भर्खरै :

एक करोड २० लाखमा मन्दिर पुनःनिर्माण

दमौली, २९ मङ्सिर  ः लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ ।
इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले पुस मसान्तसम्म मन्दिरको पुनःनिर्माण सकिने जानकारी दिनुभयो । उहाँका अनुसार पुरातत्व विभागको रु एक करोड २० लाख ६८ हजारको लागतमा मन्दिरको पुनःनिर्माण शुरु गरिएको थियो ।
इशानेश्वर मन्दिरमा शिवरात्रीको दिन हजारौँ सङ्ख्यामा भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विभिन्न संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । हाल मन्दिरको नाममा मन्दिर आसपास १४ रोपनी जग्गा रहेको छ । सोही जग्गामा १०८ धारा निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।
मन्दिर वरपर घर निर्माणमा रोक 
मध्यनेपाल नगरपालिकाले मन्दिर वरपरको १०० मिटरभित्र घर निर्माणमा रोक लगाएको छ । नगरप्रमुख रमेशकुमार पाण्डेले मन्दिर वरपरको जग्गा मन्दिरको लागि आवश्यक पर्ने भएकाले हालका लागि घर निर्माणमा रोक लगाइएको बताउनुभयो ।
धार्मिक रूपले निकै महत्व बोकेको यस क्षेत्रलाई मुख्य हब बनाएर समग्र नगरपालिकाको धार्मिक पर्यटन विकाससँगै समृद्धिको आधार बनाउनको निमित्त नगरपालिकाले लागिपरेको पाण्डेले बताउनुभयो ।
विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यसबेलादेखि आजसम्म श्रद्धालु भक्तजनद्वारा पूजाअर्चना हुँदै आएको समितिका अध्यक्ष घिमिरे बताउनुहुन्छ ।
प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रीका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।
मन्दिरमा वैशाख, साउन र कात्तिक महीनामा टाढा–टाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना हुने गरेको छ ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *