भर्खरै :

“सत्ताधारी दलले कम्युनिष्ट सिद्धान्तअनुसार काम गरेको छैन”

भक्तपुर, १६ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नपा ६ वडा समन्वय समितिको आयोजनामा शनिबार शैक्षिक सत्र २०७४÷०७५ सालमा एस.ई.ई., प्लस टु, स्नातक, स्नातकोत्तर÷एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सत्ताधारी दलले आफू कम्युनिष्ट भनी ढाँटेर जनतासँग भोट लिएर सरकार बनाएको तर कम्युनिष्ट सिद्धान्तअनुसार काम नगरेको बताउनुभयो ।
वर्तमान सरकार नाममात्रको कम्युनिष्ट सरकार भएको र हिजो काङ्ग्रेस सरकारले गरेजस्तै पुँजीपतिहरूकै सेवा गरिरहेको उहाँले बताउनुभयो ।
दुईतिहाइको सरकारले अहिलेसम्म व्यापक नेपाली जनताको हितमा केही गर्न नसकेको चर्चा गर्नुहुँदै सुवालले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र सुन काण्डका दोषीलाई कारबाही गर्न सरकार असफल भएको बताउनुभयो ।
“पञ्च र नेकांले देश र जनतालाई विश्वासघात गर्नुमा आश्चर्य नहोला । कम्युनिष्ट दाबी गरेको एमाले र माओवादी मिलेर बनेको नेकपाले विश्वासघात गरेकोले जनतामा कम्युनिष्टप्रति वितृष्णा भए प्रतिक्रियावादीलाई प्रचारको मसला प्राप्त हुनेछ ।”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जीवनवृत्तिबारे चर्चा गर्नुहुँदै विश्वभरका गरिब जनताका मुक्तिदाता माक्र्स संसारभर प्रसिद्ध रहेको र संसारका कामदार जनताले माक्र्सकै विचार अँगीकार गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले पुँजीवादी बन्दोबस्तले युवा–विद्यार्थीलाई अनेकन सस्तो प्रचारबाजी र झूटा कुरामा फसाउने गरेको प्रस्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कार्यकर्ताहरू जनताको सुख–दुःखमा साथ हुने बताउनुभयो । भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले जनप्रतिनिधिहरूको रुपमा चुनावी घोषणापत्रअनुसार जनताको इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सत्यनारायण सिजख्वको सभापतित्वमा भएको कार्यक्रममा रोहन सुवाल, मनिषा सुवाल, उरूषा सुवाल, सुशिला सुजखूलगायतले बोल्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *