भर्खरै :

भीरमा खसिरहेको भविष्य

शुक्रबार साँझ दाङ तुल्सीपुरस्थित राम्रीमा गाडी खस्दा कम्तीमा २३ जना देशका कर्णाधारले ज्यान गुमाएका छन् । सल्यान छायाछेत्रमा वनस्पति विज्ञानको प्रयोगात्मक कक्षा सकेर आएका विद्यार्थी घोराहीमा रहेको आफ्नो विद्यालय पनि पुग्न पाएनन् । झण्डै सात सय मिटर भीरबाट तल खसेको गाडीसँगै त्यसमा सवार विद्यार्थीको जीवनमा अस्तव्यस्त बन्यो ।
झण्डै नियमित जस्तै यस्ता कहालीलाग्दा समाचार आइरहेका हुन्छन् । कहिले कर्णाली राजमार्ग, कहिले मुग्लिन–नारायणगढ खण्ड त कहिले सुदुरपश्चिमका सडकमा । राज्य यस्ता घटनालाई ‘भवितव्य’ को रङ्ग पोतिदिन्छ, सहानुभूतिका केही थोपा गोहीका आँसु चुहाउँछ र फेरि अर्को त्यस्तो समाचारको प्रतिक्षा गरेर बस्छ । तर यर्थाथमा ती ‘भवितव्य’ हुने गर्दैनन् । सडक निर्माणमा सरकार र ठेकेदार कम्पनीले गरेको गल्तीको दोष ‘भवितव्य’ माथि थोपर्न मिल्दैन ।
पहाडी बाटो निर्माणमा स्थानीय ठालू र शासक दलका नेताहरूका आग्रहले कतिपय अवस्थामा इन्जिनियरहरूले गरेका सर्भेसमेत विफल बनाउने गरेका उदाहरण धेरै छन् । बाटो आफ्नै आँगनबाट लानुपर्ने कतिपयको जिद्दीका कारण पहाडका बाटा धेरै कोणमा असुरक्षित छन् । कमिशनको भागबण्डा नमिल्दा निर्धारित समयमा सडक बन्ने गर्दैन । बनेका सडक कालोपत्रे हुने गर्दैन । सडक निर्माणका मापदण्ड पूरा भएको हुँदैन । साँघुरो र उबडखाबड भएका सडकका कारण समय समयमा यसप्रकारका दुर्घटनाका समाचार आउने गरेका छन् ।
केही किलोमिटर सडक कालोपत्रे वा चौडा गर्न पनि दसकौं लागेका उदाहरण मनग्य छन् । कमिशनखोरी र भ्रष्टाचार नै यसका मूल कारण हुन् । शासक दलको संरक्षण पाएका ठेकेदार यसमा संलग्न हुन्छन् । तर, आफूलाई निर्वाचनको समयमा तिनै ठेकेदार र कमिशनखोरको सहयोग आवश्यक पर्ने हुँदा सरकार तिनलाई कारबाही गर्न हिम्मत गर्दैन । अझ शासक दलका कतिपय राजनीतिक कार्यकर्ता नै ठेकेदार र कमिशनखोर बनेका हुन्छन् ।
पहाडी जिल्लामा दुर्घटना हुनुको अर्को कारण भनेको सवारी साधनको अवस्था हो । विशेषतः सहरी क्षेत्रमा काम नलाग्ने सवारी साधन नै केही मर्मतसम्भार र रङ्गरोगन गरी दुर्गम क्षेत्रमा चलाउने गरिन्छ । दुर्गमका बाटामा त्यस्ता बिग्रेका गाडी चलाउँदा दुर्घटनाका सम्भावना त्यसै पनि बढ्ने भयो । सवारी साधन चलाउने चालक र सहचालकमा कुनै पनि प्रकारको निगरानी हुने गर्दैन । जथाभावी तीब्र गतिमा गाडी चलाउँदा पनि धेरै दुर्घटना हुने गरेका छन् ।
नागरिकको जिउज्यानको सुरक्षाको जिम्मेवारी राज्यको हो । राज्यले आफूसँग भएका कानुन र कर्मचारीतन्त्रको प्रयोग गरी नागरिकको सुरक्षा गर्नुपर्दछ । तर राज्य नागरिकप्रति भन्दा नाफाखोर ठेकेदार र कमिशनखोरको संरक्षक बन्दा आज नागरिकको ज्यान दिनहुँ भीरबाट खसिरहेको छ । भविष्यका कर्णाधारहरूको भविष्य आज भीरमा दुर्घटनाग्रस्त बनेको छ ।
सडक सुरक्षा संसारको समस्या हो । तर राज्यले नागरिकप्रति जिम्मेवार भई केही कदम जिम्मेवारीका साथ चाल्ने हो भने दुर्घटनाका धेरै घटना कम पनि हुनेछ । राज्यले गर्न सक्ने र गर्न पर्ने कामबाट विमुख हुँदा हुने दुर्घटनाको लागि भने राज्य नै दोषी हुन्छ । त्यत्तिबेला राज्य आफैं नागरिकका हत्यारा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *