भर्खरै :

“नाकाबन्दीले कोरियालाई अणुमुक्त बनाउनेछैन”

प्योङयाङ, १६ डिसेम्बर । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्ना अधिकारीहरूमाथि संरा अमेरिकाले थोपरेको नाकाबन्दीविरुद्ध प्रतिक्रिया जनाएको छ । वाशिङ्टनले गएको डिसेम्बर १० का दिन मानव अधिकार उल्लङ्घन र सेन्सरसीपको अभियोगमा तीन जना प्रजग कोरियाली अधिकारीहरूमाथि नाकाबन्दी थोपर्ने घोषणा गरेको थियो । सो कदमको प्रतिरोधमा प्रजग कोरियाली विदेश मन्त्रालय मातहतको अनुसन्धान संस्थाले गत आइतबार नाकाबन्दीको आलोचना गर्दै वक्तव्य जारी गरेको हो ।
यसअघि यसप्रकारका नाकाबन्दी घोषणा हुँदा सरकारी निकायबाटै कडा शब्दमा भत्र्सना वक्तव्य प्रकाशित हुनेगथ्र्यो । तर, आइतबारको वक्तव्य भने विदेश मन्त्रालय मातहतमा अमेरिका अध्ययन संस्थाका नीति अनुसन्धान निर्देशकको नाममा जारी गरेको छ । अध्ययन संस्था अर्धसरकारी निकाय हो ।
वक्तव्यमा जून महिनामा सिङ्गापुरमा प्रजग कोरियाका नेता किम जङ्ग उन र संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्ता र जारी संयुक्त वक्तव्यको भावनाविपरीत संरा अमेरिकी विदेश विभाग र अर्थ विभागले गएको ६ महिनामा आठ चरणका नाकाबन्दी थोपरेकोमा विरोध जनाएको छ । संरा अमेरिकाले प्रजग कोरियाली कम्पनी, व्यक्ति र माल ढुवानी गर्ने जहाजका साथै तेस्रो देशमाथि समेत नाकाबन्दी थोपरेको छ । त्यस्ता नाकाबन्दी झूटा आधार र कारण देखाएर थोपर्ने गरिएको वक्तव्यमा उल्लेख छ ।
“हालैका दिनमा हुँदै नभएको मानव अधिकार उल्लङ्घनको कारण उछालेर संरा अमेरिकाले प्रजग कोरियाका उच्चपदस्थ सरकारी अधिकारीहरूलाई एकपक्षीय रुपमा नाकाबन्दी थोपरेको छ ।” निर्देशकको वक्तव्यमा लेखिएको छ । प्रजग कोरियाको सरकारी समाचार स्रोत केसीएनएमार्फत सार्वजनिक वक्तव्यमा निर्देशकको नाम भने सार्वजनिक गरिएको छैन ।
वक्तव्यमा संरा अमेरिकी राष्ट्रपति र प्रजग कोरियाली नेताले संयुक्त रुपमा जारी गरेको वक्तव्यको भावनाविपरीत संरा अमेरिकी विदेश विभाग एक वर्षअघिकै परिस्थितिमा प्रजग कोरिया–संरा अमेरिका सम्बन्ध फर्काउन खोजिएको बताइएको छ । एक वर्ष अहिलेको समयमा दुई देशबीच तिक्ततापूर्ण अवस्था थियो ।
एकपछि अर्को नाकाबन्दी थोपरेर र दबाबमा राखेर प्रजग कोरियालाई आणविक कार्यक्रम ध्वस्त बनाउन लगाउने संरा अमेरिकी योजना हो भने त्यस्तो योजना कहिल्यै पूरा नहुने र त्यसले कोरियाली प्रायःद्विपलाई अणुमुक्त नबनाउने वक्तव्यमा प्रस्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *