भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–१

–क्रान्ति  –निर्माण  –सुधार
पीडा र अपमानको समयसँगै चीनको आधुनिक इतिहास अघि बढ्छ । उन्नाइसौं शताब्दीको उत्तर्राद्र्धसम्ममा चिनियाँ राष्ट्रले अनपेक्षित सङ्कटको सामना गर्नुप¥यो । तथापि यो चरम सङ्कटले परिवर्तनको बिजारोपण पनि ग¥यो । त्यसले चीनको भविष्य बद्ल्ने महान् क्रान्तिको गर्भाधान ग¥यो । कैयौं असफलताको अनुभवपछि चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । त्यसले चीनको क्रान्तिलाई नयाँ उचाइमा पु¥यायो । चरम कठिनाई र कष्टसाध्य सङ्घर्षको २८ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले ठूलठूला बलिदान गरे । फलतः उत्पीडनकारी साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवाद फालियो । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले नयाँ जनवादी क्रान्तिलाई सफलतासम्म पु¥यायो ।
क्रान्ति
देशको स्वतन्त्रता र जनताको मुक्तिको निम्ति राष्ट्रिय सङ्कट र क्रान्तिकारी आन्दोलनको उदय
चीन लामो इतिहास र पुरानो सभ्यता भएको एक पूर्वीयको देश हो । चीनले आफ्नो कडा मेहनत र बुद्धिले एक उत्कृष्ट सभ्यताको निर्माण ग¥यो । त्यो सभ्यता पाँच हजार वर्षसम्म रह्यो र त्यसले मानव समाजको विकास र प्रगतिको निम्ति ठूलो योगदान ग¥यो ।
तर, १९ औं शताब्दीको सुरुवातमा चीनको कृषि सभ्यता ओरालो लाग्यो । हजारौं वर्षदेखिको तानाशाही सामन्ती व्यवस्थाले युगको आवश्यकता पूरा गर्न सकेन । तत्कालीन समयमा पूर्वको शक्ति र विश्वको सबभन्दा धनी मुलुकमध्ये परेको चीनमा चारैतर्फबाट सङ्कटले घेर्न थाल्यो । राजनीतिक भ्रष्टाचार, सैनिक अव्यवस्था र आर्थिक सङ्कटले गर्दा छिङ वंश (१६४४–१९११) अप्ठेरोमा प¥यो । बन्द नीतिको कारण आफ्नै क्षेत्रबाहिरको विश्वमा आइरहेको परिवर्तनबारे चीनलाई कमै थाहा थियो । पश्चिमी शक्तिहरू समुद्रपारिका देशहरूमा उपनिवेश कायम गरी साम्राज्य विस्तार गर्ने दौडमा संसारको कुनाकाप्चा पुगिरहेको बेला छिङ वंश भने अलौकिक ‘स्वर्गको जस्तो वंश’ को सपनामा निदाइरहेको थियो ।
सन् १८४० मा बेलायती उपनिवेशवादीहरूले पहिलो अफिम युद्धपछि चीनमाथि आक्रमण गरे । उनीहरूका जङ्गी जहाजहरूले छिङ वंशका बन्द ढोका उडाइ दिए । एकपछि अर्को पश्चिमा शक्तिहरू चीनमा छिरे र तिनीहरूले निरन्तर युद्धहरू थोपे, जस्तो ः दोस्रो अफिम युद्ध (१८५६–१८६०), चिनियाँ–फ्रान्सेली युद्ध (१८८३–१८८५), पहिलो चिनियाँ–जापानी युद्ध (१८९४–१८९५) र आठ–शक्ति गठबन्धनका देशहरूको चीनमाथिको आक्रमण (१९००–१९०१) । पश्चिमी शक्तिराष्ट्रहरूले एकपछि अर्को असमान सन्धिमा हस्ताक्षर गराएर छिङ वंशलाई थिल्थिलो बनाएका थिए । यी सन्धिहरूको माध्यमबाट विदेशी शक्तिहरूले ठूलो मात्रामा युद्ध हर्जाना भराए र बलपूर्वक चिनियाँ भूमि कब्जा गरे । अन्यायी सन्धिहरूबाट चीन दास बन्न बाध्य भयो । यसरी चीनको सार्वभौमिकता र भूअखण्डता खतरामा प¥यो ।
चीनमा पश्चिमा शक्तिहरूको आक्रमणको ठूलो प्रभाव प¥यो । तिनीहरूले परम्परागत चिनियाँ समाजलाई छिन्नभिन्न पार्ने र छिङ वंशलाई समाप्त पार्ने कामलाई तीव्रता दिए । तर चिनियाँ जनताले विदेशी अपमान अस्वीकार गरे तथा आन्तरिक र बाह्य दुवै क्षेत्रमा खस्किएको साख बचाउन लडे । १९ औं शताब्दीको पछिल्लो समयमा किसान क्रान्ति छेडियो, जसमध्ये ताइपिङ किसान विद्रोह र बक्सर आन्दोलन मुख्य थिए । त्यही समयमा उच्च मनोबल भएको एक समूहले पश्चिमाबाट सिक्ने विचार प्रस्ताव गरे । तिनीहरूले चीनमा संवैधानिक राजतन्त्रको स्थापना गर्ने पश्चिमाकृत आन्दोलन थाले । उनीहरूको उद्देश्य ‘आफै बलियो’ हुने थियो । यद्यपि पुरानो खालको किसान क्रान्ति र नयाँ खालको पुँजीवादी सुधार आन्दोलन असफलतामा टुङ्गिए । बीसौं शताब्दीको सुरुवातमा चिनियाँ इतिहासमा चीनले कहिल्यै नभएको अपमानको ताडना भोग्नुप¥यो । सन् १९०० मा जापान, रसिया, बेलायत, संरा अमेरिका, फ्रान्स, जर्मनी, इटाली र अष्ट्रेलियाजस्ता आठ शक्तिराष्ट्रहरूले चीनको राजधानी पेकिङ्गमा संयुक्त आक्रमण गरे । त्यतिबेला चिनियाँ राष्ट्र नै समाप्त हुने दृश्य देखा प¥यो ।
यद्यपि चिनियाँ जनताले अपमानसामु आत्मसमर्पण गरेनन्, बरु तिनीहरू फेरि लड्न उठे । सन् १९०५ मा चिनियाँ प्रजातान्त्रिक आन्दोलनका संस्थापक सन यात्सेनले ‘संयुक्त देशभक्त समाज’ (टोङ मेङ हुइ) चिनियाँ राष्ट्रवादी पार्टी (कोमिङताङभन्दा अगाडिको सङ्गठन) को स्थापना गरे र पुँजीवादी प्रजातान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रस्ताव गरे । उनले क्रान्तिको माध्यमबाट आफ्नो राजनीतिक कार्यक्रम सफल पार्ने प्रयत्न गरे । सन् १९११ अक्टोबर १० को दिन क्रान्ति छेडियो । सन् १९१२ को नयाँ वर्षमा गणतन्त्र चीनको स्थापना भएको घोषणा गरियो । (कोमिङताङ्ग पार्टीका नेता सन यात–सेन पहिलो राष्ट्रपति भए ।)
सन् १९११ को क्रान्तिले छिङ वंशलाई फाल्यो र हजारौं वर्षदेखि चीनमा शासन गरिरहेको सामन्ती राजतन्त्रात्मक अत्याचारको अन्त्य भयो । हरेक नागरिकमा प्रजातान्त्रिक गणतन्त्रको विचारले जरा गाड्न थाल्यो । तर, गणतन्त्रको स्थापनाबाट स्वतन्त्रता, प्रजातन्त्र र सामाजिक प्रगतिको जग बसाल्ने इच्छा साकार भएन । क्रान्तिमा भाग लिनेहरू विभिन्न राजनीतिक समूहको प्रतिनिधित्व गर्थे । तीमध्ये केही क्रान्तिकारीहरू थिए, तर धेरै संशोधनवादीहरू र राजनीतिक अवसरवादी एवम् सट्टेबाजहरू थिए । क्रान्ति पुराना राजनीतिक शक्तिहरूसँग सम्झौता गरेर टुङ्गियो र युआन सिहकाइले नेतृत्व गरेको उत्तरी युद्धसरदारहरूले क्रान्तिको फल खाए । चीनमा साम्राज्यवादीहरूको प्रभाव सा¥है कमजोर हुनसकेन । सामन्तवादीहरूको जरा गहिरोसँग गडेको थियो र विभिन्न रूपमा समस्याहरू सृजना गर्दैथिए । चिनियाँ जनता अझै पनि गरिबी, पछौटेपन, अस्थिरता र निरन्तर द्वन्द्वको पीडा भोग्दैथिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको जन्म
सन् १९११ को क्रान्ति असफल भए तापनि त्यसले स्वतन्त्रताको विचारको ढोका खोलिदियो । सन् १९१५ सेप्टेम्बरमा चेन तुस्युले साङ्घाइमा नयाँ युवा पत्रिकाको प्रकाशन सुरु गरे । त्यस प्रकाशनले नयाँ सांस्कृतिक आन्दोलन अगाडि बढाउन अँध्यारोमा बत्तीको जस्तो काम ग¥यो । त्यसले प्रजातन्त्र र विज्ञानको नारा दिँदै सामन्तवादी विचारको विरोध र आफ्नो मुक्तिको पक्षमा लड्ने लक्ष्य लियो । आन्दोलन बढेसँगै पश्चिमी विचार देशैभरि छिट छिटो फैलियो र देश एवं जनताको रक्षाका विभिन्न योजनाबारे सघन बहस भए ।
सुरुमा नयाँ सांस्कृतिक आन्दोलनका सुरुवातकर्ताहरूको ‘एउटा नयाँ पश्चिमा शैलीको देश र समाज’ बनाउने महत्वाकांक्षा थियो । यद्यपि गणतन्त्र चीनको सुरुवाती वर्षहरूमा चिनियाँ जनताले पश्चिमबाट नक्कल गर्ने र बहुदलको स्थापना एवं संसदीय प्रणाली स्थापनाको लागि प्रयास गरे । तर तथाकथित संसद् युद्धसरदार, कर्मचारीतन्त्र र राजनीतिक नेताहरूको शक्ति र नाफाको लुछाचुँडी गर्ने खेलमैदानमा सीमित रह्यो ।
त्यसै समयावधिमा पुँजीवादले पश्चिममा ठूलो धक्का खायो । सन् १९१४ देखि १९१८ सम्मको विश्वयुद्धले पुँजीवादी व्यवस्थाभित्रको अनिवार्य द्वन्द्वलाई उदाङ्गो पा¥यो । युद्ध देखेर धेरै चिनियाँले पुँजीवादले बाटो बिराएको र तिनीहरूले दिएको वचन क्रमशः बिलाउँदै गएको अनुभव गरे । त्यसपछि लेनिनको नेतृत्वमा रुसी अक्टोबर क्रान्तिले विजय हासिल ग¥यो र संसारमै मजदुर–किसानको पहिलो शासन स्थापना भयो । लि ताचाओले प्रतिनिधित्व गर्ने नयाँ सांस्कृतिक आन्दोलनको वामपन्थी कित्ताले त्यस क्रान्तिमा उज्यालो भविष्य देख्यो । तिनीहरूले रुसको अनुभवमा आफ्नो ध्यान केन्द्रित गरे तथा माक्र्सवाद र लेनिनवादको अध्ययन र प्रचार गर्न थाले ।
चीनको बौद्धिक समुदायको वैचारिक परिवर्तनसँगै भित्रभित्र सामाजिक संरचनामा पनि परिवर्तन भयो । पहिलो विश्वयुद्धको क्रममा चीनको राष्ट्रिय पुँजीवादी अर्थतन्त्रमा छिटोछिटो विकास भयो र कामदारवर्गको सङ्ख्या त्यहीअनुसार बढ्दैथियो । त्यसैबीच आधुनिक विद्यालय खुलेसँगै विद्यार्थी र शिक्षकको सङ्ख्या पनि बढ्दैगयो । प्रेस, प्रकाशन र छपाइ क्रमशः लोकप्रिय हुँदै गए, आधुनिक शिक्षाबाट दीक्षित नयाँ सामाजिक समूह देखाप¥यो र यो १९११ को क्रान्तिको अवधिमा भन्दा धेरै ठूलो परिमाणमा थियो । सामाजिक ढाँचामा आएको परिवर्तनले साम्राज्यवाद र सामन्तवादविरोधी युद्धको निम्ति शक्ति प्रदान ग¥यो । साथै नयाँ सामाजिक संरचनाले चीनमा माक्र्सवाद फैलाउनको निम्ति वर्गको आधार सृजना ग¥यो ।
सन् १९१९ को सुरुवातमै पहिलो विश्वयुद्धमा जित्ने संसारका शक्तिहरूले पेरिसमा शान्ति सम्मेलन गरे । सम्मेलन पश्चिमा शक्तिहरूको इसारामा चल्यो । चीनको विमति हुँदाहुँदै विश्वयुद्ध हारेको जर्मनीले छोडेको चीनको सान्तोङ प्रान्त जापानको स्वामित्वमा जाने निर्णय गरियो, यद्यपि चीन जित्ने देशको पक्षमा थियो । यो कूटनीतिक हारको समाचार चीनमा आयो, हरेक वर्गका जनता क्रुद्ध भए । मे ४ को दिन पेइचिङ्ग थेनामेन चोकमा साम्राज्यवादविरोधी देशभक्तिपूर्ण आन्दोलन छेडियो । पेइचिङ्गका विद्यार्थीहरूको समर्थनमा जुन ५ को दिन साङ्घाइका मजदुरहरूले हडताल गरे । साङ्घाइको हडतालले आन्दोलनको महत्व अझ बढायो । २० भन्दा बढी प्रान्तका एक सत्न्दा बढी सहरलाई आन्दोलनले प्रभावित बनायो । आधुनिक चिनियाँ इतिहासमा मे ४ को विद्यार्थी आन्दोलन नै साम्राज्यवाद तथा युद्ध सरदारहरूविरुद्धको पहिलो क्रान्तिकारी सङ्घर्ष थियो । साथै त्यही आन्दोलन विद्यार्थी, मजदुर र समाजका अन्य वर्गका मानिसको संयुक्त देशव्यापी आन्दोलन बन्यो । उल्लेखनीय कुरा त आन्दोलनको पछिल्लो समयमा मजदुरवर्गले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । आन्दोलनमा मजदुर वर्गले आफू बलियो शक्ति भएको प्रमाणित गरेको थियो । नयाँ पुँजीपति वर्गले नेतृत्व गरेको पुरानो प्रजातान्त्रिक सङ्क्रमणकालपछि साम्राज्यवाद र सामन्तवादविरुद्धको चिनियाँ जनताको प्रजातान्त्रिक आन्दोलनले सर्वहारावर्गको नेतृत्वमा नयाँ प्रजातान्त्रिक युगमा पदार्पण ग¥यो । मे ४ को आन्दोलन त्यस्तो परिवर्तनको एउटा साङ्केतिक घटना बन्यो ।
चीनमा माक्र्सवाद र लेनिनवादको प्रचार गर्नको निम्ति मे ४ को आन्दोलन अगाडिको परिस्थिति अत्यन्तै अनुकूल थियो । माक्र्सवाद र लेनिनवादले चीनको भाग्य र भविष्य परिवर्तनको निम्ति तत्काल आवश्यक सैद्धान्तिक आधारको पूति गर्ने काम गरेको थियो । यी सिद्धान्तले वर्गसङ्घर्षलाई निरन्तरता दिने, साम्राज्यवादीहरूको औपनिवेशिक शासनविरुद्ध लड्ने र राष्ट्रिय स्वाधीनताको महत्व बुझ्ने तथा बलियो र क्रान्तिकारी पार्टीको गठन गर्ने तरिका सिकायो ।
मे ४ को आन्दोलनपछि क्रान्तिकारी बुद्धिजीवीको एक समूह देखाप¥यो र त्यसले देश र जनताको रक्षा गर्ने सकारात्मक बाटोको खोजी गर्न थाल्यो । तिनमध्ये माओ त्सेतुङ र चाउ एनलाइ युवा अवस्थाका थिए । गम्भीर अध्ययन र विश्लेषणपछि तिनीहरू माक्र्सवाद र लेनिनवादउन्मुखमात्र भएनन्, देशको भविष्य परिवर्तन गर्न त्यही सिद्धान्तलाई हतियारको रूपमा प्रयोग गर्ने निर्णयमा पुगे । मे ४ को आन्दोलनलगत्तै कम्युनिष्ट दर्शनबाट प्रभावित यी बुद्धिजीवीहरूले साङ्घाइ, उहान, चाङ्सा, चिनान र क्वाङचाउमा चिनियाँ कम्युनिष्ट पार्टी गठनको आधार तयार गरे । सङ्गठनहरू बनेपछि यिनै युवा कम्युनिष्टहरू सक्रिय र व्यावहारिक सङ्घर्षको मोर्चामा होमिए ।
सन् १९२१ जुलाई २३ मा साङ्घाइको एक फ्रान्सेलीको घरमा देशभरका १३ विभिन्न प्रारम्भिक कम्युनिष्ट सङ्गठनका ५० जना प्रतिनिधिको सहभागितामा चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनको अन्तिम दिन एक सुराकीले घटनाको भेउ पाएको खबर आयो । महाधिवेशन चेचियाङ प्रान्तको चियाङसिङको दक्षिणी तालको एउटा दृश्यावलोकन गर्ने डुङ्गामा सारियो । पहिलो राष्ट्रिय महाधिवेशनले चिकपाको स्थापनाको औपचारिक प्रतिनिधित्व ग¥यो । यो महाधिवेशन राज्यआतङ्ककोबीच गोप्यरूपमा भएको थियो । महाधिवेशनले चिनियाँ समाजको ध्यानाकर्षण गर्नसकेन । तर त्यो महाधिवेशनले निष्पट्ट अँध्यारोमा क्रान्तिको नयाँ झिल्को कोरेको थियो ।
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको नेपाली अनुवाद क्रमशः प्रकाशित गरिनेछ । –सम्पादक)
लेखकको भनाइ
प्रस्तुत पुस्तक चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को इतिहास र विकासबारे हो । यो पुस्तक खासगरि सीमित समयमा चीन र चिकपाबारे जान्न चाहने विदेशी पाठकलाई ध्यानमा राखी लेखिएको हो ।
गएको एक सय वर्षमा चिनियाँ समाज निरन्तर परिवर्तनको अवस्थामा रहेको छ । गएका ३० वर्षमा चीनमा भएका मुख्य परिवर्तनहरूले अन्तर्राष्ट्रिय जगतको ध्यान खिचेको छ । आज धेरैभन्दा धेरै जनता चीनबारे बुझ्न चाहन्छन् । सुधार र खुलापनको नीतिको कारण निरन्तर सुधार गरिरहेको चीनबारे विश्वलाई थाहा दिलाउनु आवश्यक छ ।
चीन एक लामो इतिहास बोकेको र सम्भाव्यता भएको देश हो । फरक इतिहास, संस्कृति र राजनीतिक प्रणालीको कारण विदेशी पाठकको निम्ति चीनबारे साङ्गापाङ्गो बुझ्न कठिन हुन्छ । मेरो विश्वास छ, आधुनिक चीनलाई बुझ्न चिकपाको इतिहास बुझ्नु उपयुक्त हुन्छ । स्थापना कालदेखि चिनियाँ समाजको परिवर्तन र विकासमा चिकपाले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । यो दृष्टिकोणमा चिकपाको इतिहास चिनियाँ जनताको सङ्घर्षको सानो इतिहास भन्न सकिन्छ ।
सन् १९२१ मा चिकपाको स्थापना भएको बेला ५० जना पार्टी सदस्यमात्र थिए । सन् १९११ मा भएको यसको ९० औं स्थापना दिवसको बेला यसका ८ करोड सदस्य थिए । यो पुस्तकले तपाईलाई चिकपाको मार्गको कथा, चिनियाँ जनताको क्रान्तिको नेतृत्व, निर्माण र सुधारबारे भन्छ । यो पुस्तकले चिकपाको क्रान्ति र प्रशासनका अवधारणा, चीनको आधारभूत राजनीतिक प्रणाली र चिनियाँ विशेषताको समाजवादको वास्तविकताको व्याख्या पनि गर्छ । मेरो आशा छ यो पुस्तकले तपाईंलाई चिकपा र चिनियाँ विकासबारे अझ धेरै बुझ्न सहयोग गर्नेछ ।
चाङ पाइचिया
जून २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *