भर्खरै :

युरोपेली नेताले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर

ब्रसेल्स, ९ मंसिर (एएफपी) । युरोपेली युनियनमा आबद्ध २७ देशका नेता ऐतिहासिक ब्रिटेनको बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । ब्रिटेनका प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट ब्रिटेनको “सुन्दर भविष्य” हुने दाबी गर्नुभएको छ ।
ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आवद्ध २७ मुलुकका नेताले ब्रिटेनको प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै ब्रिटेनका प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी हुनुहुनेछ ।
विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषय, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।
तैपनि, यो अन्तिम चरण भने होइन । ब्रिटेनको संसद् “हाउस अफ कमन्स” ले आगामी मार्च २९, २०१९ अघि उक्त सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ । धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् ।
बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा एक वक्तव्य दिँदै ब्रिटेनको बहिर्गमन (ब्रेक्जिट) योजनाबाट कोही पनि खुशी नरहेको बताउनुएको छ । उहाँले भन्नुभयो, “जोखिम र नोक्सानीलाई न्यूनीकरण गर्ने शर्तहरू राख्न सबैको सहमति छ । त्यसैले युरोपेली नेताहरूले यो सम्झौतामा हस्ताक्षर गरे हुन्छ ।”
प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् । आइतबार प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताउनुभएको छ ।
ब्रेक्जिटको निर्णयप्रति ब्रिटेनको जनमत निकै विभाजित छ, तर प्रधानमन्त्रीले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *