भर्खरै :

आमूल परिवर्तन कम्युनिष्टहरूको उद्देश्य

– गौरव प्रधान
आमूल परिवर्तन गर्नु नै कम्युुनिष्ट पार्टीहरूको उद्देश्य हो, हुनुपर्छ । आमूल परिवर्तनको निम्ति सबै कम्युनिष्ट पार्टीहरूले पूर्वाधार तयार गर्नुपर्छ । आमूल परिवर्तनविना बहुमत जनताको हित हुँदैन, शोषितपीडित जनताको सेवा गर्ने दलको सरकार बन्दैन । बहुमत जनताको हित खोज्ने सरकारले पुँजीपति वर्गको प्रतिनिधित्व गर्दैन, गर्नु हुँदैन । सच्चा कम्युनिष्टहरू सिद्धान्त र विचार एउटा र काम अर्को गर्दैनन् । उनीहरू सिद्धान्त र विचार बन्धक राखेर सरकारमा पुग्दैनन् या सरकारको प्रतिनिधित्व गर्दैनन् । कम्युनिष्ट पार्टी भनिएको वर्तमान ओली सरकारले कम्युनिष्टको सिद्धान्त, चरित्र र आचरणअनुुसार के काम गरिरहेको छ ? एमाले र माओवादी मिलेर बनेको नेकपाले न सरकारमा बस्दा व्यापक जनताको हितमा काम ग¥यो न त सरकार बाहिर हुँदा काम ग¥यो ।
शासक दलहरूको सिद्धान्त र विचारमात्रै राम्रो भएर हुँदैन । महत्वपूर्ण कुरा सिद्धान्त र विचारको कार्यान्वयन हो । नेकपाको केन्द्रीय समिति या स्थायी समितिको बैठकमा छलफल गर्नुपर्ने या उत्थान गर्नुपर्ने विषय सरकारमा गएर कम्युनिष्टको सिद्धान्त र विचारअनुसार काम भएको छ कि छैन भन्नेबारे विचारविमर्श गर्नुपर्ने हो । माक्र्सवाद र लेनिनवादलाई नेपालको परिस्थितिअनुसार लागू गर्न नेकपा लागिरहेको छैन भने नेपाली जनताले नेकपालाई कसरी कम्युनिष्ट पार्टी हो भनेर विश्वास गर्ने ? नेकपा र नेकाजस्ता ठूला दलमा पार्टीभित्रको मुख्य लडाइँ सिद्धान्त र विचारको होइन । उनीहरूको हरेक असन्तोष पद र पैसासँग हुन्छ । पद र पैसाको निम्ति पार्टीभित्र असन्तोष पोख्छन्, अन्तर्विरोध गर्छन् । पद पाएपछि उनीहरूको असन्तोष त्यतिकै सेलाउँछ । नेकाका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सापकोटा, नेकपाका वामदेव गौतम, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको कथा व्यथा पनि पद र पैसाको हो ।
मनपरी बोल्ने, मनपरी गर्ने, गुटगत स्वार्थको राजनीति गर्ने ठूला दलका शीर्ष नेताहरूकै दबाबमा अन्य नेता, मन्त्री तथा सांसदहरू बस्न बाध्य छन् । पार्टीभित्र रहेका सिद्धान्तनिष्ठ, इमानदार, योग्य देशभक्त तथा चरित्रवान नेताहरू मुखमा दही जमाएर बस्न बाध्य छन् । उनीहरू पद र पैसा रहुञ्जेल पार्टीभित्र सक्रिय या क्रियाशील हुन्छन्, नभएपछि असन्तोष पोख्दै हिंड्नु उनीहरूको बानी भइसकेको छ । उनीहरू कहिले पनि शोषणरहित समाज स्थापना गर्नेतर्फ पाइला चाल्दैनन् । मजदुर र किसानको मर्काबारे मतलब राख्दैनन् । कामदार वर्गको पक्षमा राजनीति नगर्ने, उनीहरूको पक्षमा सङ्घर्ष नगर्ने दल कसरी कम्युनिष्ट हुन्छन्, कसरी कम्युनिष्टहरूको प्रतिनिधित्व गर्छ ? कुनै दललाई चिन्ने आधार नाम होइन, काम या व्यवहार हो, सिद्धान्तलाई व्यवहारमा लागू गरेको छ कि छैन भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *