भर्खरै :

मोहन मैनालीसँग पुस्तक संवाद

भक्तपुर, १४ पुस । युवा साहित्य गोष्ठीको आयोजनामा शनिबार लेखक मोहन मैनालीसँग पुस्तक संवाद कार्यक्रम सम्पन्न भयो ।
जेन्युइन माविमा भएको कार्यक्रममा लेखक मैनाली र युवा साहित्य गोष्ठीका सदस्य नीरज लवजूबीच मैनालीकृत पुस्तक ‘देखेको देश’, पुस्तक र पठन संस्कृति, लेखनशैलीलगायतका विषयमा संवाद भएको थियो । सो क्रममा मैनालीले मानिस नै आफ्नो लेखनको प्रमुख विषय भएको बताउनुभयो ।
पेशाले पत्रकार मैनालीले कुनै पनि विषयको अनुसन्धानको लागि सम्बन्धित स्थानमा जानुअघि त्यस विषयका उपलब्ध स्रोत सामग्री अध्ययन गर्ने बानीले अध्ययनमा पूर्णता ल्याउन आफूलाई सहज भएको बताउनुभयो ।
उहाँले आफ्ना अघिका दुई कृति ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ निश्चित विषयमा आधारित रहेको तर ‘देखेको देश’ विभिन्न विषयका लेखहरूको सङ्ग्रह भएको बताउनुभयो ।
मैनालीले रेडियो कार्यक्रमको लागि तयार गरिएका स्थलगत रिपोर्ट हावामा प्रसारण भई हावामै बिलाउने गरेकाले आफू आफ्ना भोगाईलाई अक्षरमा सङ्ग्रह गर्ने मनसायले पुस्तक लेखनतिर लागेको बताउनुभयो ।
उहाँले पत्रकार र लेखकले शक्तिहीन र आवाजविहीनको पक्षमा लेख्नुपर्ने भएकोले आफूले त्यस्तै मानिस र विषयमा केन्द्रीत भएर लेख्ने गरेको धारणा राख्नुभयो । लेखकसँग आफूले लेख्न लागेको विषयमा अध्ययन हुनपर्ने र विषयवस्तुको जानकारी नहुँदा विषय र वस्तुको महत्वबोध नहुने उहाँले बताउनुभयो ।
“लेखकले लेखेको विषयले तत्कालै प्रभाव नपारे पनि धेरै समय पछि पनि प्रभाव पार्न सक्छ । तर समाजमा परिवर्तन एकबाजी सम्भव छैन ।”, मैनालीले भन्नुभयो ।
कार्यक्रममा जेन्युइन माविका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेंले पठन संस्कृतिको विकासले नयाँ पुस्ताको सोच अझ व्यापक बनाउन सकिने धारणा राख्नुभयो ।
संवाद कार्यक्रममा सहभागी पाठकहरूले लेखकसँग विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *