भर्खरै :

हमासको ३१ औं स्थापना दिवस “संरा अमेरिकी योजना मान्दैनौं”

गाजापट्टी, १७ डिसेम्बर । “म यहाँ हमास आन्दोलनप्रति मेरो ऐक्यबद्धता व्यक्त गर्न जुलुसमा सहभागी भएकी हुँ । हमास र त्यसको सशस्त्र सङ्गठन अल–कस्साम ब्रिगेडको नेतृत्वमा कुनै दिन प्यालेस्टाइनले इजरायलमाथि विजय हासिल गर्नेमा म विश्वस्त छु ।” आइतबार प्यालेस्टाइनको पश्चिम गाजा क्षेत्रमा प्यालेस्टाइनी राजनीतिक दल हमासको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित विशाल जनप्रदर्शनमा सहभागी ४५ वर्षकी प्यालेस्टाइनी फाद्वा इब्राहिमले भनिन् । दसौं हजार प्यालेस्टाइनी जनतासँगै गृहिणी इब्राहिम पनि आफ्ना तीन केटाकेटीसहित सो जनप्रदर्शनमा सहभागी भएकी हुन् ।
सन् २००७ देखि प्यालेस्टाइनी भूभाग गाजापट्टीमा सरकार चलाउँदै आएको हमासको स्थापना दिवस मनाउन गाजापट्टीका सहर, गाउँ र शरणार्थी शिविरबाट आएका पुरुष, महिला र केटाकेटी पश्चिम गाजा सहरको अल–काटीबा चोकमा भेला भएका थिए ।
प्रदर्शनमा सहभागी हमासका नेताहरूले हरियो रङ्गका टोपी लगाएका थिए । हरियो रङ्गलाई हमासले आफ्नो औपचारिक रङ्ग मान्ने गरेको छ । प्रदर्शनमा प्यालेस्टाइनी प्रतिरोध आन्दोलनमा सक्रिय अन्य राजनीतिक समूहहरू इस्लामिक जेहाद, द पपुलर फ्रन्ट र द डेमोक्रेटिक फ्रान्सका नेताहरू पनि सहभागी थिए । प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बास सम्बद्ध फतह पार्टीका प्रतिनिधिले पनि सो कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रदर्शनमा हमासका पोलिटव्युरो नेता इस्माइल हानेहले इजरायल, संरा अमेरिका र ‘उनीहरूसँग सहकार्य गरिरहेका शक्ति’ को भत्र्सना गरेका थिए ।
उनले मध्यपूर्वको लागि संरा अमेरिकाद्वारा ल्याइने अपेक्षित शान्ति योजनाको विरोध गरे ।
“हामी यो योजना अस्वीकार गर्छौँ । हाम्रो टाउको गिंढे पनि हामी त्यो योजना सफल हुन दिनेछैनौँ ।” हानेहले भने ।
हमासको स्थापना सन् १९८७ को डिसेम्बर १४ मा भएको थियो । हमासका संस्थापक नेता शेख अहमेद यास्सिनलाई सन् २००४ मा इजरायलले हत्या गरेको थियो । हमास र त्यसका भातृसङ्गठनलाई अहिले पनि संरा अमेरिकाले आतड्ढवादी सङ्गठन मान्दै आएको छ ।
सन् २००६ देखि हमास प्यालेस्टाइनी संसदीय चुनावमा भाग लिंदै आएको छ । कूल १३७ स्थानको प्यालेस्टाइनी संसदको दुईतिहाइ स्थान हमासले जितेको छ । सन् २००७ मा बलपूर्वक हमासले गाजा क्षेत्र कब्जा गरेको थियो ।
“जब हमासले केही बोल्छ, विश्वास गर्नुहोस् । जब हमासले केही वाचा गर्छ, त्यो वचन उसले पूरा गर्नेछ ।” हनेहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *