नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
चाङ च्यातोङ
चीन–भारत सिमानाबारे गएको हप्ता बसेको दुई देशका विशेष प्रतिनिधिहरूबीचको २१ औं चरणको बैठकले केही महत्वपूर्ण सहमतिहरू गरेका छन् । दुवै देश आपसी विश्वास बलियो बनाउनेमा सहमत भएका छन् । साथै सिमानाको सम्बन्धमा संवाद र समन्वयलाई प्रभावकारी बनाउन पनि उनीहरू सहमत भए ।
यस्ता बैठक दुई छिमेकी देशबीचको नियमित कूटनीतिक गतिविधिका अंश हुन् । अहिलेसम्म भएका बीसौं चरणसम्मका बैठकमा दुई देशका विभिन्न पुस्ताका नेताहरूले भाग लिइसकेका छन् । तथापि यो वर्षकोे बैठकले बोझिलो अपेक्षासहित विशेष ध्यानाकर्षण गरेको छ । गएको अप्रिल महिनामा चीनको ऊहानमा चीनका राष्ट्रपति सि चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको अनौपचारिक भेटवार्तापछिको बैठकका कारण पनि यो बैठकप्रतिको अपेक्षा बढेको हो । साथै दुई देशबीचको सिमानासम्बन्धी संयन्त्रमा चिनियाँ विदेशमन्त्री वाङ यी मनोनित भएपछि बसेको यो पहिलो बैठक हो ।
चीन र भारतबीचको सम्बन्ध, विशेषतः भूमि विवादबारे नीति परिवर्तनबारे छलफल गर्ने २१ औं चरणको बैठक सुनौलो अवसरको लिइयो । आगामी पाँच वर्ष दुई देशबीचको सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने कुराको दिशानिर्देश पनि यो बैठकले गरेको छ । दुवै देशले आपसी सम्बन्ध सकारात्मक दिशामा नै अघि बढ्ने आशा गरेका छन् ।
तथापि बैठकबाट धेरै अपेक्षा गर्नु पनि सही होइन । आजसम्म भएका बीस चरणका बैठकले हल गर्न नसकेको समस्या एक्काइसौं चरणको बैठकमा एकै चोटी समाधान हुन सजिलो छैन ।
यो बैठक आपसी विवाद समाधान गर्न वा समाधान खोज्न बसिएको बैठक होइन । एकआपसमा विचार आदानप्रदान, आपसी विश्वास बलियो बनाउने र हालको अवस्थालाई अर्को कुनै सहमति नहुञ्जेल स्थायी बनाउने लक्ष्य हासिल गर्न मात्र दुई देशका विशेष प्रतिनिधिबीच यो बैठक भएको वास्तविकतालाई धेरै मानिसले ध्यान दिएका छैनन् । दुवै देशलाई थाहा छ–आपसी सिमाना विवाद जतिसक्दो चाँडो समाधान गर्न सक्नु दुई देशबीचको सम्बन्ध बलियो बनाउन हितकारी हुनेछ । यो दुवै देशको हितमा हुनेछ । विवादित क्षेत्रलाई बन्द राख्नुभन्दा स्थायित्वको चाहना दुवै देशको लक्ष्य हुने गरेको छ ।
सिमाना विवादको अनिश्चय अझै बाँकी छ । दुई देश अझै पनि अन्त्यहीन घेराबन्दीमा फसेकै छन् । चीन र भारतबीच सम्बन्धमा कुनै समस्या आउनेबित्तिकै चिनियाँ पक्षले आफ्नो राष्ट्रिय अधिकार र हितको रक्षा गर्नुका साथै सकारात्मक पहल गर्दै आइरहेको छ । परिणाामतः चीन र भारत एकै ठाउँमा बसेर दुईपक्षीय सम्बन्ध कसरी सुधार गर्ने र सशस्त्र द्वन्द्वको अवस्थालाई कसरी पञ्छाउने भन्ने विषयका छलफल हुने गरेको छ ।
तर जब दुई देशबीचको सम्बन्धले गति लिने गर्दछ, भारतले आफ्नो स्वार्थ मात्र पूरा गर्न सक्रियता देखाउने गर्दछ । त्यसै कारणले दुई देशबीचको सम्बन्ध अझै समस्यामा फस्ने गर्दछ । अनि फेरि दुई देशबीचको सम्बन्ध सुधारको लागि सुरूबाटै थालनी गर्नुपर्ने हुन्छ । दसकौं दसकदेखि चीन र भारतबीचको भूमि विवाद यस्तै परिस्थितिको चक्रव्युहमा फसेको छ । आज चीन र भारतबीचको सिमाना विवादको अन्तर्राष्ट्रिय आयाम पनि छ । दुई देशबीचको सम्बन्धमा गतिरोध ल्याउन भूमि विवाद संवेदनशील विषय बनाइने गरेको छ । दुई छिमेकी मिलेर समाधान निकाल्ने हो भने यसले आधारभूतरुपमा सम्बन्ध सुधार गर्नेछ । दुईपक्षीय सम्बन्ध विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।
आज चीन र भारत दुवै शक्तिशाली मुलुक बनिसकेका छन् । आज उनीहरूको लागि भूमिसम्बन्धी परम्परागत कूटनीति क्रमशः प्रधान विषय बन्न छोड्दैछ । बरू उनीहरूको प्राथमिकता क्रमशः अरू क्षेत्रमा बिस्तार भइरहेको छ । दुई देशबीचको प्रतिस्पर्धा र सहकार्य भूमिबाट समुद्र र अन्य क्षेत्रमा फैलिएको छ । आपसी विवादभन्दा माथि उनीहरू आज क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा पुगेका छन् ।
निःसन्देह चीन र भारतबीच सिमाना विवाद अझै संवदेनशील विषय हो । तर त्यसको महत्व आज घटिरहेको छ । अब यो सबभन्दा महत्वपूर्ण रणनीतिक समस्या भने रहेन । दुवै देशको रणनीतिक पुनःअनुकूलन अझ महत्वपूर्ण विषय बनिरहेको छ । विशेषतः भारतले आफ्नो असंलग्न विदेश नीति त्यागी शक्ति राष्ट्रसँग आफ्नो सम्बन्ध तीब्र रुपमा जोड्न पुग्दछ, चीन र भारत मिलेर बस्नुको महत्व अझ बढ्ने गर्दछ ।
सारमा चीन र भारतबीचको आपसी भूमि विवादको समाधान दुवै देशको हितमा छ । पैइचिङले आफ्ना अरू १२ देशसँग सिमाना विवाद टुङ्ग्याइसकेको छ । अब भारतसँग पनि सिमाना प्रष्ट बनाउन जरुरी छ ।
चिनियाँ अनुभवले सिमाना विवाद समाधान भनेको आपसी सम्बन्ध सुधारको कारण भन्दा पनि परिणाम हो । तर भारतले चीनसँगको सिमाना विवाद समाधान नभएसम्म दुई देशबीचको समस्या समाधानमा सुधार नआउने मान्यता जोड दिंदैआएको छ । दुई देशबीच आपसी विश्वास र अविश्वासको सिलसिलाबारे फरक फरक बुझाइले उनीहरूको रणनीतिक मतभेदलाई देखाएको छ । यो मतभेद भने अझै बाँकी नै रहनेछ ।
(लेखक चीनको फुतान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply