भर्खरै :

किसानहरूबीच ‘मजदुर–किसान’ को अन्तरक्रिया

भक्तपुर, २० मंसिर । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
किसान कार्यकर्ताहरूबीच भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले कार्यकर्ताहरूलाई पार्टी प्रकाशनहरू अध्ययन गराउन र सैद्धान्तिक रूपले सचेत र परिपक्व बनाउन पार्टीले प्रकाशनलाई जोड दिंदै आएको बताउनुभयो ।
भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने कार्य जनघाती हुने चर्चा गर्नुहुँदै उहाँले स्थानीय किसानहरूलाई विस्थापित गर्ने बद्नियतले नै सरकारले भूमाफिया र जग्गा दलालहरूको सल्लाहमा काम गर्दैछ भन्नुभयो
कार्यक्रमका सभापति एवं नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले हरेक पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कार्यकर्ताहरूले माक्र्स, एँगेल्स, लेनिन, स्तालिन, माओ त्से तुङ, होचि मिन्ह, किम इल सङ, क्याष्ट्रो, चे ग्वेभाराजस्ता नेताहरूबाट सिकेर अगाडि बढ्नुपर्छ ।’’
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापति, केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, जिल्ला समितिका सदस्यहरू राजेन्द्र बखुन्छेँ, नारायणभक्त भेले, नारायणभक्त न्हेमाफूकी, गङ्गाराम ज्याख्व, कमला गिरी, गणेशराम सुवाललगायतले पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *