भर्खरै :

संशोधनवाद र इसाई आशीर्वाद

सुरेश
नेपालमा धेरैपछि बहुमतको सरकार बन्यो । नेकपाजन मात्र नभएर साधारण जनताले पनि देशको उन्नतिको अपेक्षा राखेका थिए । त्यतिमात्र नभएर केही राजावादीहरू समेत आशामुखी भएको देखियो । तर, यो सरकार पनि प्रम ओलीको बोलीजस्तो थात न ठेगानको देखिँदैछ । खासगरी दुईवटा घटनाले सरकारलाई नाङ्गेझार बनाइदिए । पहिलो निर्मला हत्याकाण्ड र अर्को युनिफिकेसन चर्चको अगुवाइमा हालै राजधानीमा सम्पन्न एसिया प्यासिफिक सम्मेलन । निर्मला हत्याकाण्डलाई फिल्मी रङ दिँदै अर्को कथा बजारमा ल्याइएको छ । यस काण्डमा हालै समातिएका दुई युवक बलीका बोका हुन भन्ने जनता र पर्यवेक्षकहरूको ठम्याइ छ । लेखको विषय भने अर्को घटना हो ।
कम्युनिष्टहरू सिद्धान्ततः भौतिकवादी हुन्छन् । यसको अर्थ बेलगाम आवारा हुन्छन् भन्ने होइन । बरु संसारका कामदार वर्गको हितमा अनुशासित हुन्छन् । त्यसैले जनताका धार्मिक भावनालाई मलजल नगरेपनि चोट चाहीँ पु¥याउँदैनन् । बरु वैज्ञानिक चिन्तन र तर्कको प्रचारप्रसार गर्छन् । समाजवादी रुसमा यतातर्फ निकै महत्वपूर्ण कामहरू भए । तैपनि यी कामहरू पुँजीवादी र साम्राज्यवादीहरूका गतिविधिको तुलनामा बिस्तारै कम हुँदै गए । यो क्रम खासमा रुसी कम्युनिष्ट पार्टीमा संशोधनवादी गुटको बढ्दो प्रभावसँगै खस्केको देखिन्छ ।
दोस्रो विश्व युद्धपछि पँुजीवादी र साम्राज्यवादीहरू संसारमा आफ्नो वर्चस्व कायम गर्न लालायित थिए । सुन्दा अचम्म लाग्न सक्छ, हामीकहाँ पछौटेपन हटाउन सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू हिजो सोभियत सङ्घजस्तो संसारको शक्तिशाली र विकसित देशमा समेत पसेका थिए । उनीहरूले भित्रभित्र जनतालार्ई धर्मभीरु बनाउने साहित्यको प्रचारप्रसार गरे र धार्मिक संस्थामार्फत रुसमा गुप्तचरीको जालो फैलाए । राजनीतिक नेतृत्व, प्रशासन, बुद्धिजीवीजस्ता रुसी जीवनका अनेक क्षेत्रका मानिसलाई भ्रष्ट तुल्याए । अन्ततः सोभियत समाज र राज्य विखण्डित भयो । पश्चिमा साम्राज्यवादीहरू सफल भए । रुसको समाजवाद नष्ट भयो ।
रुसमा समाजवादको पतनपछाडिको सबैभन्दा ठूलो कारक भने रुसी कम्युनिष्ट पार्टीमा देखापरेको संशोधनवाद थियो । संशोधनवाद आफैमा एउटा घुसपैठ हो । नेपालमा यसको सबैभन्दा सचित्र परिभाषा एमालेजनका प्रियनेता मनमोहन अधिकारीले दिएका छन् भने यसलाई सैद्धान्तिक खोल ओढाएको छ एमालेजनकै अर्का प्रियनेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ ले । मनमोहन अधिकारीले ‘कम्युनिष्ट चिन्ह एमालेको ट्रेडमार्क मात्र हो’ भनेका थिए अर्थात् बाहिर श्रमजीवी वर्गको हकहितको कुरा गर्ने, भित्र पँुजीवादीहरूसँग मिलेमतो गर्ने । कम्युनिष्टको खोल ओढेको पँुजीवाद । वर्गसङ्घर्ष नमान्ने, चुनावबाट समाजवाद ल्याउने हल्ला पिट्ने, श्रमजीवी जनतालाई शान्तिपूर्ण सहअस्तित्वको प्रवचन दिने, जनतालाई सिद्धान्तबाट टाढा राख्ने आदि संशोधनवादका विशेषता हुन् । यी विशेषता मदन भण्डारीको कथित जबजमा प्रचुर मात्रामा पाइन्छ । यी सबै विशेषतामा एमाले, हाल नेकपा खरो उत्रेको छ ।
अर्को तथ्य के पनि हो भने संसारका हरेक कुनामा रहेका संशोधनवादीहरूलाई जहिल्यै देशभित्रका शोषकहरूले भित्रभित्र सहयोग गर्छन् । उनीहरूले देशका श्रमजीवी जनतामा राम्रो भ्रम छर्न सक्षम भएपछि विश्वका साम्राज्यवादीहरूले पनि उनीहरूलाई बलियो बनाउन मद्दत गर्छन् । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास यस तथ्यको साक्षी छ । रुसमा मात्र नभएर युरोपेली देशहरू र अमेरिकामा ट्रोट्स्की र युरोकम्युनिजमजस्ता संशोधनवादी विचारका अनुयायी बढाउनुमा स्वयं अमेरिकाको हात थियो । रुसको समाजवाद ध्वस्त गर्ने मिखाइल गोर्भाचोभलाई पनि यसरी नै सत्तामा ल्याएको देखिन्छ । कतिसम्म भने संसारका धेरै देशमा ट्रोट्स्कीपन्थी र संशोधनवादीहरूमार्फत् विभिन्न आई÷एनजीओको आडमा सिआईएद्वारा गुप्तचरी गराइएको इतिहास छ ।
नेपालमा नेकपाजस्तो संशोधनवादी पार्टी मौलाउनुको कारण पनि यहीँ हो । एमालेका चर्चित नेताहरूलाई हिजोका दिनमा दामोदर शमशेरजस्ता राजावादीहरूले सहयोग गरेको खुलेको छ । अहिले यो देशका तस्कर, ठेकेदार, दलाल र माफियाजस्ता नवधनाढ्य वर्गको सेवामा तल्लीन छ । अर्कोतिर नेपाली राजनीतिमा एउटा आहान छ, ‘एनजीओ, आइएनजीओ भएनन् भने एमाले रहँदैन’ । मदन भण्डारी नेतृत्वमा आएपछि यसलाई पश्चिमा साम्राज्यवादीहरूले एनजीओ र आइएनजीओको बहानामा सहयोग गर्न थालेको देखिन्छ । भण्डारीलाई त मुखै फोरेर साम्राज्यवादी मिडियाले ‘पूर्वको माक्र्स’ भनिदियो । रोटी एकातिरबाट मात्र पाक्दैन । आफ्ना मालिकहरूलाई नेपालका संशोधनवादीहरूले कति खुसी बनाए, एउटा घतलाग्दो अध्ययनको विषय हो ।
जेहोस्, त्यसको पछिल्लो कडी हो राजधानीमा ‘युनिभर्सल पिस फेडेरेसन’ वा युपीएफ नामक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक शान्ति सम्मेलन । सम्मेलनको दौरान सत्तारुढ नेकपाको संशोधनवादी प्रभुपूजा छताछुल्ल भयो । सरकारप्रमुखदेखि स्थानीय तहका संशोधनवादीहरू पनि इसाई आशिर्वाद थाप्न गए । भ्रष्टाचार, १८७ जना सैनिकको कोर्ट मार्शल, निर्मला हत्याकाण्डको छानबिनजस्ता घटनामा नाङ्गिएका प्रम ओलीलाई सम्मेलनकी प्रमुख अतिथि इसाइ माताले ‘सुशासन’ को लागि पुरस्कार दिएर तौलिया लगाइदिइन् । केही मिडियाले यस कार्यक्रमलाई प्रम ओलीको पुरस्कार मोहको फल हो भनी हल्का टिप्पणी गरेपनि खास कुरा बिस्तारै खुल्दैछ । पुस १ को नेपाल साप्ताहिक सिनासका अनुसन्धानकर्ता पेशलकुमार निरौलाको भनाइ उद्धृत गर्दै लेख्छ, “सन् १९९० मा सोभियत सङ्घ विघटन गराउन युनिफिकेसन चर्चका संस्थापक मुन (आफूलाई जिससकी एकमात्र सच्चा छोरी बताउने दक्षिण कोरियाली धर्मगुरु हक जा मुन) को ठूलो भूमिका थियो । क्रिश्चियन मिसनरीको यो संस्था कम्युनिष्टहरूको घोर विरोधी हो ।” त्यसैले सो कार्यक्रमलाई साम्राज्यवादी चलखेलको हिस्साको रूपमा बुझ्न जरुरी छ ।
नेपालमा आजभोलि घरघर गएर क्रिश्चियन धर्ममा धर्मान्तरण गराउन विदेशी पैसा पचाएका व्यक्तिहरू सक्रिय छन् । यस्ता गतिविधिका नाइके हुन् हिजो दरबारमा पुरेत्याइँ गर्ने खलकका सन्तान र आज शासक दलका सुविधाभोगी नेताहरूलाई विदेशी पैसामा विदेश भ्रमण लैजान अगुवाइ गर्ने परिवार दलका एकनाथ ढकाल । यसका अर्का नाइके हुन् संशोधनवादी नेता माधवकुमार नेपाल । पार्टीको नेतृत्वमा आफ्नो भाग पाउने मनसायले आजभोलि उनी पार्टीलाई पुनः ‘क्रान्तिकारी’ बनाउने फलाको गरिरहेछन् । हालै उनले उत्तर कोरियाको नाम लिएर साम्राज्यवादीहरूको ज्याबल युपीएफलाई दूधले नुहाइदिने प्रयास गरे । उनले सबै धर्मका मानिसलाई एकै ठाउँ ल्याउने काममा आफूले पनि योगदान गरेको बताए । यसबाट उनको प्रभुपूजा जाहेर हुन्छ । उनले नेपाली राजनीतिका अन्य खेलाडीहरू पनि यसमा प्रत्यक्ष र परोक्ष सहयोगी भएको, विश्वका धेरै देशका ठूल्ठूला नेताहरू सम्मेलनमा आएको बताएर आफ्नो बचाउ गरे । जनताले बुझ्नुपर्छ ती ठूला नेतामध्ये कोही पनि कम्युनिष्ट होइनन् । सम्मेलनले ठप्प पारेको रत्नपार्कको पेटीमा उभिएका एक व्यक्ति सही भन्दै थिए, “विदेशीहरू आए भन्छन् । यिनीहरू पनि हाम्रा नेताजस्तै आआफ्ना देशका ठग त होलान्, हैन ?”
वर्तमान नेपाल सरकार एउटा संशोधनवादी सरकार हो । संशोधनवादीहरू जहिल्यै देशभित्र र बाहिरका शोसकहरूसँग घाँटी जोड्छन् । साथै आफू सत्तामा आउन साम्राज्यवादीहरूको पाउ मोल्नुपरे पनि पछि हट्दैनन् । यसर्थ हालै सम्पन्न कथित शान्ति सम्मेलनमा ओली सरकारको तामझाम वास्तवमा साम्राज्यवादको चाकरी हो । यस्तो गर्दा क्रिश्चियन मिसनरीहरूलाई सहयोग गर्न पुग्नु अर्को कुरा हो । केही कट्टर हिन्दू बुद्धिजीवीले यसलाई हिन्दू धर्मको विरोध भनी बुझ्नु आफैमा स्वार्थी सोच मात्र हो । जनताले बुझ्नुपर्छ साम्राज्यवादीहरूले अरू धर्मको झण्डा बोकेर आएको पनि संशोधनवादी शासकहरू तिनको चरणमा पर्ने नै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *