भर्खरै :

शान्ति सम्झौता वा आत्मसमर्पणको घोषणापत्र !

बा¥ह अङ्क आउने नेपाली भाषामा दुईवटा उखान निकै चर्चित छन्–बा¥ह वर्षपछि खोला पनि फर्किन्छ र बा¥ह वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमुनि राखेपनि बाङ्गाको बाङ्गै । तत्कालीन माओवादी विद्रोही र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको बुधबार बा¥ह वर्ष पुग्यो । बा¥ह वर्षको यो कालक्रममा नेपाली समाज तीव्र बेगवान राजनीतिक परिवर्तनको साक्षी रह्यो । विद्रोही माओवादी शान्ति प्रक्रियामा मात्र आएन, सत्ता राजनीतिले माओवादीलाई छिन्नभिन्न बनायो । यत्तिबेलाको माओवादी पार्टीका नेताहरू चारवटा राजनीतिक पार्टीमा विभाजित छन् ।
शान्ति प्रक्रियामा आउनुअघि माओवादीका शीर्ष तहका नेताहरू सत्तामा नजाने घोषणा गरेका थिए । तर आजसम्म आइपुग्दा माओवादी उच्च नेतृत्वका अधिकांश नेताहरूले कम्तीमा एकपटक सत्ताको स्वाद चाखिसकेका छन् । २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका मागलाई नै आधार बनाएर माओवादी विद्रोह सुरू गरिएको थियो । तर शान्ति प्रक्रियामा सामेल भएयता माओवादी नेताहरू पटक –पटक सरकारको नेतृत्वमा पुगे । अहिलेको सरकारमा पनि माओवादी नेताहरू विभिन्न मन्त्रालयमा पदासीन छन् । २०५२ मा प्रस्तुत मागमध्ये कति प्रतिशत माग पूरा गर्न माओवादी सफल भयो ? नेपाली समाजमा आमूल परिवर्तनको माओवादी मुद्दा माओवादी आफै सरकारमा हुँदा पनि किन पूरा भएनन् ? अझ आफूले कुनै बेला वर्ग शत्रु करार गरेको एमालेसँग एकाकार हुन माओवादी किन तयार भयो ? बा¥ह वर्षअघि भएको विस्तृत शान्ति प्रक्रियाको समीक्षा गर्दै यी प्रश्नका विषयमा पनि चिन्तन गर्न आवश्यक छ ।
हिजो पार्टी र जनयुद्धको लागि रगत र जीवन दिन तयार अधिकांश कार्यकर्ता आज निराशा काखी च्यापेर कि त विदेशिएका छन् । नभए सिंहदरबार वा पार्टी हेडक्वाटर वरपर बसेर कुनै अवसर पाउन पर्खिरहेका छन् । माओवादी विद्रोहलाई उचाइमा लान ज्यान हत्केलामा राखेर हिंड्ने कार्यकर्ता पाखा लगाइएका छन् भने कुनै बेला माओवादीलाई सिध्याउन दिलोज्यानले लागेका मानिसहरूको चौघेरामा नेताहरू रमाइरहेका छन् । शक्तिको पूजा गर्ने समाजको एउटा तहले माओवादीभित्र पसेर सिङ्गो माओवादीलाई आफ्नै रङ्गले पोतिसकेका छन् । त्यो चम्किलो सुविधायुक्त रङ्गमा परी माओवादी नेताहरूले आफ्नो वास्तविक रङ्ग भुलिसकेका छन् । तसर्थ विस्तृत शान्ति सम्झौता माओवादीहरूका लागि आत्मसमर्पणको श्वेतपत्र प्रमाणित भएको छ । प्रचण्डले त्यो आत्मसमर्पणपत्रमा हस्ताक्षर गरेर माओवादी लडाकूहरूका बलिदानलाई खोलामा बगाइदिएका छन् । माओवादीको काँधमा बन्दुक राखेर भारतीय विस्तारवाद र पश्चिमा साम्राज्यवादको प्रहारले नेपालमा गणतन्त्र आएको कुरा कालक्रमले प्रमाणित गरेको छ । माओवादी विद्रोह शक्ति राजनीतिमा प्रयोग भएको देखियो ।
शान्ति प्रक्रिया यता माओवादीले सत्ता राजनीतिको केन्द्रमा रहेर नेपालमा झण्डै बा¥ह वर्ष शासन ग¥यो । बितेका बा¥ह वर्षमा माओवादी पनि नेपालको शासक पार्टी हो । नेपाली जनताले यो समयक्रममा गरेका अपेक्षा पूरा हुनु त परको कुरा, यो बीचको निराशाजनक राजनीतिक अवस्थाले नेपालको राजनीतिमा दीर्घकालसम्म असर गर्ने निश्चित छ ।
माओवादी विद्रोहको असफलता वा आत्मसमर्पणले नेपालको कम्युनिष्ट आन्दोलनमा दीर्घकालीन असर पार्नेछ । केशरजङ्ग रायमाझीको संशोधनवादी दिशाले नेपालको कम्युनिष्ट आन्दोलनमा जस्तो क्षति पु¥याएको थियो, त्यस्तै गहिराइको क्षति माओवादीको अराजकतावाद र वामपन्थी अवसरवादले पु¥याएको छ । नेपालको असफल माओवादी आन्दोलनलाई साक्षी राखी इतिहासले फेरि एकपल्ट प्रमाणित ग¥यो– ‘वामपन्थी अवसरवादको पतन सधैं दक्षिणपन्थी अवसरवादमा हुने गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *