भर्खरै :

अध्यक्ष बिजुक्छेंद्वारा चिनियाँ राजदूत यु होङलाई बिदाइ

काठमाडौं, ६ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र जनवादी गणतन्त्र चीनका नेपालको लागि राजदूत यु होङबीच बिहीबार बिदाइ भेट सम्पन्न भयो ।
भेटमा अध्यक्ष बिजुक्छेंले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन संस्कृति, भाषा, पर्यटनको आदान–प्रदान आवश्यक रहेको बताउनुभयो ।
‘‘चीनको भाषा अध्ययन, अध्यापनमा नयाँ पुस्ता अघि बढिरहेको छ ।’’ उहाँले भन्नुभयो ।
दुई देशबीचको सम्बन्ध महत्वपूर्ण रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले भाषाले दराज खोल्नलाई साँचोको जस्तो भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
अमेरिका–चीनबीचको व्यापार युद्धबाट संसारभरिका जनतालाई प्रभाव पर्नुको साथै अमेरिकी राष्ट्रपति ट्रम्पको यो नीतिले अमेरिकी नागरिक मारमा पर्ने उहाँले बताउनुभयो ।
‘‘ल्याटिन अमेरिका र अफ्रिकासँगको चीनको सहकार्य र सम्बन्धका विषयमा हामीले लेखहरू प्रकाशन गरेका छौँ । यसबाट नयाँ पुस्ताले चीन र परराष्ट्र नीतिको विषयमा जानकारी हासिल गर्नेछन् ।’’ अध्यक्ष रोहितले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘चीनको परराष्ट्र नीतिलाई संसारका केही देशबाहेकले सकारात्मक रूपमा लिइरहेका छन् । चीनको परराष्ट्र नीति संसारकै निम्ति राम्रो र असल छ ।’’
भेटमा राजदूत यु होङले भन्नुभयो, ‘‘यहाँलाई अन्तर्राष्ट्रिय परिस्थितिका जानकार एवं विशाल र बृहत् दृष्टिकोण भएका एक व्यक्तिको रूपमा म आदर गर्छु ।’’
‘‘अहिले चीनलाई अमेरिकाले जुन सामना गरिरहेको छ त्यस्तो चीनलाई अमेरिकाले पहिले कहिल्यै सामना गर्न परेको थिएन ।’’ राजदूत होङले भन्नुभयो ।
अहिलेको उत्पादन प्रणालीअनुसार एउटा वस्तु तयार गर्नको निम्ति थुप्रै देशहरूको योगदान रहेको हुन्छ । त्यसकारण व्यापार युद्धले अमेरिका–चीनलाई त असर पर्छ नै, सँगै बीचका देशहरूलाई पनि यसले प्रभाव पार्छ, उहाँले उल्लेख गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेंले राजदूत यु होङलाई स्मृति र आत्मगौरवको प्रतीकको रूपमा ‘मयुरझ्याल’ उपहार प्रदान गर्नुभयो भने राजदूत होङ्गले अध्यक्षज्यूलाई रङ्गीन पाण्डा उपहार प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *