नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
सुरेश
बहुमत प्राप्त सरकार बनेपछि अधिकांश जनताले सुदिन आउने भए भनेर चर्चा गरेको जहाँतहीं सुनिएको थियो । सरकारका ससाना गल्तीहरू लुकाइदिनुपर्छ, यो सरकारलाई काम गर्न दिनुपर्छ भनेर एकथरी विद्वानहरूले हाकाहाकी भनिरहे । सरकारले पनि बडो गुलियो नारा दियो, सुखी नेपाली, समृद्ध नेपाल ।
कुनै बेला एकजना मजदुरले भनेका थिए, “नेताले नारा दिन्छ, खाना दिन्न ।” हालसम्मका शासकहरूबाट भोगेको लामो अनुभवबाट उनले निकालेको सार थियो यो । भयो पनि त्यस्तै । गाउँसहरका मुखिया, जिम्मावालहरूको लुटपाट र शोषण उत्पीडनको ठाउँमा दलाल, तस्कर र ठेकेदारजस्ता नवधनाढ्यहरूको राज आयो ।
देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा हुने विदेशी हस्तक्षेप रोकिएन । जनताका रोजीरोटी, लत्ताकपडा र बसोबासका समस्या उस्तै रहे । शिक्षादीक्षा र ओखतीमूलोका युग पुराना व्यथा ज्यूँका त्यूँ रहे । नेपाली युवाहरू विदेशिने तीतो इतिहास वर्तमान बनेर दोहोरिन छोडेन । नेपाली चेलीहरू विदेशी सेठसाहुहरूको वासना पूर्ति गर्न बेचिने शताब्दी पुरानो दारुण दृश्यमा फेरबदल आएन । त्यसमाथि निर्मला पन्तको सामूहिक बलात्कारपछिको हत्याले देशलाई नै स्तब्ध तुल्यायो । बलात्कारीहरूको उँचो पहुँचकै कारण यो मुद्दा सरकारका लागि निल्नु न ओकल्नु बनेको जनताले बुझे, जाँचबुझ गर्नेहरूले नबुझेजस्तो गर्ने कहिलेसम्म हो थाहा छैन ।
यिनै परिदृश्यहरू थिए जनआस्था सांस्कृतिक समूह सामुन्ने यसपालिको देउसी भैलीको तयारीको सङ्घारमा । त्यसैले जनताका दुःखपीरलाई जनबोलीमै गाउँगाउँ पु¥याउने र परिवर्तनको निम्ति झक्झकाउने उद्देश्य लिएर जनआस्था मैदानमा उत्रियो ।
निर्मला हत्याकाण्डको असर जनआस्थाजस्ता कैयौं संस्थाले भोगेको हुनुपर्छ । देउसी भैली नेपाली दाजुभाइमात्र होइन दिदीबहिनीको पनि उल्लासले खेल्ने परिपाटी छ । तर निर्मला पन्तका हत्याराहरू खुलेआम हिँडिरहेको बेला एक प्रकारको त्रास व्याप्त थियो । अर्को शब्दमा भन्दा, निर्मलाको भूतले देउसी भैलीमा चेलीबेटीहरूलाई बेस्सरी तर्सायो । तैपनि जनआस्थाका कलाकारले कोठामा बसेर होइन, चोकचोकमा पुगेर हत्यारामाथि कारबाही हुनुपर्ने आवाज चर्काउन त्यस त्रासलाई जित्ने अठोट गरे । उनीहरू आफ्ना आमाबुबालाई मनाएर बाहिर आए ।
जनआस्था विशेषतः मजदुर, किसान र अन्य पेशाका कामदार जनताको पक्षमा प्रस्तुति राख्न जमर्को गर्छ । यसपालि पनि यस्तै कोसिस भए । गाउँपालिका र नगरपालिकाका कथित जनप्रतिनिधिहरूका कर्तुतले जनता भ्रमबाट मुक्त भएको प्रसङ्गलाई जनआस्थाका गीतकारले यसरी लेखे ः
गाउँसहरमा सेवक आए भनेको को रै’छ भन्दा राजा पो आएछन्
सुख होला भनी आश गरेको करको भारी तीन थुप्रा लाएछन्
चुनाव अगाडिका आश्वासनहरू कसरी पछि फोस्रा बने गायकले गाए ः
समृद्धिका कुरा पनि सुन्दा रैै’छ राम्रो
गाउँगाउँको सिंहदरबार हैन रैै’छ हाम्रो
दलाल, तस्कर, ठेकेदार ढाडीझैं मोटा’छन्
जनताको त पीरै छैन के खा’छन्, के ला’छन् ?
चर्चित नेपाली फिल्मी गीत ‘गोजीमा दाम छैन’ को भाकामा शासक दलका नेताहरूको चरित्रमाथि चोटिलो प्रहार गर्दै गायक गायिकाले गाए ः
बोलीमा भर छैन यिनको बोलीमा भर छैन
जनताको शासन ल्याउलान् कि भन्छु बोलीमा भर छैन
बोलीमा भर नहुने मान्छे यो देशलाई काम छैन ।
जनआस्थाले अँध्यारोको गीतमात्र गाउँदैन, टाकुराबाट देखिने भोलिको उज्यालोको आभाष पनि दिलाउँछ । यसले समस्यालाई मात्र केलाउँदैन जनताकै मुखबाट सुनेका समाधान सुसेल्छ, नृत्यहरूमा पेश गर्छ । ससाना भाइबहिनाहरू आफ्ना भविष्यबारे सुन्दर सपना आँखामा सजाउँदै नाचे ः
आकाशका जून तारा छुन मनलाग्यो
चन्द्रजस्तै चम्किलो हुन मनलाग्यो
साथै यसका लागि चाहिने शिक्षादीक्षा पनि जनतासँगै मागे ः
हामीलाई पढाइदेउ, हामीलाई लेखाइदेऊ
धर्ती टेकी आकाश छुने बाटो देखाइदेऊ
नयाँ पुस्ताले सारा जनतासँग सङ्कल्प गरे ः
हामी लेख्छौँ, हामी पढ्छौँ हामी अघि बढ्छौँ
ठूला भई भोलि हामी देशलाई सिङ्गार्छौँ ।
आज शिक्षा र स्वास्थ्यमा शासक दलबाटै पालितपोषित माफियाहरूको लुटमार चलिरहेको बेला नयाँ पुस्ताका यी आह्वानहरू सपना लाग्न सक्छन् । तर जनआस्थाका कलाकार महाकवि देवकोटाका शिष्य हुन् । “उडी छुनू चन्द्र एक” भुलेका छैनन् । यसमा गर्व छ उनीहरूलाई । महाकविले भनेजस्तै यो देशमा शेक्सपियरहरू हलो जोत्छन्, वाग्नर कोदाली खन्छन्, टर्नर भेडा चराउँछन्, हेलेन केलरहरू वनमा गीत गाउँछन् । तर व्यक्तित्व विकासमा समान अवसर नभएकैले उनीहरू आज खाडी जान बाध्य छन्, डान्सबारहरूमा बिक्न विवश छन् ।
जनता नै साँचो परिवर्तनकारी शक्ति हुन् । उनीहरू जागेको खण्डमा संसारको कुनै तागतले उनीहरूको जीवनमा परिवर्तन ल्याउनबाट रोक्न सक्दैन । आज जनता अज्ञान र गरिबीमा रहेको मौका छोपेर देशमा शोषकहरूको बिगबिगी बढेको हो । त्यसैले नेताका चिल्ला बोली र भनसुन गर्ने आश्वासनको पछि नलाग्न जनआस्था सचेत पार्छ, जनतालाई विवेकको कसी गीतमार्फत यसरी पस्किन्छ ः
नाममा होइन काममा हेरौँ कामै हो प्रमाण
जनता जागे आउँछ है यहाँ जनताको शासन
जनआस्थाका प्रयासहरू झिना होलान् । तैपनि यी र यस्ता विचारले ओतप्रोत गीतहरू सुनेपछि मानिसको घुइँचो बाक्लिएको प्रस्टै देखिन्थ्यो । जनताले गोजी नै रित्ताएर सहयोग गरेको पनि पाइयो । चोकचोकमा भेला भएकामध्ये केही टाढा घर भएकाहरूले आफ्ना गाउँमा आउने निम्तोसमेत दिए । जनताको साथ र सहयोगले नै जनआस्थाको करिब एक दशक लामो यात्रा जारी छ । यसको अर्थ जनता आफ्ना हित र विचारलाई आवाज दिन तयार छन् । उनीहरू सन्तोष मानेर बसेका छैनन् । पक्कै पनि आज उनीहरू तितरबितर अवस्थामा छन् । तर वर्तमान व्यवस्थाप्रतिको घृणाले उनीहरूलाई एक ठाउँमा ल्याउनेछ । त्यस एकताले दलाल, तस्कर र ठेकेदारहरूको सत्ता उल्टाएर एकदिन जनताको समय ल्याउनेछ । यसमा शङ्कै छैन । जनता जिन्दावाद !
Leave a Reply