भर्खरै :

शिक्षाः एक दृष्टि

नारायणमान बिजुक्छें (रोहित), अध्यक्ष नेमकिपा
देशको रक्षा र निर्माणको निम्ति स्वस्थ नागरिक आवश्यक छ । खेलकुद, गीत, सङ्गीत र नृत्यको प्रशिक्षणले विद्यार्थीहरूमा स्फूर्ति (स्मार्टनेस) प्रदान गर्छ । नृत्य स्वयं एक शारीरिक अभ्यास हो ।
मानसिकरुपले पनि स्वस्थ नयाँ पुस्ता आवश्यक छ । देश र जनताको सेवा गर्ने भावना भएका इमानदार युवा शक्तिले मनमा डर–त्रास र हीनताबोधको अनुभव गर्ने छैन । त्यसको निम्ति विद्यार्थीहरूलाई परीक्षामा नक्कल गर्ने परिस्थिति आउन दिनुहुन्न र फूर्तिसाथ सबै विषयमा प्रतिस्पर्धी हुन उत्साहित गर्न आवश्यक छ ।
खेलकुद होस् वा नाच–गान, अरुबाट सिक्नेबारे पछि पर्नुहुन्न र सिकिसकेपछि, त्यस विन्दुबाट अझ अगाडि बढ्ने भावना जगाउनु आवश्यक छ । यो कुरा ज्ञान, विज्ञान र प्रविधि हासिल गर्ने विषयमा पनि लागू हुन्छ ।
विद्यार्थीहरूको सांस्कृतिक स्तर वृद्धि हुनुको अर्थ शैक्षिक र प्राज्ञिक स्तरको विकासमात्र नभई बोलीचाली, व्यवहार र सदाचार पनि हो । आपसको अभिवादन, सुखद् अवसरको बधाई र शुभकामना प्रकट गर्नु तथा शोकमा समवेदना व्यक्त गर्नु आदि सबै सदाचारकै विषय हुन् । सदाचार सबैले घरबाटै सिक्ने अवसर नपाउने हुँदा विद्यालय र महाविद्यालयमै सिकाउनु आवश्यक सम्झने पक्ष पनि छन्, जसलाई नैतिक शिक्षा भन्ने गरिन्छ ।
आलोचनाले व्यक्तिलाई आत्मसमीक्षा गर्ने अवसर मिल्छ र आफ्ना कमीकमजोरीलाई थाहा पाउने र सुधार्ने कार्यमा सहयोग पु¥याउँछ ।
विद्यालयले युवाहरूलाई साक्षर र विषयवस्तुमा शिक्षितमात्रै बनाउँदैन । बरू पिछडिएको समाजको निम्ति विद्यालय क्रान्तिको बारुदखाना बन्छ । प्रतिक्रियावादीहरू विद्यालय, महाविद्यालय र विश्वविद्यालय स्थापनाका विरोधी हुन्छन् । यसकारण देशभक्त र परिवर्तनवादी शिक्षक र शिक्षिकाहरूसमेत क्रान्तिकारी तयार गर्ने पुनित कार्यमा लाग्छन् । मुक्ति र स्वतन्त्रताअघिका उपनिवेशहरू, समाजवादी देश र प्रजातन्त्र प्राप्त गरेका देश र समाजको सन्देश यही हो ।
शिक्षकहरूले पाठ्यपुस्तकमा भएका विषयवस्तुलाई जस्ताको तस्तैमात्र अध्यापन नगरी विषयको उत्पति, विकास र पतनका कारणहरूसमेत विभिन्न देश र समाजका उदाहरणबाट प्रस्ट पार्ने गर्छन् ।
भौतिक निर्माणमात्रै देश एवं समाज विकासको पूर्णता हुने गर्दैन । हाम्रा विद्यालय, महाविद्यालय र विश्वविद्यालयका शौचालयहरू सफा नहुनु भौतिक विकाससँगसँगै सांस्कृतिक विकासमा हाम्रो ध्यान नजान्नुलाई नै औँल्याउने गर्छन् । सार्वजनिक यातायातको साधनहरूलाई भाँचकुच गर्नु, सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पु¥याउनु, भ्रष्टाचार गर्नु आदि सांस्कृतिक स्तरको विकास नहुनु र प्रतिगामी अन्तरध्वंशको अवशेष मान्नेहरू पनि छन् ।
यसबारे हरेक शिक्षालयहरूले सानैदेखि नयाँ पुस्तालाई सचेत र शिक्षित गर्न सकेमा अभिभावकहरू र शिक्षकहरूले चिन्ता होइन, सन्तोष प्राप्त गर्ने अवसर पाएको अनुभव गर्नेछन् ।
(ख्वप उच्च मावि÷कलेज र शारदा क्याम्पसको वार्षिक दिवसको अवसरमा प्रकाशित बुलेटिनमा समावेश सन्देश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *