भर्खरै :

विद्युतीय बस सपनामात्र नबनोस्

– प्रतिभा महर्जनं
निजीकरण र सडक फराकिलो पार्ने निहुँमा ०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका काङ्ग्रेस–एमालेलगायतका सरकारले चीनले सहयोगस्वरुप दिएको ट्रली बस बन्द गर्दा धेरै नेपाली जनताले विरोध गरेका थिए । त्यसमा उनीहरुको कुनै स्वार्थ थिएन, स्वार्थ थियो तर काठमाडौंको हावामा कम प्रदूषण होसोस् भन्ने चाह । काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म चल्ने ट्रलिबस पर्याप्त त पक्कै थिएन त र त्यसले प्रदूषणरहित सवारी सम्भव छ भन्ने नमुना देखाइरहेको थियो । तत्कालीन सरकारको अकर्मण्यता र व्यापारीको स्वार्थले ट्रलीबस हटाइयो, व्यापारीहरुका ठूल्ठूला डिजेल इन्जिन भएका बसहरु गुडे, काठमाडौं उपत्यका वायु प्रदूषणले आक्रान्त हुन पुग्यो ।
काठमाडौं उपत्यका कचौरा आकारको र चारैतिर पहाडले घेरिएको हुनाले यहाँभित्रको धुँवा र धुलो यहींभित्र रङ्गमरिङ्गन्छ । त्यसैले उपत्यका बाहिरका सहरहरुभन्दा काठमाडौं उपत्यकामा बढी वायु प्रदूषण भएको हो । फेरि सबैभन्दा बढी सङ्ख्यामा सवारी गुड्ने पनि काठमाडौंमै हो । केही उद्योगहरु र इँटा भट्टाहरुले पनि वायु प्रदूषणमा योगदान गरिहेका छन् । यस्तोमा काठमाडौंमा प्रदूषणरहित सवारी चलाउने चर्चा पटक पटक भए तर व्यवहारमा खासै लागू भएन । प्रधानमन्त्रीले साझा यातायातलाई चीन सरकारले दिएका व्याट्रीबाट चल्ने विद्युतीय बसको केही महिनाअघि उद्घाटन पनि गरे तर ती बस पनि चलाइएन । त्यसको कारण बसको व्याट्री चार्ज गर्ने स्टेशनको अभाव बताइयो । चार्जिङ्ग स्टेशन बनाउन धेरै खर्च लाग्ने पनि होइन रहेछ । क–कसको इसारा वा निर्देशनमा हो विद्युतीय बस चलाउन दिइएको छैन ।
अहिले प्रदेश नं. ३ को सरकारले साझा यातायातसित मिलेर विद्युतीय बस चलाउने र २०८५ सालसम्ममा प्रदेशका पाँचवटा सहरमा पूरै विद्युतीय सवारीमात्र चलाउने योजना भएको घोषणा गरिएको छ । प्रदेश सरकारको योजना स्वागतयोग्य छ तर त्यो पनि मौसमी चर्चामात्र बन्ने त होइन भन्ने आशङ्का बलियो छ । अस्वस्थ हावामा स्वास लिन बाध्य काठमाडौं उपत्यकाबासीको सपना सहरमा प्रदूषणरहित विद्युतीय सवारी व्यापक होस् भन्ने हो । तर, सरकारको उदासिनता र व्यापारीहरुको स्वार्थले त्यो सपना सपनामै सीमित हुने सम्भावना बलियो छ । त्यसो नहोस् विद्युतीय सवारी चार्जिङ्ग स्टेशनहरु बनाई प्रदूषणरहित सवारीलाई प्राथमिकता दिइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *