भर्खरै :

ठेलामा बदाम बेच्ने युवा भन्छन्, “सम्मेलन त हुनुपर्ने रहेछ नि”

–हरिसुन्दर छुकां
भक्तपुर, १४ पुस । तत्कालीन नेपालको राष्ट्रिय गानका रचनाकार, चक्रपाणि चालिसेको नामबाट नामकरण गरिएको चोक, चक्रपाणि चोक । त्यही चोकमा उनको सालिक । सालिकसहितको चोकमा शनिबार बिहानदेखिको माहौल शुक्रबारभन्दा भिन्न थियो ।
चोकमा कम्युनिष्टको ‘लोगो ः हँसिया हठौडा’ अङ्कित झण्डा अनि नेपालको नक्सा अंिकत झण्डा प्रिन्ट गरिएका आयताकार रातो कागतलाई ‘झल्लर’ बनाएर टाँगिएको थियो । चक्रपाणि चालिसेको सालिकलाई दायाँ बनाएर माथि अग्लो भागमा मञ्च बनाइएको थियो । मञ्चको मध्य भागमा ब्यानर राखिएको थियो । ब्यानरले बोलिरहेको थियो, नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्लाको ११ औँ सम्मेलन ।
त्यो सम्मेलनमा भाग लिन आउनेहरूका कारण चोक राताम्य बनेको थियो । चोकको दक्षिण दिशाको सडकमा गाडामा फिँजाइएको छ, बदामका कोसाहरू । कोसाहरूको डाँडो बनेको थुम्कोमा राखिएको हाँडीबाट फुस्फुसाउँदै मधुरो धुँवा आइरहेको थियो । गाडाको एक कुनामा रु. दसदेखि रु. ५० सम्मको बदाम बेच्नका लागि मानो राखिएका छन् । मानाको माथिसम्म पनि बदामका कोसाहरू छन् ।
त्यही सम्मेलनको उद्घाटन स्थलमा दिनभर बदाम बेचे, दोलखा भुसाल फेदा ८ का २९ वर्षे युवा गोविन्द श्रेष्ठले । उनले बदाम मात्र बेचेनन्, सम्मेलनलाई पनि नजिकबाट हेरे, वक्ताका भाषण पनि सुने ।
कार्यक्रम सकिएपछि उनले मुस्कुराउँदै प्रतिक्रिया दिए, ‘आज त राम्रो भयो, मलाई पनि फाइदै भयो, व्यापार पनि राम्रो भयो, कुरा पनि राम्रै भयो । कार्यक्रममा बोल्नेहरूले जस्तै भए त देश राम्रो हुन बेर लाग्दैन ।’
त्यो क्रममा उनले कार्यक्रम सञ्चालक हरिसुन्दर सुवाल, कार्यक्रममा सभापति मीन बाटा, नेपाल क्रान्तिकारी मजदुर संघका उपेन्द्र सुवाल, नेपाल मजदुर किसान पार्टीका श्याम बिसुङ्खे, महेन्द्र बखुन्छेंको मात्र नभएर प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाइँ, नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष अनुराधा थापामगर, सांसद प्रेम सुवाल अनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंसम्मको ‘भाषण’ सुने । सँगै कार्यक्रममा सञ्चारकर्मी एवम् गायक विनोद विकले गाएको गीत पनि सुने ।
उनले ‘भाषण’ सुने, गीत सुने, तर त्यहाँ भाषण गर्नेहरू कसैलाई पनि राम्ररी चिनेका छैनन्, गीत गाउने गायकलाई पनि चिनेका छैनन् । तर, उनलाई कार्यक्रम मन पर्यो । ‘यो कार्यक्रम मलाई मन पर्यो, यहाँ त हामी कामदार जनताकै कुरा भयो, मेरो आफ्नै कुरा पनि गरे ।’
मानामा बदामका कोसा भर्दै, भाषण सुन्दै, मानाको कोसा प्लाष्टिकमा भर्दै, ग्राहकले दिएको नोट बगलीमा कोच्दै गरेका उनी भाषणको बीचबीचमा टाउको हल्लाउँछन् । कार्यक्रममा बोल्ने वक्ताहरूको नाम उनलाई थाहा नभए पनि उनले आफूले भने अहिलेका प्रधानमन्त्री ओली र मोओवादीका प्रचण्डलाई चिनेको, उनीहरूको भाषण सुनेको बताए । उनले ती नेताहरूको भाषण र कार्यक्रममा बोल्ने नेताका बीचमा तुलना गरे, ‘आफूलाई प्रचण्ड र ओलीका भाषणभन्दा यहाँ गरेका भाषण नै मीठा, उनीहरू खाली आश्वासनका कुरा गर्छन्, यहाँ त जनताले पाएको दुःखको कुरा पनि भाषणका विषय बने ।’
वि.सं. २०४५ सालमा जन्मेका गोविन्द (नागरिकतामा भने मेरो नाम मानबहादुर हो) ले जम्मा ७ कक्षासम्म पढेका छन् । गाउँमा हुर्केका कारण स्कूल थिएन, नपढे पनि उनी रोजगारीका लागि विदेश गए, दुई वर्ष साउदी बसे । ‘भूकम्प आएको बेला घर फर्केको २ महिना भएको थियो, काम गर्न भनी साउदी पनि गएँ तर कमाउन सकिँन, अनि फर्किएँ, त्यो बेलादेखि म यहीँ सल्लाघारी, दुवाकोट मोडमा डेरामा बस्दै आएको छु, कहिले बदाम बेच्छु, कहिले तरकारी ।’ आफ्नो दिनचर्या बताइरहँदा वक्ताहरूले वैदेशिक रोजगारको कहालिलाग्दो तथ्य सुनाएपछि एकछिन उनी घोरिए, बदाम कति हो ? भनेर सोध्न आएकालाई पनि जवाफ दिन उनी अल्मलिए । उनले विदेशमा पाएको दुःख सम्झे ।
‘हो त, विदेशमा युवाहरूले कति दुःख पाएका छन्, त्यो कुरा त मलाई पनि थाहा छ, त्यस्तो हुँदाहुँदै पनि सरकारले त्यही पठाउँछ ।’ उनले दुखेसो पोख्दै भने, “यतै काम दिए, विदेश जान पर्दैन, परिवार छोडेर कसलाई विदेश जान मन लाग्छ र ? विदेशमा हुँदा त उतै मर्ने पो हो कि भन्ने बढी चिन्ता हुन्छ ।”
यो विषयमात्र कहाँ हो र ? वक्ताहरूले निः शुल्क शिक्षाको पनि कुरा गरे । त्यो हुँदा उनले आफूले पैसा नहुँदा पढ्न नपाएको नरमाइलो बाल्यकाल सम्झे, अनि अहिले जेनतेन दुई छोरी र १ छोरालाई सरकारी स्कुलमा पढाइरहेको कुरा सम्झे । “उहाँहरूले भन्नुभएजस्तै पढ्न पैसा नपरे त म पनि यो धूलो मैलोमा, दिनभर उभिएर कहाँ काम गरिरहेको हुन्थेँ र ? म पनि त….।” रु. ५० को मानामा बदामका कोसा भर्दै उनले भने ।
कार्यक्रमका कारण उनी डब्बल खुसी भएको उनी बताउँछन् । “आज हिजोभन्दा धेरै व्यापार पनि भयो, धेरै कुरा पनि थाहा पाइयो ।” अघिपछि दिनभरमा एकहजार पाँच सय रुपियाँको व्यापार गर्ने उनले शनिबार भने तीन बजिसक्दा नै तीनहजारको व्यापार गरिसकेका थिए । त्यो कारणले मात्र नभएर कार्यक्रममा बोल्नेहरूले आफूले नचिने पनि आफूजस्तै काम गरी खानेहरूका लागि सरकारले गर्नुपर्ने कामको बारेमा बोल्दा ज्यादै खुसी लागेको बताए । “पहिला पहिला त भाषण के सुन्नुजस्तो लाग्थ्यो, आज चाहिँ सुनुँ सुनुँ लाग्यो, जनताकै बारेमा बोले ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *