहरू सामान्य खालको छालाका समस्याहरू हुन् र यसरी घट्ने बढ्ने प्रक्रिया पनि सामान्य प्रक्रियाहरूमात्रै हुन् । तर यस्ता डल्लो, दाग वा धब्बाहरू पर्याप्त उपचारबाट पनि हराएन, आकार प्रकार झन् झन् बढ्दै गयो, घाउ निको भएन, चिलाउने बढ्दै गयो, रगत बग्न थाल्यो भने यी असामान्य लक्षणहरू हुन्, जुन छालाको क्यान्सर पनि हुनसक्छ । यस्ता लक्षणहरू भएको शड्ढा लागेमा सम्बन्धित चिकित्सकलाई देखाएर चाँडो निदान तथा उपचार गर्न जरुरी हुन्छ । सुरुकै अवस्थामा पत्ता लागेको खण्डमा उचित उपचारबाट यसलाई पूर्ण रुपमा निको पार्न पनि सकिन्छ ।

डा. जयनमान श्रेष्ठ


छालाको क्यान्सरका कारणहरू केके हुन् ?
घाममा लामो समयसम्म बस्दा घामको किरणबाट हुने जोखिम नै छालाको क्यान्सर हुनुको मुख्य कारण हो । घामको किरणमा पाइने अल्ट्राभायलेट (Ultraviolet) किरणले कोशिकाहरूलाई अनावश्यक वृद्धि गराएर क्यान्सर बन्न मद्दत गर्छ । घामको कारणले छालाको क्यान्सर गराउन सक्ने भूमिका वा क्षमता कति छ भन्ने कुरा कति लामो समयसम्म यसको जोखिममा बस्यो, घामबाट जोगाउने उपायहरू गरियो कि गरिएन अथवा कस्तो प्रकारको छालाको बनौट हो आदिमा भरपर्छ । छालाको र· दिने मेलानिन भनिने पदार्थले सूर्यको अल्ट्राभायलेट किरणलाई छेक्छ र यसको असरलाई कम गर्छ । यसर्थ गाढा र·को छाला भएको मानिसहरूको तुलनामा गोरो वा गहुँगोरो छाला भएको मानिसमा घामको कारणले क्यान्सर हुने सम्भावना बढी हुन्छ । छालाको क्यान्सर हुने केही उच्च जोखिमहरू पनि छन् जुन भएमा सुरुमै सतर्क भएर क्यान्सर हुनबाट जोगिन जरुरी छ । यी जोखिमहरू भन्नाले हलुका वा गोरो र·को छाला, केश वा आँखा हुनु, घाममा छाला जल्दा चाँडै धब्बा हुनु शरीर वा अनुहारको छालामा धेरै छिर्का वा धब्बाहरू हुनु, शरीरमा धेरै सङ्ख्यामा असामान्य कोठीहरू हुनु आदि हुन् ।
पानी अथवा खानेकुरामा मिसिएका विभिन्न रसायनहरूको उपभोग वा प्रयोग, एक्स–रे वा सीटी स्कयानमा हुने जोखिमयुक्त विकिरणहरूको उच्च प्रयोग, लामो समयसम्म निको नभएका, आगोले पोलेको वा अरु घाउहरू रहिरहनु आदि छालाको क्यान्सर हुनुका अन्य कारणहरू हुन् । अनुवंशिक तथा वंशाणुगत वृत्तिको कारणले पनि छालामा क्यान्सर हुने सम्भावना झन् बढिरहेको पाइन्छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास हुने विभिन्न अवस्थाहरू जस्तै ः एचआईभी (HIV) का बिरामीहरू, किड्नी ट्रान्सप्लान्ट गरेर औषधि सेवन गरिरहेका बिरामीहरू आदिमा पनि छालाको क्यान्सर हुने सम्भावना बढी नै हुन्छ ।
लक्षणहरू के के हुन् ?
छालाको क्यान्सर सामान्यतया ४० वर्ष वा सोभन्दा माथिका उमेर समूहका मानिसहरूमा बढी देखिन्छ । तर छालाको वंशाणुगत रोग लागेका व्यक्तिहरूलाई सानै उमेरमा पनि यो क्यान्सर लागेको देखिन्छ ।
बासल सेल कासिर्नोमा सबभन्दा बढी हुने छालाको क्यान्सर हो । यस प्रकारको क्यान्सर बिस्तारै बढ्ने र शरीरका अन्य भागहरूमा विरलै सर्छ । यो घाम सोझै पर्ने स्थानहरू जस्तै अनुहार, कान, तालु, घाँटी तथा ढाडमा बढी देखिन्छ । सुरुमा रातो वा गुलाफी र·को, सानो टुटुल्का वा गाँठोबाट यो सुरु हुन्छ र पछि बढ्दै गएर यसले घाउको रुप लिन्छ । यस्ता गाँठो वा घाउ २–३ हप्तासम्म उपचार गर्दा पनि निको नभएमा क्यान्सर हो कि भनेर शड्ढा गर्नुपर्दछ ।
स्क्वामस सेल कार्सिनोमा पनि छालामा गाँठो वा घाउको रुपमा भएर बिस्तारै वृद्धि हुँदै जान्छ । यो शरीरको अरु भागमा पनि सर्दै जान्छ र घाँटी वा काखीमा डल्लोको रुपमा देखा पर्न थाल्दछ । यो क्यान्सर छालाबाहेक मुखभित्र तथा गुप्ताङ्ग क्षेत्रहरूम पनि देखिन सक्छ ।
छालाको क्यान्सरमध्ये मेलानोमा अझ बढी खतरायुक्त क्यान्सर हो । यो क्यान्सर चाँडै नै रगतको माध्यमबाट शरीरका विभिन्न अङ्गहरू जस्तै फोक्सो, कलेजो तथा हड्डी आदिमा सर्न सक्छ र यसले गर्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने, जण्डीस हुने तथा हड्डी दुख्ने लक्षणहरू देखिन थाल्दछन् । मेलानोमा सानो कालो वा खैरो धब्बा वा कोठीबाट सुरु हुन्छ र यसमा विभिन्न असामान्य परिवर्तनहरू देखापर्न थाल्यो चने मेलानोमा हुनसक्ने सम्भावना रहन्छ । ती परिवर्तनहरू भन्नाले एउटै धब्बा वा कोठीको विभिन्न भागमा रङ्गको फरक गाढापन देखिन थाल्नु, फरक बाक्लोपन हुन्छ, कोठीको किनारा असमतल वा बाङ्गोटिङ्गो हुनु, आकार चाँडै चाँडै बढ्दै जानु, चिलाउनु, सुख्खा हुनु वा रगत बग्नु आदि हुन् ।
यी लक्षण तथा चिह्नले क्यान्सर भएको शङ्का भएता पनि उक्त गाँठो, घाउ वा कोठीबाट लिएको मासुको जाँच गर्नु जरुरी हुन्छ जसलाई बायोप्सी जाँच भनिन्छ ।
कसरी उपचार गर्ने ?
छालाको क्यान्सर भइसकेपछि यसलाई निकाल्ने विभिन्न उपायहरू छन् । धेरै सानो आकारको क्यान्सरलाई मसिनो करेन्ट लगाएर जलाउने, अति चिसो पार्ने विधिबाट हटाउने, लेजरको प्रयोगबाट जलाउने तथा अप्रेसन गरेर निकाल्ने उपायहरू छन् । तर अलि ठूलो आकारको छालाको क्यान्सरलाई अप्रेसनबाट काटेर निकाल्नु नै सबभन्दा राम्रो उपाय हो । धेरै नै ठूलो क्यान्सर निकालिसकेपछि ठूलो घाउ रहेको अवस्थामा प्लाष्टिक सर्जरी गरेर सो घाउ पुर्नुपर्ने हुन्छ । क्यान्सर फैलिएर घाँटी वा काखीमा पनि डल्लो बढेको छ भने र त्यसलाई पनि अप्रेसन गरेर निकाल्नुपर्ने हुन्छ वा रेडियोथेरापी लगाएर सेकाउनुपर्ने हुन्छ । रगत हुँदै शरीरका अरु अङ्गहरूमा फैलिएको क्यान्सरलाई कमोथेरापी औषधि पनि चलाउनु पर्ने अवस्था हुन्छ ।
रोकथाम कसरी गर्ने ?
– बिहानदेखि साँझसम्म घामबाट जोगिने ।
–घाममा हिँडदा १५ वा सोभन्दा माथिको सन प्रोटेक्सन फ्याक्टर (SPF)
भएको क्रिमको प्रयोग गर्ने ।
–घामबाट जोगिन ह्याट, छाता, लामा बाहुलाको कमिज तथा प्यान्टको प्रयोग गर्ने ।
–छालाको क्यान्सर भएको छ कि छैन भनेर बेला बेलामा आफैले ऐना अगाडि जाँच गर्न र शङ्कास्पद लागेमा चिकित्सकलाई देखाएर आवश्यक उपचार गराउने ।
लेखक त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन हुनुहुन्छ ।
स्रोतः आशा स्मारिका –२०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *