भर्खरै :

रङ्गशाला नराख्न मन्त्रीलाई ज्ञापन

काठमाडांै, ९ मंसिर । सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ सिपाडोल र नंखेलमा करिब २ हजार रोपनी क्षेत्रफलमा बनाउन प्रस्तावित ‘अन्तर्राष्ट्रियस्तरको रङ्गशाला’ निर्माणको विरोधमा आइतबार स्थानीय बासिन्दा र किसानहरूले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारलाई उहाँको कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएका छन् ।
प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूको नेतृत्वमा गएको पीडितहरूको टोलीले दिएको ज्ञापनपत्रमा प्रस्तावित रङ्गशालाले सो क्षेत्रका करिब १२ सयदेखि १४ सय घर परिवार विस्थापित हुने र १५ सयदेखि दुईहजार रोपनी कृषियोग्य जमिन विनाश हुने उल्लेख छ ।
“सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ सिपाडोल र नंखेलमा करिब २ हजार रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने भन्ने विषयमा सञ्चारमाध्यमबाट थाहा हुँदा हामी यस क्षेत्रका जनताको भएको गाँस, बास, घरखेत जाने हुँदा हामी दुखित भएका छौं ।”, पत्रमा उल्लेख गरिएको छ ।
पीडित किसानहरूले प्रस्तावित स्थानमा खेतीयोग्य जमिन म्हासेर रङ्गशाला बनाउनुभन्दा आधुनिक कृषि फार्म बनाउन उपयुक्त हुने सरकारलाई सुझाव दिएका छन् । जनताको रोजीरोटी नै खोसिने गरी रङ्गशाला बनाउन सरकार अघि सरे जनता प्रतिरोधमा उठ्ने उनीहरूले पत्रमा लेखेका छन् ।
ज्ञापनपत्र दिन गएका स्थानीय पीडित किसानहरूका मागबारे मन्त्री सुनारले रङ्गशाला बने एउटा सानो टहरामात्र बनाएर पनि व्यापार गर्न पाउने बताउनुभयो ।
मन्त्रीको यस्तो प्रतिक्रियालाई किसानहरूले हचुवा टिप्पणीको रूपमा लिएका छन् । खेतीयोग्य जमिन खोसेर जनतालाई टहरामा व्यापार गर्न सिकाउने मन्त्रीको प्रतिक्रिया किसान र स्थानीय जनताको भावनाविपरीत भएको पीडितहरूले बताए ।
आफूले गरी आएको खेत खोसिने अवस्थामा किसानहरूले आन्दोलन गर्दा कुनै राजनीतिक दलसँग जोड्नु उचित नभएको उनीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *