भर्खरै :

कामका लागि सत्तरी लाख युवा विदेश पठाउने सरकार कसरी कम्युनिष्ट ?

काठमाडांै, ११ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्तरी लाख युवालाई विदेशमा काम गर्न बाध्य पार्ने सरकार कम्युनिष्ट सरकार हुन नसक्ने बताउनुभएको छ ।
मङ्गलबार एभिन्युज टीभीका पत्रकार राजेन्द्र बानियाँसँग समसामयिक विषयमा कुराकानी गर्दै उहाँले लुच्चा–लफङ्गा, गुण्डा सबैलाई पार्टीभित्र हुलेर जनताको सेवा हुननसक्ने, बरू उनीहरूले जनतामाथि शोषण गर्ने बताउनुभयो ।
उहाँले नेपाली जनताले कम्युनिष्ट विचारलाई मनपराएकाले कम्युनिष्ट आन्दोलनको बद्नाम गर्न कम्युनिष्ट नामका पुँजीवादी पार्टीहरू प्रयोग गरिएको बताउनुभयो ।
“जनता राम्रा भए नेता राम्रा हुन्छन् । नेतामात्र राम्रो हुँदैमा देश राम्रो हुँदैन ।”, उहाँले भन्नुभयो ।
नेपाली काङ्ग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले खेल्न नसकेको चर्चा गर्दै काङ्ग्रेसले अझै पनि सत्ताको भागबण्डाको राजनीति नछोडेको विचार राख्नुभयो ।
सरकारमा गएका राजनीतिक पार्टीले सही संस्कृतिको जग नबसालेका कारण सबै क्षेत्रमा विकृति मौलाएको उहाँले बताउनुभयो ।
सशस्त्र सङ्घर्ष गरेको माओवादी सामेल भएको नेकपा कम्युनिष्ट होइन र भनी सोधिएको प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “पृथ्वीनारायण शाहले शस्त्र प्रयोग गरेरै मल्लहरूलाई पराजीत गरेका थिए । नेकाँले पनि २००७ सालमा सशस्त्र सङ्घर्ष गरेको थियो । तर उनीहरू कम्युनिष्ट थिएनन् । हतियारबद्ध सङ्घर्ष गरेपछि मात्र कुनै पनि पार्टी कम्युनिष्ट हुने विचार सही होइन ।”
सरकारले आफू कम्युनिष्ट भएको भान पार्ने कुनै पनि काम नगरेको भन्दै उहाँले सरकारले स्थानीय तहलाई सामाजिक सुरक्षाको जिम्मेवारी दिनु उचित हुने बताउनुभयो । उहाँले उत्पादनका साधनको राष्ट्रियकरण, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, शिक्षा, स्वास्थ्य, आवास र रोजगारी राज्यकै दायित्व हुने बन्दोबस्त गर्ने सरकार नै कम्युनिष्ट सरकार हुने बताउनुभयो ।
उहाँले राजनीतिक पार्टीलाई चुनावी परिणामका आधारमा मात्र मूल्याङ्कन गर्नु सही नहुने धारणा राख्नुभयो ।
पत्रकार बानियाँले चढ्दो उमेरमा पनि राजनीतिक सक्रियताबारे सोधेको प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो,“अझै भर्खरै कलेजबाट फर्केको जस्तो लाग्छ । सक्रियताले समय व्यतित भएको महसुस भएन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *