भर्खरै :

काठमाडौंमा “जनतासँग सांसद”

काठमाडौं, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा शुक्रबार तार्केश्वर नगरपालिका मनमैजूस्थित लोकतान्त्रिक चोकमा ‘जनतासँग सांसद’ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसदमा धेरै सङ्ख्या सांसद जित्दैमा कुनै पनि राजनीतिक दलले व्यापक जनताको सेवामा काम गर्छ भन्ने कुरा सत्य नभएको बताउनुभयो ।
बहुमत प्राप्त सरकारले भ्रष्ट ठेकेदार, तस्कर र कालोबजारीलाई कारबाही गर्न नसकेको चर्चा गर्दैै उहाँले शासक दलका नेताहरूले देश र जनताको हितमा काम नगर्ने नाफाखोर र भ्रष्टहरूको संरक्षण गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दुईतिहाइ भनिएको सरकारले देशको ७० भन्दा बढी स्थानमा भारतले सिमाना मिच्दा पनि केही बोल्न नसकेको बरू बुटवलको जीतगढीमा भारतीय पेन्सन क्याम्प स्थापना गर्न दिएको छ ।’’
दक्षिण एसियाली देशलाई भारतकै निर्देशनमा हिँडाउने बिम्स्टेकको नाममा क्षेत्रीय गठबन्धन बनाउन खोजेको प्रसङ्गबारे जानकारी दिंदै सांसद सुवालले भन्नुभयो, “संसदमा नेमकिपाले त्यो विषयमा चर्को विरोध गरेकै कारण निर्धारित संयुक्त सैनिक अभ्यास हुन सकेन ।”
उहाँले हिमाल, पहाड र तराई मिलाएर प्रदेशको पुनःनिर्धारण गर्नुपर्ने नेमकिपाको प्रस्तावप्रति बेवास्ता गर्दै शासक दलहरूले भारतको निर्देशनमा जनसङ्ख्याको आधारमा प्रदेशको नक्साङ्कन गरेको बताउनुभयो ।
एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिष्ट एकता नभएको चर्चा गर्दैै संशोधनवादीहरूको एकताले कम्युनिष्ट आन्दोलनलाई अझ क्षति पु¥याएको धारणा सांसद सुवालले राख्नुभयो ।
तात्कालीन एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले एमालेले व्यापारिक चिह्नको रूपमा मात्र पार्टीको नाममा कम्युनिष्ट शब्द प्रयोग गरेको चर्चा गर्दै काङ्ग्रेसले जस्तै एमाले र माओवादीले पनि नेपालका प्राकृतिक स्रोत–साधन भारतलाई बेचेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले वर्तमान सरकारले कुनै पनि क्षेत्रमा जनताको चित्तबुझ्दो रूपमा काम गर्न नसकेको बताउँदै शासक दलको ओत लागेर बसेका अपराधी र नाफाखोरले फाइदा लुटिरहेको धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सिर्जना सैंजूले देशका नदीनाला र प्राकृतिक स्रोत–साधन भारतलाई बेचेर देश समृद्ध नहुने बताउनुभयो ।
नेकपा बाघको छाला ओढेर रजाइँ गरेको स्यालजस्तै भएको भन्दै उहाँले व्यापक जनताले नक्कली कम्युनिष्टलाई चिन्न ढिला गर्न नहुने धारणा राख्नुभयो ।
उहाँले कामदार जनताको सेवामा स्थापना भएको नेमकिपाको लागि पुँजीवादी सरकार कहिल्यै महफ्वपूर्ण नहुने चर्चा गर्दै प्रदेश संसदभित्र व्यापक कामदार जनताको हितमा सङ्घर्ष गर्नु नै नेमकिपाका सांसदको कर्तव्य भएको बताउनुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *