भर्खरै :

संसारलाई बाटो देखाउनुहुने माओ

आज डिसेम्बर २६ । विश्व कम्युनिष्ट आन्दोलनका नेता तथा चिनियाँ क्रान्तिका नायक माओ त्सेतुङको १२५ औं जन्म दिवस । सन् १८४० मा बेलायतसँग भएको अफिम युद्धदेखि एक शताब्दीसम्म संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको सभ्यताको देश चीनले विदेशी उपनिवेशवादको कष्टप्रद दासता भोग्नुप¥यो । सन् १९११ को क्रान्तिले छिङ वंशको राजतन्त्र समाप्त ग¥यो । चीन नयाँ युगमा प्रवेश ग¥यो । तर त्यो नयाँ युगको दिशा कस्तो हुने भन्ने प्रश्नमा चिनियाँ जनता प्रस्ट थिएनन् । युरोपको भौतिक विकासबाट प्रभावित केही राजनीतिक चिन्तकहरू चीनले पनि पश्चिमा शैलीको प्रजातन्त्र अँगाल्नुपर्ने विचार राख्थे । तर सनयात सेनको प्रजातन्त्रवादी सरकारलाई युआन सिखाईको युद्धसरदारवादी सरकारले असफल बनायो । देश अन्ततः उपनिवेशवादको दलदलमा फस्यो । त्यही समयमा युरोपभन्दा भौगोलिक रुपमा नजिकको देश रुसमा पड्केको अक्टोबर क्रान्तिको तोपको आवाजले चिनियाँ जनताको निद्रा भङ्ग ग¥यो । युरोपेली प्रजातन्त्रमा भएका कमी–कमजोरीसमेतलाई समाधान गर्नसक्ने क्षमता भएको सोभियत समाजवादले रणभुल्लमा परेका चिनियाँ जनतालाई दिशानिर्देश ग¥यो । चीनमा सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भयो । कम्युनिष्ट पार्टीभित्रै पनि रुसी क्रान्तिको अन्धानुकरणको नीति हावी भयो । रुसको विशिष्ट परिस्थितिमा भएको क्रान्तिको मोडल चीनमा पनि जस्ताको तस्तै लागू गर्न खोज्दा चिनियाँ कम्युनिष्टहरूले धेरै क्षति भोग्नुप¥यो । माक्र्सवाद–लेनिनवादलाई सूत्रमा बुझ्ने गल्ती गर्दा हजारौं चिनियाँ क्रान्तिकारीले अनाहकमा ज्यान गुमाउनुप¥यो, चिनियाँ क्रान्ति पछाडि धकेलियो ।
माओ त्सेतुङ तिनै क्रान्तिकारी नेता हुनुहुन्थ्यो, जसले यसप्रकारका कमजोरी र गल्तीको गहिरो अध्ययन गरी चिनियाँ क्रान्तिलाई थप क्षति हुनबाट जोगाउनुभयो । चीनको विशिष्ट अवस्था र तत्कालीन परिस्थितिमा माक्र्सवाद–लेनिनवादको विज्ञानलाई प्रयोग गरी उहाँले चिनियाँ क्रान्ति अघि बढाउनुभयो । जापानी उपनिवेशवादविरुद्ध देशभक्त पुँजीपति वर्ग र प्रगतिशील बुद्धिजीवीको साथ लिई किसान र मजदुरको नेतृत्वमा चीनमा नयाँ प्रजातान्त्रिक क्रान्ति गर्नुभयो । शताब्दी लामो उपनिवेशवादी शासन, विसृङ्खलित युद्धसरदारवाद र दिशाहीन पुँजीवादी प्रजातन्त्रका कारण चीनको परिस्थिति संसारका अरु कुनै पनि देशसँग मेल खाँदैनथ्यो । रुसमा जस्तै मजदुर वर्गकै जनाधारमा चिनियाँ क्रान्ति सम्भव थिएन किनभने तत्कालीन चीनमा मजदुर वर्ग निकै कम प्रतिशतमात्र थियो । कृषिप्रधान देश हुनुको नाताले चीनमा क्रान्तिको आधार किसान हुने नै भए । उपनिवेशवाद र साम्राज्यवादविरोधी सङ्घर्षकै हिस्सा चिनियाँ क्रान्तिलाई सफलताको उचाइमा पु¥याउन माओले चिनियाँ देशभक्त पुँजीपति वर्ग र प्रगतिशील वर्गको साथ लिनुभयो ।
स्तालिनको निधनपश्चात् तत्कालीन सोभियत सङ्घमा टाउको उठाउँदै गरेको संशोधनवादसँग माओले सम्झौताहीन सङ्घर्ष गर्नुभयो । क्रान्तिपछिको चीनलाई विकासको सख्त आवश्यकता थियो । तर, माओ सोभियत सङ्घबाट भइरहेका सबै विकास परियोजना त्याग्न तयार हुनुभयो, सोभियत संशोधनवादसामु झुक्न तयार हुनुभएन । तत्कालीन परिस्थितिमा सोभियत संशोधनवादसामु आत्मसमर्पण गर्नुको अर्थ चीनले अर्को उपनिवेशवाद सहनु हुने थियो ।
चीनको परिस्थितिमा माओले गर्नुभएको क्रान्तिले संसारलाई रुसी अक्टोबर क्रान्तिभन्दा भिन्न ढाँचाको क्रान्तिको सम्भावना देखायो । माओको सिद्धान्तनिष्ठ नेतृत्व चीनमा नभएको भए सोभियत संशोधनवादविरुद्ध लड्न हिम्मत गर्ने माक्र्सवादी–लेनिनवादी संसारमा कमजोर हुन्थ्यो । संशोधनवादी लाइन नै सही भएको भ्रमले संसारको कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति हुने थियो । माओले माक्र्सवाद–लेनिनवादलाई कोरासिद्धान्तको रुपमा नलिई आफ्नो देशको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग गर्नुभयो र चिनियाँ जनतालाई युगौंदेखिको सामन्ती र उपनिवेशवादी दासताबाट मुक्त गर्नुभयो । उहाँले एसियाली देशहरू र संसारका कामदार जनतालाई मुक्तिको बाटो देखाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *