भर्खरै :

“राजनीतिलाई ख्यालठट्टाको विषय बनाइनुहुँदैन”

भक्तपुर, १३ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जताततै प्रधानमन्त्रीको फोटो टाँस्दैमा सरकारको अस्तित्व राम्रो नहुने उल्लेख गर्दै सरकारले राजनीतिलाई ख्यालठट्टाको विषय बनाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इञ्जिनियरिङ कलेजको १० औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले नाफा र कमिसन खानको निम्ति विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीले सैद्धान्तिक सङ्घर्ष कहिल्यै नछोड्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नभुयो – “शासक दलका नेताहरूको काम–कारबाहीले गर्दा युवाहरूमा राजनीतिप्रति वितृष्णा जागेको छ । यसको जिम्मेवार ती शासक दलका नेता–कार्यकर्ताहरू नै हुन् । नयाँ पुस्ताले राजनीति गरेन भने देशको स्थिति झन् खराब हुँदै जानेछ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा देशभरिका विद्यार्थीहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेको बताउँदै देशको सन्तुलित विकास गर्न र भ्रष्टाचारको विरोधमा आफूहरू सधैं अग्रसर भइरहने बताउनुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट र विधेयकहरू संविधानउन्मुख नभएको बताउँदै सरकारमा गएका नेताहरूका कारण देशमा भ्रष्टाचार र अनियमितता बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको महत्व बुझ्दै विभिन्न विषयका कलेजहरू सञ्चालन गरी शैक्षिक जगतमा पाइला हालेको स्मरण गर्दै स्थानीय सरकार बलियो भए जनता पनि बलिया हुने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका विगतका दिनहरूदेखि नै एनजीओ र आईएनजीओप्रति सचेत हुँदै काम गरेको बताउँदै प्रमुख प्रजापतिले आफ्नो खुट्टामा उभेर बाँच्ने मानिस स्वाभिमान भएर बाँच्न सक्षम हुने बताउनुभयो ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले देशका अरु शैक्षिक संस्थानभन्दा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको सौन्दर्य र गौरव विशिष्ट रहेको चर्चा गर्दै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको रुपमा प्रस्तुत भएको बताउनुभयो ।
प्रदेश ३ का सांसद सृजना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रम देशमा व्याप्त बलात्कारको घटनाले प्रमाणित गर्दैछ भन्दै बलात्कारी र अपराधीलाई संरक्षण गर्ने सरकार जनतालाई अस्वीकार्य रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा स्थापना गर्ने भक्तपुर नपाको लक्ष्य रहेको बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्यले भक्तपुरमा ख्वप इ. कलेजको स्थापना नभएको भए धेरै विद्यार्थी इञ्जिनियरिङ शिक्षाबाट बञ्चित हुने बताउँदै इञ्जिनियरिङ शिक्षाको गुणस्तर कायम गर्न नीतिगत व्यवस्थाहरू आवश्यक भएको बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. प्रेमनाथ मास्केले कलेजले आगामी दिनहरूमा गुणस्तरीय व्यवस्थापन, व्यवस्थित पुस्तकालय र अनुसन्धानात्मक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कलेजको वार्षिकोत्सव समारोहमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीहरूलाई प्रमुख अतिथि बिजुक्छेंले कदरपत्र प्रदान गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसर पारी कलेजले ३१ वटा रोबोट र विद्यार्थीहरूद्वारा प्रस्तुत थेसिस पनि प्रदर्शनीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *