भर्खरै :

नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि मजदुर, डकर्मी र सिकर्मीहरूसँग राय–सुझाव सङ्कलन

नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि मजदुर, डकर्मी र सिकर्मीहरूसँग राय–सुझाव सङ्कलन

भक्तपुर, २६ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी र उत्पादनमुखी बनाउन भक्तपुर नगरपालिकाले नगरका मजदुर, डकर्मी तथा सिकर्मीहरूसँग मङ्गलबार राय–सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बजेट निर्माण प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता आवश्यक रहेको बताउँदै नगरवासीहरूको सुझावलाई आवश्यकताको आधारमा आगामी बजेट तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विकास निर्माणको काममा श्रमिकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै श्रमिक र मजदुरहरूको हित र अधिकार सुनिश्चित गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिहरूले कामदारवर्गको समस्या राख्ने अवसर प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै मजदुरहरूको स्वास्थ्य बीमाका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने, महेश्वरीघाटको पश्चिमपट्टिको घाट व्यवस्थित गर्नुपर्ने, नगरभित्र धारा जडान गर्दा लाग्ने शुल्क मितव्ययी तथा सर्वसुलभ बनाउनुपर्ने, झिङ्गटी छाउने दक्ष जनशक्तिको अभाव भएकोले नयाँ पुस्तालाई तालिम दिनुपर्ने, घर निर्माणको क्रममा नगरपालिकाले समयमै जाँचपास तथा अनुगमन गर्नुपर्ने, विकास निर्माणको कार्यमा स्थानीय सरकारबाट स्थानीय कालिगढ तथा श्रमिकलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । त्यस्तै नक्सा पाससम्बन्धी मापदण्ड र प्रक्रिया जनतालाई स्पष्ट रूपमा जानकारी गराउनुपर्ने, भनपा वडा नं. १० स्थित कमलपोखरीको पूर्व तथा उत्तरतर्फका बाटाहरू खुला गरी आवागमन सहज बनाउनुपर्ने, महिलाहरूलाई पनि डकर्मी (निर्माणसम्बन्धी) तालिम प्रदान गर्नुपर्ने, सिद्धि स्मृति खेलमैदानलाई स्तरोन्नति गरी राम्रो बनाउनुपर्ने, पेटी निर्माण भएका सडकहरूमा हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण गर्नुपर्ने आदि सुझाव दिइएको थियो ।
उहाँहरूले वर्षायाम सुरु हुनुअघि खोलानाला सफा गरी माटो हटाउनुपर्ने, ख्वप अस्पतालको सेवा विस्तारका लागि उपयुक्त स्थानमा थप जग्गा व्यवस्थापन गर्नुपर्ने, भूकम्पबाट क्षति भएका तथा भग्नावशेष अवस्थामा रहेका घरहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, ब्यासी–कमलविनायक सडकलाई फराकिलो बनाउनुपर्ने, भक्तपुर नगरपालिका–१० स्थित लान्चाफल्चा क्षेत्रमा सबै घरधुरीमा फोहोर सङ्कलनको व्यवस्था गर्नुपर्ने, लिबाली–थुसाचा करिडोर मार्ग खुलाउनुपर्ने र बाराहीस्थित ताहा फल्चाको पुनःनिर्माण तथा संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तर्जुमाको लागि विभिन्न पेसा–व्यवसाय र क्षेत्रसँग निरन्तर छलफल तथा राय सुझाव सङ्कलन गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *