भर्खरै :

बुढा सुब्बा मन्दिर र टुप्पो नभएको बाँस

                            सुनिता गाईसी


धरान एक प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्व बोकेको सहर हो । धरानसँगै विजयपुर पनि ऐतिहासिक स्थल मानिन्छ । इतिहासकार इमानसिङ चेम्जोङका अनुसार राजा विजयनारायण राईको राज्य अवधि र त्यसपछि विजयपुरलाई किराँती राज्यको राजधानी मानिन्थ्यो । विजयपुरको नाम कसरी रहन गयो भन्नेबारे विभिन्न मतहरू पाइन्छ । केही इतिहासकारहरूले विजयपुरमा राजा विजय सेनले राज्य गरेका थिए । त्यसैले यसको नाम विजयपुर रहन गयो भन्ने रहेको छ ।
धरानमा विभिन्न प्रसिद्ध मन्दिरहरू छन् । जस्तैः बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वरी । तीमध्ये बुढा सुब्बा र यहाँ पाइने टुप्पो नभएको बाँसको महत्वबारे चर्चा गरिन्छ । मन्दिर परिसरमा सामान बेच्न बसेका एक वृद्ध व्यापारीका अनुसार बुढा सुब्बाको नाम सिद्धबाबा थियो तर पछि सिद्धबाबाबाट सुब्बा हुँदै बुढासुब्बा बन्न गयो । सिद्धबाबा लोप हुन लाग्दा धनुषमा तीर चढाएका थिए । त्यस तीरबाट बाँस उम्रियो । त्यसैले बुढासुब्बा मन्दिर वरपरका बाँसहरूमा टुप्पो छैन ।
बुढासुब्बा मन्दिर पेगोडा शैलीको छ र छाना पित्तलले ढाकिएको छ । किंवदन्तीका अनुसार बुढासुब्बा मन्दिर वरपर उम्रेका बाँसमा डोरी (धागोले बनेको) ३ जोर (२÷२ वटा) ३ ठाउँमा बाँधेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले मन्दिर परिसरका बाँसमा तार जालीको फेरा लगाइएको छ । त्यहाँ भक्तालुहरूले विभिन्न रङ्गीविरङ्गी किसिमका डोरी बाँधेको देखिन्छ । मानिस जति नै आधुनिक भए भने पनि मन्दिर परिसरमा पुगेपछि धागोको डोरी किनेर बाँस वरपरका तार जालीमा बाध्न थाल्छन् । यसरी डोरा बाँध्नेमा केटाकेटी, युवा र बृद्धासम्म देखिन्छन् ।
मानिसले जति नै आधुनिकताको गफ दिए पनि उसको मनभित्र अझै पनि धार्मिक आस्था र विश्वास जीवितै रहेको छ । यो कुरा मन्दिर परिसरमा रहेका बाँसमा बाँधिएका धागाका डोरीले बताउँछ । धागोका डोरीहरू यति धेरै छन् कि अरु नयाँ डोरी बाँध्ने ठाउँ छैन । बुढासुब्बाको मन्दिरको वातावरण पनि एकदमै मनमोहक छ । यहाँ पुगेपछि शान्त, शीतल वातावरणले मानिसमा एक किसिमको सकारात्मक ऊर्जा प्राप्त हुन्छ । धार्मिक ग्रन्थहरूमा जुन स्वर्गको बयान गरिएको छ यो ठाउँ त्यसैको एक टुक्राजस्तो लाग्दछ । साँच्चै भन्ने हो भने स्वर्ग र नर्क देख्न मानिस मर्न पदैन । उसले गरेका कार्यबाट यही नै देखिन्छ । यति मनमोहक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण भइकन पनि प्रचारप्रसारको अभावमा त्यो ठाउँ ओझेलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *