ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले धर्मान्धताले कुनै पनि समाजमा प्रगति गर्न नसक्ने बताउनुभएको छ ।
बिहीबार कान्तिपुर टेलिभिजनका पत्रकारसँग समसामयिक राजनीतिक परिस्थितिबारे बोल्नुहुँदै उहाँले त्यसै पनि अन्धविश्वासमा जकडिएको नेपाली समाजलाई शासक दलका गतिविधिले अझै अन्धविश्वासी बनाउने चर्चा गर्नुभयो ।
कम्युनिष्टविरोधी धार्मिक सङ्गठनले आयोजना गरेको सम्मेलनमा ‘कम्युनिष्ट पार्टी’ का नेताहरू सक्रियतापूर्वक लागेको विषयमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष बिजुक्छेंले सत्तासीन नेकपा कम्युनिष्ट पार्टी नै नभएकाले उनीहरूबाट कम्युनिष्ट आचरणको अपेक्षा गर्नु गलत हुने बताउनुभयो ।
“उनीहरूको नाममात्र कम्युनिष्ट हो । त्यसकारण कम्युनिष्टविरोधीहरूसँग हातेमालो गर्नु आश्चर्यको विषय होइन ।”, उहाँले भन्नुभयो ।
पञ्चायतकालदेखि नै नेपालको कम्युनिष्ट आन्दोलनभित्र जागिर र सुविधा दिएर कम्युनिष्ट कार्यकर्तालाई बिगार्ने गरेको प्रसङ्ग चर्चा गर्नुहुँदै अध्यक्ष रोहितले दामोदर शम्शेरजस्ता पञ्चायतका हिमायतीले जागिर दिएका व्यक्ति नै आज ठूला दलका नेता बनेर कम्युनिष्ट आन्दोलनको बदनाम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सरकारका गलत गतिविधिको आलोचना गर्ने आफ्नो दायित्वबाट बुद्धिजीवी र प्राध्यापकहरू च्युत भएको छ । सरकारका गलत कामको विरोधमा बुद्धिजीवी र प्राध्यापकहरूले आलोचना गर्नुपर्छ ।’’
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले केही पैसा खर्च गर्दैमा उनीहरूले भनेको कुराको पछि लाग्नु ठीक नभएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले शासक दलले जानकारीको अभावमा यस्तो गतिविधि भएको भन्न नमिल्ने बरू उनीहरूको नियत र उद्देश्यमै शङ्का गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संसारमा कम्युनिष्ट आन्दोलनको प्रभाव कमजोर बनाउन नक्कली कम्युनिष्ट पार्टीहरू गठन गरेर कम्युनिष्ट आन्दोलनभित्रै विभाजन ल्याउने काम पुँजीपति र साम्राज्यवादी शक्तिहरूले गर्ने गरेको उहाँको भनाइ थियो ।
भारतमा भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम्सेवक सङ्गठनको साम्प्रदायिक राजनीतिको उदाहरण प्रस्तुत गर्नुहँदै अध्यक्ष रोहितले नेपालका शासक दलले पनि धर्म, जात, भाषा र क्षेत्रको नाममा राजनीति गरिरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले नेमकिपा कुनै पनि धर्म, भाषा, क्षेत्र, र सम्प्रदायको आधारमा राजनीतिक पार्टी खोल्न दिन नहुने पक्षमा रहेको बताउनुभयो ।
Leave a Reply