भर्खरै :

शैक्षिक हडतालप्रति नेक्राशिसङ्घ र इसानको असहमति

काठमाडौं, १३ मंसिर । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी शुक्रबार शैक्षिक हडताल आह्वान गरेको छ ।
बिहीबार एक वक्तव्य जारी गरी नेपाल क्रान्तिकारी शिक्षक सङ्घले सो शैक्षिक हडतालप्रति असहमति जनाएको छ । नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले हस्ताक्षर गर्नुभएको सो वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ ः
नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू र आन्दोलनका कार्यक्रमहरूमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घको ध्यान आकृष्ट भएको छ । नेपाल शिक्षक महासङ्घले शिक्षक र विद्यालय कर्मचारी एवम् शिक्षासँग सम्बन्धित विभिन्न मागहरू राखी विद्यालय बन्द गर्ने कार्यक्रमले शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पर्दछ ।
सबै नागरिकहरूले शिक्षा प्राप्त गर्ने संवैधानिक मौलिक अधिकार हो । प्रदेश सरकार र स्थानीय तहको सरकार स्वायत्त र विकेन्द्रीकरणको सिद्धान्तअनुसार सञ्चालन हुने संवैधानिक व्यवस्था हो ।
सङ्घीय सरकारले स्थानीय र प्रदेश सरकारलाई कडा निर्देशन जारी गर्न गरेको महासङ्घको माग नेपालको संविधानविपरीत छ । साथै यो स्थानीय तह र प्रदेश सरकारको स्वायतत्तामाथि हस्तक्षेप गर्ने र विकेन्द्रीकरणको सिद्धान्तविपरीत पञ्चायती शैली हो । यस्तो नाजायज माग पूरा गराउन महासङ्घले आह्वान गरेको विद्यालय बन्द कार्यक्रमप्रति नेपाल क्रान्तिकारी शिक्षक सङ्घ विमति जाहेर गर्दछ ।
विद्यालयहरू साविकबमोजिम सञ्चालन गर्न सम्पूर्णमा हार्दिक आग्रह गर्दछ ।
यसैबीच संस्थागत विद्यालय सङ्घ नेपालले पनि शिक्षक महासङ्घको हडतालप्रति विमति जनाउँदै बिहीबार नै अर्को वक्तव्य जारी गरेको छ । सङ्घका अध्यक्ष प्रेमजन थापाले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ः
नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू र आन्दोलनका कार्यक्रमहरूमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को ध्यान आकृष्ट भएको छ । नागरिकहरूले शिक्षा प्राप्त गर्ने संवैधानिक मौलिक अधिकार हो । प्रदेश सरकार र स्थानीय तहको सरकार स्वायत्त र विकेन्द्रीकरणको सिद्धान्तअनुसार सञ्चालन हुने संवैधानिक व्यवस्था हो । विभिन्न मागहरू राखी विद्यालय बन्द हुँदा देशको शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्दछ ।
सङ्घीय सरकारले स्थानीय र प्रदेश सरकारलाई कडा निर्देशन जारी गर्न गरेको महासङ्घको माग संविधानविपरीत छ । साथै यो स्थानीय तह र प्रदेश सरकारको स्वायतत्तामाथि हस्तक्षेप गर्ने र विकेन्द्रीकरणको सिद्धान्तविपरीत पञ्चायती शैली हो । यस्तो नाजायज माग पूरा गराउन महासङ्घले आह्वान गरेको विद्यालय बन्दप्रति संस्थागत विद्यालय सङ्घ नेपाल
(इसान) विमति जाहेर गर्दछ ।
विद्यालयहरू साविकबमोजिम सञ्चालन गर्न सम्पूर्णमा हार्दिक आग्रह गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *