भर्खरै :

सेवा निवृत्त शिक्षक सम्मानित

भक्तपुर, २८ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ स्मारिका २०७५ अङ्क ४ एक समारोहबीच शुक्रबार विमोचन गर्नुभयो ।
कार्यक्रम उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर लान सके समाज अगाडि बढाउन सहयोग पुग्ने हुँदा ‘शैक्षिक अनुभव’ निरन्तर रूपमा प्रकाशन गर्नु आवश्यक छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘शिक्षा विकासको आधार भएको हुँदा भक्तपुर नगरपालिकाले शिक्षा विकासमा जोड दिइरहेको छ । देशका विभिन्न नगरपालिकाहरू शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा भनपाबाट सिक्न चाहन्छ ।’’
संविधान र कानुनले मावि तहसम्मको अधिकार स्थानीय तहलाई दिएकोमा महासङ्घलाई हतियार बनाई केन्द्रले फिर्ता लिने कोशिश गर्नु आपत्तिजनक कदम भएको उहाँले बताउनुभयो ।
अवकाश प्राप्त शिक्षकहरूले अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुहुँदै मेयर प्रजापतिले अवकाश प्राप्त शिक्षकहरूले आफूले हासिल गरेका ज्ञान तथा अनुभवहरूलाई पुस्तकको रूपमा प्रकाशित गर्नसके नयाँ पुस्ताले सिक्ने अवसर पाउने बताउनुभयो ।
उहाँले सुझाव दिनुभयो, ‘‘अवकासपछिको जीवन घरको बोझ भएर नभई सामाजिक अगुवाको रूपमा जिउन सके जीवनमा पश्चाताप हुनेछैन । सधैं सक्रिय हुने लक्ष्यसहित अध्ययनलाई निरन्तरता दिनु आवश्यक छ ।’’
‘‘विदेशीको सहयोगमा बाँच्ने गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको भरमा कार्यक्रमहरू गर्ने सोच समाजले राख्नुहुन्न’’, प्रमुख प्रजापतिले भन्नुभयो ।
आयोजक समाजका कोषाध्यक्ष विश्वराम कवांले समाजको लागि केही न केही काम गर्ने मानिसमात्रै सफल नागरिक बन्ने विचार राख्दै सेवा निवृत्त शिक्षक समाजको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो ।
एभरेष्ट माविका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले अवकाश प्राप्त शिक्षकहरूलाई नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुभयो ।
सेवा निवृत्त शिक्षक विजयलक्ष्मी प्रजापति थिकेले आफूहरूले पाएको शिक्षालाई समाजको लागि उपयोग गर्न तयार रहेको बताउनुभयो ।
आयोजक समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी नैनसिंह धामी, बासु माविका प्रअ अम्बिका न्याइच्याई र शिक्षक विश्वनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ज्ञानलाल भोमी, विजयाप्रसाद थिके, विष्णु सुवाल, देवेन्द्रबहादुर जोशी र समन्तराज शाक्यलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *