भर्खरै :

नारामात्र बाँड्ने हो कि काम पनि !

पार्टीको सिद्धान्त र विचारलाई बेवास्ता गर्दा या व्यवहारमा लागू गर्न नखोज्दा त्यस दलका नेताहरूको विरोध हुनु अन्यथा होइन । सिद्धान्त र विचारलाई लागू गर्नुको सट्टा उल्टो उल्लङ्घन भएपछि इमानदार नेता तथा कार्यकर्ताले विरोध नगरी सुखै छैन । हरेक राजनीतिक दलको धर्म सिद्धान्त र विचारलाई व्यवहारमा ल्याउनु हो, व्यवहारमा ल्याउन प्रचारप्रसार गर्नु हो । सत्तारुढ दल नेकपाले माक्र्सवाद र लेनिनवादलाई देखाउने दाँतमात्र बनाइरहेको छ । न नेकाले प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा ल्याएको छ न त सत्तारुढ नेकपाले समाजवादकउन्मुख क्रियाकलाप नै गरिरहेको छ । यी दुवै दलको सिद्धान्त हराइसकेको छ ।
सिद्धान्त र विचारको ख्याल नगरेपछि कुनै दल या सरकारले देशमा दिशाबोध गर्न सक्दैनन् । सत्तारुढ या अरु दलका नेता र मन्त्रीहरूले मनपरी (जे मन लाग्यो) बोल्नुको कारण पनि दलको सिद्धान्त र विचारबाट नभिजेकोले हो । सिद्धान्त र विचार भुलेकै कारण प्रधानमन्त्री ओली विदेशीहरूको धार्मिक सम्मेलनमा दिनरात फसे र आशीर्वादका साथै धनको उपहार पाए । सत्तारुढ नेता र मन्त्रीहरूले हाल देशमा समाजवादउन्मुख काम गरिरहेको ध्वाङ फुकिरहेका छन्, सरकारी नीति तथा कार्यक्रम र बजेट समाजवादउन्मुख भएको बताइरहेका छन् । तर, व्यवहारमा त्यो देखिएको छैन । सरकारको राजनीतिक दिशा त विकृत पुँजीवादी ढङ्गको छ । भ्रष्टाचार, अनियमितता, महँगी, बेपत्ता पार्ने, बलात्कार, बेचबिखन, मानव तस्कर, उच्छृङ्खल क्रियाकलाप आदि पुँजीवादकै विकृत रुप हुन् ।
सरकारले नयाँ युगको सुरुवात भयो भनेर फुक्ने हो कि तद्नुसार काम गरेर देखाउने हो । अब विकासको युद्ध सुरु भयो भनेर नारा बाँड्ने हो कि विकास भएको देखाएर आत्मसन्तुष्टि लिने हो ? हालसम्मकै शक्तिशाली कम्युनिष्ट पार्टीको सरकार भनेर धाक धक्कु लगाएर फूर्ति गर्ने हो कि कम्युनिष्टको सिद्धान्त र विचारको आधारमा काम गर्ने हो ? अपराधीहरूलाई कारबाही गरेर विधिको शासन लागू गर्ने हो कि उनीहरू वरिपरि घुमेर आपराधिक क्रियाकलापलाई बढावा दिने हो ? संविधानमा व्यवस्था भए देशमा दुई प्रधानमन्त्री बनाउने भनी स्वाद लिने हो कि एउटै पार्टीको एउटामात्र पार्टी अध्यक्ष बनाएर पार्टी सञ्चालन गर्ने हो ? पालैपालो शासन गर्ने भन्दै सहमति भएको कुरा नेपाली जनतामाझ बताउने हो कि विदेशी शासकहरूसामु पोखेर मन सन्तोष बनाउने हो ? आज सहर बजार तथा कुना कन्दरामा चर्चाको विषय बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *