भर्खरै :

प्रदेशसभा दोस्रो अधिवेशन सम्पन्न

हेटौंडा, १२ पुस । अनिर्णय र अनिश्चयबीच प्रदेश नं. ३ को प्रदेशसभाको बजेट अधिवेशन बिहीबार सम्पन्न भयो ।
प्रदेशसभाको एकवर्षे अवधिभित्र प्रदेश राजधानी र नाम तय गर्न नसक्दा कतै आक्रोश त कतै आशङ्का देखियो । शासक दलभित्रको बेमेल, झगडाकै कारण निर्णयमा पुग्न नसकिएको स्वयम् सत्तापक्षीय सांसदहरू स्वीकार्दछन् ।
प्रदेशसभाका एक सांसदले भने, ‘‘हिउँदे अधिवेशन सुरू भइसक्नुपर्ने बेलामा वर्षे अधिवेशन समाप्त हुँदैछ । शासक दलको उदासिनता, ढिलासुस्ती र गृहकलहकै कारण यस्तो बेथिति देखिएको हो । शासक दलको अकर्मण्यताको कारण प्रदेशसभा अनिर्णयको बन्दी बन्दैछ ।
प्रदेशसभाका अर्का एक सदस्यले भने, ‘‘सत्तापक्षका सांसदको ध्यान संसदीय कारबाहीमा भन्दा पदको भागवण्डा, सुविधाको उपभोग र सहुलियत प्राप्तिमा बढ्ता छ । प्रदेशसभाको गतिहीनता, प्रभावहीनताको प्रमुख कारण यही नै हो । साथै शासक दल सङ्घीयता कार्यान्वयनप्रति संवेदनशील नै छैन ।’’
प्रमुख प्रतिपक्ष स्वयम् पनि सहुलियत र सुविधाको भागवण्डामा अल्झेको र स–साना स्वार्थमा फसेको हुनाले आवश्यक मात्रामा क्रियाशीलता देखाउन नसकेको प्रदेशसभा परिसरमा चर्चा चल्दैछ । साथै नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्षको प्रभावकारी उपस्थिति नै देखिएन ।
प्रदेशसभा परिसर हेटौंडामा भेटिएका अधिकांश सांसदहरूले प्रदेश राजधानी तय नगरी अधिवेशन अन्त्य गरिनाले अस्थिरता लम्बिने धारणा व्यक्त गरे र आफूहरू अस्थिर मानसिकता बोकेर घर फर्कन बाध्य भएको बताए ।
पुस १२ गते बसेको ६१ औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा वाचन भएसँगै बजेट अधिवेशन औपचारिकरूपमा समाप्त भएको हो । दोस्रो अधिवेशन गत जेठ १ गतेबाट सुरु भएको थियो ।
यसैबीच गएको मंसिर १० गतेपछि बस्न नसकेको प्रदेश नं. ३ को प्रदेशसभा बैठक एक महिनापछि बुधबार बस्यो । बैठक चार मिनेट चल्यो । चार वटा विधेयक पेश गरिएपश्चात् बैठक स्थगित भयो ।
प्रदेशसभाको साठीऔँ बैठक पुस १२ गते अपराह्न ४ बजे प्रारम्भ भयो । बैठकमा सहकारी विधेयक, वन विधेयक, उद्योगसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भयो ।
सहकारी विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सहकारीलाई निर्धनहरूको सहारा, पछाडि परेको समुदायको भरोसा, जीवन र समाजसँग जोडिएको सामुदायिक संस्थाको रूपमा विकास गरिनुपर्ने बताउनुहुँदै सहकारीको नाउँमा ठगीधन्दा गरिरहेका ठग र तिनका संस्थामाथि कडाभन्दा कडा सजायको माग गर्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, ‘‘सहकारी सामाजिक तथा सांस्कृतिक परिवर्तनको निम्ति अभियन्ता, उत्प्रेरक र उत्तोलक बनाइनुपर्दछ । आर्थिक विकासका साथै सुसंस्कृत समाज निर्माणको लामो यात्रामा सहकारीलाई भरपर्दो सहयात्री बनाउनु बुद्धिमानी हुनेछ । तर सहकारी भनेकै समाजवाद हो भन्ने भ्रम हटाउन पनि त्यतिकै आवश्यक छ ।’’
त्यस्तै प्रदेश वनसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभासद् गोसाईले सामाजिक विभेद तथा आर्थिक समानताको लागि मात्र होइन पर्यावरणीय विनाशको निम्ति पुँजीवाद दोषी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘समाजवादले वातावरणमैत्री मानव बस्ती तथा सहर निर्माण, प्राकृतिक स्रोत तथा सम्पदाको संरक्षण र त्यसलाई मानव हितको लागि सदुपयोगमा विशेष जोड दिन्छ ।’’
सांसद गोसाईले समाजवादी देश चीन र क्युवाले वातावरण संरक्षणमा दिएको उच्च प्राथमिकता दृष्टान्तको रूपमा राख्दै सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा र मानवीय स्रोतमा सम्पन्न प्रदेश नं. ३ लाई पनि दूरदर्शी भावनासहितको इमानदार तथा कुशल नेतृत्व भएको खण्डमा नमुना बनाउने सम्भावना प्रशस्त रहेको विचार व्यक्त गर्नुभयो ।
औद्योगिक व्यवसायसम्बन्धी विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले परनिर्भरता तोड्नु आजको प्रमुख चुनौती रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिलाई आधार बनाई उद्योगको विकास गर्न आवश्यक छ । रेमिटेन्सले होइन आफ्नै उत्पादनले देशको अर्थतन्त्र उकास्न सकेमात्र देश र जनताको हित हुनेछ ।’’
उहाँले दोहोरो अङ्कको आर्थिक विकास दोहोरो इन्धन खर्च र घर भाडा लिनुझैँ सहज नहुने बताउनुहुँदै समृद्धि नारा नभई व्यवहार र लक्ष्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा भाग लिने सांसदहरूले सरकारको तीव्र आलोचना व्यक्त गरे र जनताको भावना कुण्ठित गर्न खोजिएकोमा आक्रोश व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *