भर्खरै :

मध्य–अमेरिकी आप्रवासी अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

तिजुआना, मेक्सिको, २९ कार्तिक । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकी अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।
मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरूमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरू पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।
“हामी अपराधी होइनौं,” उनीहरूमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरूको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिनुभएको छ ।
अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरू पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरू अमेरिकामा आप्रवासी हुन चाहन्छन् । कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरूलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चासहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरू होन्डुरसका नागरिक हुन् ।
“उनी अमेरिका गइहालिन् । मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्,” उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले बताए । “मैले बुझेको छु । उनी नयाँ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं ।” गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधिअनुशरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ ।
तिजुआनामा भेला भएका धेरैजसो आप्रवासीले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् । सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहनुभएका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिनुभयो । तर रिपब्लिकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् ।
तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासी हिँडिसकेका छन् । कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ ।
होन्डुरसका यी आप्रवासीले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए । उनीहरू करिब तीन हजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन् ।
शुक्रबारसम्म अमेरिकी सीमामा करिब पाँच हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ । (एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *